सिसाको डब्बाभित्र कैद छ छिरबिरे पुतली। भाइले त्यसलाई थुनेर हेर्दै बसेको देखेर उनकी दिदीलाई उकुसमुकुस हुन्छ। उनी घरनजिकैको डाँडा पुगेर पुतली उड्न दिन्छिन्।
पारिलो घामसँगै खुला आकाशमा पुतली फुरफुर उड्दा किशोरी विद्याको अनुहारमा आनन्दको मुस्कान छाउँछ।
फिल्म 'ऐना झ्यालको पुतली' मा विद्याले पुतलीलाई पखेटा फिँजाएर उड्न दिएझैं, यो फिल्मले कञ्चन चिमरियाको जीवनमा पखेटा हालिदिएको छ। उनलाई सपनाको आकाशमा उडान भर्न छाडिदिएको छ।
कञ्चन उनै हुन् जसले 'ऐना झ्यालको पुतली' मा विद्याको भूमिका निर्वाह गरेकी छन्। फिल्मले अहिले प्रशंसा पाइराख्दा कञ्चनको पनि तारिफ कम छैन।
'फिल्म आएपछि खुसी लागेको छ। मैले पनि यति राम्रो अभिनय गरेकी रहेछु भन्ने भयो,' कञ्चनले सेतोपाटीसँग भनिन्।
'ऐना झ्यालको पुतली' अहिले सिनेमा हलमा चलिरहेको छ। यो फिल्म बुसान फिल्म फेस्टिभलको 'न्यू करेन्ट सेक्सन' प्रतिस्पर्धाको अन्तिम दसमा परेको थियो। ३० हजार अमेरिकी डलरको यो पुरस्कारको दौडमा प्रतिस्पर्धा गर्ने 'ऐना झ्यालको पुतली' पहिलो नेपाली फिल्म हो। त्यस्तै २० औं ढाका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एसियन सिनेमा विधातर्फ यही फिल्मका निर्देशक सुजित विडारीले अवार्ड जितेका थिए।
इतिहास रच्न सफल फिल्ममा प्रमुख भूमिका निर्वाह गर्न पाउनुलाई कञ्चनले ठूलो उपलब्धि मानेकी छन्।
पहिलो फिल्मबाटै प्रशंसा बटुलेकी उनले यसअघि अभिनयमा आउँला भन्ने कहिल्यै सोचेकै थिइनन्। अभिनय गरे पनि यो फिल्म प्रदर्शन होला भन्नेमा शंका थियो उनलाई। आफ्नो अभिनय हेर्ने उनको उत्सुकताले कुनो खोजिसकेको थियो।
यो फिल्म पाँच वर्षअघि सुटिङ भएको हो। त्यो बेला १५ वर्षे कञ्चन ९ कक्षा पढ्थिन्।
'फिल्म प्रदर्शन हुँदैन होला भन्ने लाग्न थालिसकेको थियो,' अहिले १२ कक्षा उत्तीर्ण कञ्चनले भनिन्, 'ढिलै पनि राम्रो प्रतिक्रियासहित आएको छ।'
झापामा जन्मेकी कञ्चन संखुवासभामा हुर्केकी हुन्। बा वैदेशिक रोजगारमा थिए। आमा शिक्षक। एक भाइसँगै कञ्चन खाँदबारीको सूर्य सेकेन्डरी बोर्डिङमा पढ्थिन्। स्कुलमा अतिरिक्त क्रियाकलापमा सक्रिय थिइन्। वक्तृत्वकला, गायन जस्ता कार्यक्रममा सहभागी हुन्थिन्।
नौ कक्षामा पढ्दाको कुरा हो। एकदिन उनले सुनिन्- खाँदबारी बजारमा फिल्म खेलाउने मान्छेहरू आएका छन्!
उनलाई चासो लागिहाल्यो। घरमा कुरा गरेर अडिसन दिन गइन्। पुग्दा अडिसन सकिइसकेको थियो। सामान मिलाउँदै गरेका व्यक्तिहरूलाई सोधिन्। अडिसन दिन पाइन्।
'त्यति बेला मलाई कविता लेख्न लगाइयो। अलिअलि नाटक गर्न पनि लगाइयो,' कञ्चनले भनिन्।
लगत्तै केही दिनपछि उनी स्कुलबाट फर्किँदा घरभरि मान्छे देखिन्। को होलान् भनेर सोच्दै थिइन्, उनीहरूले कञ्चन अडिसनबाट छानिएको जानकारी दिए। कञ्चन दंग परिन्।
फिल्मका प्रायः कलाकार कहिल्यै अभिनय नगरेकाहरू थिए। त्यसैले निर्माण टिमले सुटिङअघि कार्यशाला चलाउने भयो। संखुवासभामै भए पनि कार्यशाला र सुटिङका लागि उनी खाँदबारी बाहिर जानुपर्थ्यो। त्यसैले उनको पढाइ छुट्ने भन्दै आमा सिताले असहमति जनाइन्।
कञ्चनलाई फिल्म खेल्न पाउँदिनँ कि भन्ने लागेको थियो। तर फिल्मका कास्टिङ निर्देशक प्रेम अधिकारीले कार्यशालामै पढ्ने वातावरण मिलाइदिने भन्दै आश्वासन दिए। आमा मानिन्।
किशोरवयकी कञ्चन भने त्यही बेलादेखि अर्कै संसारमा पुगिन्। दिमागभरि विभिन्न फिल्मका दृश्य चलमलाउन थाले।
'मैले हेरेका फिल्मका हिरोइन सम्झिँदै आफूलाई तिनै पात्र बनाउने सपना देख्न थालेँ,' उनले भनिन्।
यही सपना बोकेर उनी कार्यशाला हुने चैनपुर नगरपालिका पुगिन्। नयाँ ठाउँ, नयाँ मान्छे। सुरूमा घुलमिल हुन कठिन भए पनि आफ्नै उमेरका साथीहरू भएकाले बिस्तारै बानी परिन्।
त्यहीँ पुगेपछि उनले फिल्मको कथाबारे जानकारी पाइन्। मुख्य भूमिका खेल्ने भनेपछि अलिकति खुसी, अलिकति डर, अलिकति उत्साहले घेर्यो उनलाई।
'फिल्मको मुख्य पात्र म आफैं भएको थाहा पाउँदा धेरै नै खुसी भएँ,' कञ्चनले भनिन्, 'तर अभिनय भनेको टेलिभिजनमा हेरेजस्तो सजिलो हुने रहेनछ नि!'
मुख्य पात्र भएकाले उनको धेरै भूमिका थियो। कञ्चन घरकी जेठी छोरी र एक भाइकी दिदी, पात्र विद्याको पृष्ठभूमि पनि उस्तै हो। तर कञ्चनको जीवनभन्दा विद्याको जीवन कष्टकर थियो। परिस्थिति, सपना र संघर्षबीच हुर्किने विद्याको भूमिकाले उनलाई आफ्नो जीवन धेरै सरल भएको बोध गरायो। जीवनमा कहिल्यै अनुभव नगरेका कुरा उनले अभिनयमा महसुस गर्न पाइन्।
उनले घरमा त पढ्ने-लेख्नेबाहेक केही काम गर्नुपरेन। फिल्ममा रूख चढ्ने, घाँस काट्ने, घाँस/पानी/भारी बोक्ने, खेतबारीको र गाउँले जीवनका दैनिक गुजाराका काम गर्नुपर्यो। सुरूमा गाह्रै भयो, पछि सिक्दै गइन्।
'मैले त हिरोइन भएपछि रित्ता भाँडा बोक्दा हुन्छ होला भन्ने सोचेकी थिएँ। अभिनय त हो भन्नेजस्तो लागेको थियो,' त्यसअघि कहिल्यै अभिनय नगरेकी कञ्चनले भनिन्, 'फिल्ममा रोनाधोना भए पनि यसरी दुःखै गर्नुपर्छ भन्ने सोचेकै थिइनँ। तर राम्रो कलाकार बन्न यो कुरा अति आवश्यक हुने रहेछ।'
चार महिनासम्म कार्यशाला चल्यो। सकिएलगत्तै फिल्म सुटिङ सुरू भयो। अभिनयमा उनले अझै धेरै मेहनत गर्नुपर्ने भयो। दृश्य र पात्रअनुसार भावना देखाउन कञ्चनलाई मुश्किल परिरहेको थियो।
उनले एउटा घटना सुनाइन्।
रूनुपर्ने दृश्य थियो, कञ्चनले तरिका मिलाउनै सकिनन्। साह्रै भएपछि निर्देशक सुजित विडारीले जुक्ति लाए।
'उहाँले मलाई एक्कासि ठूलो स्वरमा गाली गर्नुभयो। म हाँसेकै थिइनँ, किन हाँसेकी कराएपछि मलाई धेरै नराम्रो लाग्यो। म रोइदिएँ,' कञ्चनले सुनाइन्, 'पछि मात्र थाहा भयो, मलाई फिल्मको दृश्यमा रूवाउनकै लागि उहाँले त्यसो भन्नुभएको रहेछ।'
यसरी बुझ्दै, सिक्दै कञ्चनले आफ्नो पात्र निर्वाह गर्दै गरिन्।
सुरूमा हिचकिचाए पनि बिस्तारै उनी सहज हुँदै गएको निर्देशक विडारी बताउँछन्।
'कञ्चन अरूभन्दा ठूली भएकाले काम गर्न सजिलो भयो। सुरूमा क्यामरासँग डराउँथिन्, लजाउँथिन्। पछि सहज भइन्,' विडारीले कञ्चनबारे भने, 'फिल्ममा उनले जीवन्त अभिनय गरेकी छन्।'
निर्माण टिमले महिला कलाकारको सहयोगका लागि महिला कर्मचारी नै राखिदिएका थिए। टिमका प्रविन स्याङ्ग्योका अनुसार सेटमा वयस्कहरूले कुराकानी गर्दा पनि बालबालिकालाई असर नपर्ने गरी सोचेर मात्र गर्थे।
यो टिमले कञ्चनकी आमालाई भनेअनुसार उनको पढाइमा पनि ध्यान दिनुपर्ने थियो। छायांकनकै कारण कञ्चन दसैं-तिहारपछि स्कुल जान पाइनन्। कास्टिङ निर्देशक प्रेमले पढाइ बिग्रिन नदिने भनेका थिए। त्यसैले बचेको समयमा कञ्चनलाई गणित सिकाउँथे। अरू विषय उनी आफैं पढ्थिन्।
'सधैं कक्षामा टप हुने भएकाले पास त हुन्छु भन्ने थियो। तर शिक्षकले पढाइ बिगारेर फिल्म खेल्न गएको भन्दै गाली गर्दा चिन्ता पर्थ्यो। आफू शिक्षककी छोरी भएकाले पनि पढाइमा राम्रो गर्नुपर्ने दबाब महसुस हुन्थ्यो,' उनले भनिन्।
फिल्म सुटिङ क्रममा उनकी आमा सिता पनि आएकी थिइन्। पहिलो पटक आफ्नो अभिनय देख्दा आमा अचम्मित भएको कञ्चन बताउँछिन्।
'आमा आउँदा अन्तिम सुटिङ चलिरहेको थियो। उहाँ मलाई लिन आउनुभएको थियो। सानै उमेरकी छोरी दुलही भएको देख्दा उहाँका आँखा रसाएका थिए,' उनले भनिन्।
दुई महिनाको सुटिङ सकेर कञ्चन घर फर्किन्। आइपुग्दा स्कुलको अन्तिम परीक्षा सुरू भइसकेको थियो। उनको पढाइ धेरै छुटेको थियो। रातभरि नसुती पढिन्। आँखा सुन्निएर पोल्थ्यो। पछि नतिजा राम्रै आउँदा बल्ल उनी र परिवारलाई ढुक्क भयो।
यसपछिको समय उनले पढाइमै केन्द्रित गरिन्। फिल्म सुटिङ गरेको निकै समय बित्यो। कहिले आउने टुंगो थिएन।
कञ्चनका छिमेकी र चिनजानकाहरू उनी र उनकी आमालाई 'फिल्म कहिले आउँछ' भन्दै सोधिरहन्थे। कञ्चनलाई पनि आफ्नो अभिनय हेर्ने रहर र उत्सुकता थियो। तर तीन वर्ष बितिसकेकाले 'फिल्म प्रदर्शन हुँदैन कि के हो' भन्ने शंका हुन थाल्यो।
यसैबीच उनले एसइई सकेर ११ कक्षा पढ्न थालिन्। कोरोना महामारीले गाँजेको बेला थियो। २०७७ साल कात्तिकमा उनले खबर पाइन्- ऐना झ्यालको पुतली बुसान फिल्म फेस्टिभलमा प्रदर्शन हुँदैछ।
त्यो बेला कञ्चनको मनमा मरिसकेको आश जाग्यो- अब फिल्म छिट्टै प्रदर्शन हुन्छ होला!
'बुसानमा फिल्म पुगेको खबरले चाहिँ फिल्म राम्रो भएको भन्ने महसुस भयो,' उनले भनिन्।
तर यसपछि पनि फिल्म हलमा लागेन। उनले १२ कक्षा सकिन्। फिल्मको टुंगो नहुँदा अलिअलि जागेको आशा फेरि ओइलाउन थाल्यो। त्यसैले उनी आफू कलाकार हुँ भन्ने भाव नराखी अगाडि बढिन्। आफ्नो सपना पूरा गर्नेतिर लागिन्।
कञ्चनको सानैदेखिको सपना थियो नर्सिङ पढ्ने। परीक्षा दिइन्, नाम निस्केन।
यसपछि उनी बाबुको सपना पूरा गर्नतिर लागिन्। उनका बाबुलाई छोरी सेना वा प्रहरी बनेको हेर्ने मन थियो। सेनाका लागि आवेदन दिइन्, पहिलो चरणमा नाम निस्कियो। पछि सफल भइनन्।
उनी निराश भइन्। अनि भने उनले आमाको सपनाअनुसार फार्मेसी विषय पढ्ने सोचिन्।
त्यही बेला उनले खबर पाइन्- २० औं ढाका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एसियन सिनेमा विधातर्फ उत्कृष्ट निर्देशकको अर्वाड ऐना झ्यालको पुतलीका निर्देशकले जिते।
यो खबरले कञ्चनलाई अझै उत्साही बनायो। लगत्तै उनी फार्मेसीको परीक्षा दिएर मामाघर झापामा बिदा मनाउन गइन्। बिर्तामोडको एक स्कुलले सामाजिक र स्वास्थ्य विषय पढाउने शिक्षक खोजिरहेको थियो। उनी त्यहीँ पढाउन थालिन्। फार्मेसीमा नाम पनि निस्कियो।
पढाउन थालेको दुई महिना भएको थियो, यता काठमाडौंमा ऐना झ्यालको पुतलीको प्रदर्शन मिति तोकियो।।
कञ्चनको जीवनमा खुसीका छाल एकैपटक आए। फिल्म हलमा लाग्ने भएपछि उनी पनि पढाउन छाडेर काठमाडौं आइन्।
'कलाकार बनेर काठमाडौं प्रवेश गर्दा छुट्टै अनुभव भयो,' उनले भनिन्।
यो क्षणको पर्खाइमा उनले पाँच वर्ष बिताएकी थिइन्। पहिलोपटक सार्वजनिक रूपमा कलाकार भएर उभिँदा उनलाई त्यस्तै महसुस भयो, जस्तो फिल्ममा खेल्ने निधो हुँदा भएको थियो- अलिकति खुसी, अलिकति डर, अलिकति उत्साह।
काठमाडौं आएपछि सुटिङमा पहिले भेटेका मान्छेसँग कुरा गर्दा उनलाई रमाइलो भयो। नयाँ व्यक्तिहरूसँग कुराकानी गर्दा भने अनौठो लाग्यो।
'सँगै अभिनय गरेका साथीलाई वर्षौंपछि भेट्दा सबैलाई अलग देखेँ,' २० वर्षीया कञ्चनले हाँस्दै भनिन्, 'नयाँ मान्छेहरूसँग भेट हुँदा भने गाह्रो भयो। अप्ठ्यारो लाग्ने रहेछ। जानेको कुरा पनि कति बोल्ने कति नबोल्ने भनेर दोधारमा भएँ। अहिले बिस्तारै बानी पर्दैछ।'
उनी यहाँ आएको केही हप्तापछि फिल्म प्रदर्शन भयो। फिल्मले सकारात्मक प्रतिक्रिया पाएसँगै ऊर्जा बढेको छ। सामाजिक कथामा आधारित फिल्मको अवसर पाए काम गर्ने सोच बनाएकी छन्।
भन्छिन्, 'फिल्म प्रदर्शन भएपछि अब अझै अभिनय गर्न मन लागेको छ।'
उता फार्मेसी विषयको भने भर्ना अवधि छुटिसक्यो। केही गरी मिल्यो भने पढ्ने सोच छ।
आफ्नो भविष्यको बाटो जता मोडिए पनि आफूलाई बाँधेर भने नबस्ने उनी बताउँछिन्। 'ऐना झ्यालको पुतली' मा उनले जसरी कैद पुतलीलाई खुला छाडिदिएकी थिइन्, आफ्ना सपनालाई पनि बन्धक नबनाई उड्न दिने चाहना छ उनको।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी