सन् २०१५ मा निर्देशक प्रदीप शाही गोर्खा आर्मीको कथामा आधारित फिल्मको स्क्रिप्ट तयार पार्दै थिए। उक्त स्क्रिप्टमा मिलेर काम गर्न उनले सामाजिक सञ्जालमार्फत चिनेका अभिनेता समिर गुरुङलाई सम्पर्क गरे।
सानैदेखि समिरले गोर्खा आर्मीमा रहेका हजुरबुवा अनि बुवाको द्वन्द्वात्मक संघर्षका कथा सुन्दै आएका थिए। त्यही भएर यो स्क्रिप्टमा काम गर्नु उनलाई ठूलो अवसर लाग्यो। एक वर्ष प्रदीपसँग मिलेर उनले स्क्रिप्टको ड्राफ्ट तयार पारे।
स्क्रिप्ट तयार पार्दै गर्दा उनीहरूलाई दिमागमा आएको थियो, 'गोर्खाका कथाहरू यति धेरै छन्, किन फिक्सनमा जानु? हाम्रो आफ्नै कथाको फिल्म बनाउन पाए गजब हुन्थ्यो।'
उनीहरूले सत्य घटनामा आधारित कथामा स्क्रिप्ट तयार पार्ने सोचे। प्रदीपले घटनाको अनुसन्धान गर्न थाले। गोर्खाका धेरै घटनामध्ये उनीहरूलाई नयाँ अनि फरक खाले कथा चाहिएको थियो। त्यसले सकारात्मक छाप छोडोस् भन्ने उनीहरूको उद्देश्य थियो।
केही समयको अनुसन्धानपछि उनीहरूले गोर्खा सेनाका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको जीवनीमा आधारित फिल्म 'गोर्खाः बिनिथ द ब्रेभरी' बनाउने निर्णय गरे।
सन् १९१५, सेप्टेम्बर २५ मा ब्रिटिस सेनाहरूले फ्रान्समा आक्रमण गरेका थिए। उक्त युद्धमा २६ वर्षीय राइफलम्यान कुलवीर गम्भीर घाइते भए। घाइते भएको भोलिपल्टै उनी पीडितको उद्धारमा खटिए। उनले पछि आफ्नो काम र बहादुरीबापत पहिलोपटक गोर्खालीका रूपमा भिक्टोरिया क्रस प्राप्त गरे।
त्यो स्क्रिप्टमा काम गर्नु नै समिरका लागि ठूलो कुरा थियो। एकदिन प्रदीपले उनलाई फिल्मको मुख्य पात्र बन्न भने। त्यसपछि उनी झनै खुसी भए। तर फिल्मको छायांकन मितिमै उनले खुट्टाको शल्यक्रिया गर्नुपर्ने भयो।
'नृत्य गर्ने क्रममा लडेर खुट्टामा चोट लागेको थियो,' उनले भने, 'तीन महिनाजति आराम गर्न भनिएको थियो। तर एक महिनापछि नै फिल्मको छायांकन अगाडि बढ्यो।'
सन् २०१९ मा फिल्मको छायांकन सुरू भयो। एउटा खुट्टा घाइते, चिसो मौसम, पहिलो फिल्ममा जसरी पनि राम्रो अभिनय गर्नुपर्ने मनको छटपटी। त्यसमाथि दिनहुँ परेको पानीले उनको खुट्टालाई झनै सताउँथ्यो।
फिल्मका लागि उनले ७६ किलो शरीरको तौल बढाएर ८६ किलो बनाएका थिए। फिल्ममा लगानी कम भएकाले छायांकनभर उनले एउटा मात्र लुगा लगाउनुपर्यो। एक महिनासम्म छायांकन भएको ठाउँमा रातदिन नभनेर उनले त्यही लुगामा काम गरे।
हङकङमा जन्मिएका समिरको बाल्यकाल पुर्ख्यौली घर पोखरामा बित्यो। उनका बुवा पनि ब्रिटिस आर्मी हुन्। बुवाको क्याम्प हङकङमा भएकाले उनी तीन वर्ष उतै बसे। पछि एसएलसीसम्मको अध्ययन पोखरामा गरे।
सानै उमेरदेखि देउसी–भैलोमा नाच्ने समिरलाई कविता लेख्न मन लाग्थ्यो। साथीको समूह बनाएर नाच्ने उनले फिल्मको हिरो बन्ने सपना पनि सँगालेका थिए।
चार कक्षा पढेर छाडेका बुवाआमाले छोराले धेरै पढिदिओस् भन्ने सपना साँचेका थिए। समिरले एसएलसीपछि धुलिखेलको काठमाडौं विश्वविद्यालयमा दुई वर्ष आइएससी पढे।
'मलाई एमबिबिएस वा इञ्जिनियरिङ पढ्ने मन थियो। तर बेलायत जानुपर्ने भएकाले बीचमै पढाइ छाडेर उता जानुपर्यो,' उनले भने।
बेलायतमा उनले सोचेजस्तो भएन। छ महिना ब्रिटिस आर्मीको कलेजमा पढे। उनलाई त्यहाँको पढाइ चित्त बुझिरहेको थिएन।
त्यति बेलै बुवाले अवकाश पाए। पेन्सनले परिवारको खर्च धान्न सकिने अवस्था थिएन। त्यसैले समिरले काम गर्ने सोच बनाए।
'मलाई दिदी, ममी अनि बाबालाई बेलायतमा सँगै राख्नु थियो। त्यसैले मैले होटलको भान्सामा काम गरेँ। दिनमा १५ घन्टा काम गर्थे,' उनले भने।
काम गरेर पारिवारिक खर्चको भार कम गरे पनि समिरलाई पढ्न मन थियो। १८ वर्षे उनले त्यसका लागि थप चार वर्ष काम गर्नुपर्यो। आफूसरहका साथीहरूले स्नातक पढिरहेको सुन्दा उनको मन भारी हुन्थ्यो।
काममा समय दिनपरे पनि समिरले आफ्नो पढ्ने हुटहुटी मर्न दिएनन्। तीन वर्षे कोर्स 'एकाउन्ट इन फाइनान्स' विषयमा स्नातक गरे। स्नातक पढ्दा पनि उनले रातमा १२ घन्टा बैंकमा सुरक्षा गार्ड भएर काम गरे।
'रातभरि नसुतेकाले एकदम गाह्रो हुन्थ्यो। कति पटक त कक्षा गइनँ। साथीहरूको नोट लिएर पढेँ,' उनले भने।
आफ्नो सपना पूरा गर्न थुप्रै अनिँदा रात काटेको सम्झिँदा समिर खासै दुःख मान्दैनन्।
भन्छन्, 'मलाई ठूलो सपना पूरा गर्नु थियो। त्यही भएकाले साना घटनाहरूले खासै छोएन।'
समिरले 'इन्टरनेसनल रिलेसन' मा स्नातकोत्तर सकाए। युरोपेलीहरूको नीतिनियम बुझ्न मन लागेर बेल्जियममा पढाइ गरे। पढाइपछि उनले बेलायतमा बसेका युरोपेलीहरूको नीति अनुसन्धानसम्बन्धी काम गर्ने मौका पाए। यसबीच उनले बालबालिकाको मनोविज्ञानबारे अनुसन्धान गरे। साथै बेलायतको जनगणनामा त्यहाँ बस्ने नेपालीहरूको संख्या समेट्नुपर्छ भनेर सामाजिक सल्लाहकारका रूपमा तथ्यांक विभागमा काम गरेका छन्।
छ महिना यसरी अध्ययन र अनुसन्धानको काम गरेपछि पूरै समय कलाकार बन्ने सपनालाई पछ्याउन थाले। परिवारलाई आफूसँगै राख्ने सपना पनि पूरा गरेका छन्।
पढाइ अनि कामबाट बचेको समय समिर नृत्यलाई दिन्थे। हिपहप र झ्याउरे नृत्य गर्न आउँछ उनलाई। सानैदेखि सडक नाटकमा भाग लिने उनी बेलायतका नाटकघरमा जान्थे। कम्पनीहरूको विज्ञापनमा अभिनय गरेका छन्। सन् २००९ देखि छोटा फिल्ममा अभिनय गरेका थिए। नेपाली र अंग्रेजी दुवै भाषामा अभिनय गरेका छन्।
प्रायः हाँस्य कलाकारका रूपमा अभिनय गरेका उनले भने, 'मलाई कथा राम्रो भए जुन पात्र पनि बन्न मन लाग्छ।'
फिल्म, नाटक अनि विज्ञापनमा काम गर्नुभन्दा समिरलाई बढी चासो नृत्यमा थियो। नृत्य क्रममै उनलाई दाहिने खुट्टामा चोट लागेको थियो।
चोटका बाबजुद प्रदीपले फिल्म 'गोर्खाः बिनिथ द ब्रेभरी' मा अभिनय गर्न दिएकाले आफूमा ऊर्जा थपिएको समिर बताउँछन्।
'फिल्म चले पनि, नचले पनि कुलवीर थापाको परिवार खुसी भएको देख्दा र अभिनयमार्फत उनको वीरता देखाउन पाउँदा गर्व लागेको छ,' उनले भने।
समिरले अंग्रेजी भाषामा बनेको इटालियन फिल्म 'टाइगर नेस्ट' मा अभिनय गरिसकेका छन्। नेपाली फिल्म 'चुकुल' मा पनि अभिनय गरेका छन्। दुवै फिल्म प्रदर्शनको पर्खाइमा छन्।
'गोर्खाः बिनिथ द ब्रेभरी' मार्फत् फिल्म क्षेत्रमा डेब्यु गरेका उनी भन्छन्, 'धेरै सिक्नु र मेहनत गर्नु छ। आफूले गरेको साना–ठूला सबै काममा सय प्रतिशत दिए उचाइमा जरूर पुगिन्छ भन्ने विश्वास छ।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी