छिरबिर बत्तीको उज्यालोमा सेता भोटोहरू उज्याला भएका थिए। भोटोको छायामा भित्तातिर टाँसिएका फ्रेमका चित्रहरूले पनि कोठातिर ध्यान तानिरहेको थियो। त्यससँगै कतै कलमले मसिना काम गरेका 'पेन एन्ड इंक' चित्र थिए। कतै 'कन्सेप्चुअल' कला त कतै 'एब्स्ट्रयाक्ट'।
काठमाडौं गेस्ट हाउसस्थित मोना म्युजियममा सुशीला सिंहको कला प्रदर्शनी चलेको थियो। सुशीला दुई सन्तानकी आमा हुन्। आमा भएर धेरै कुरा सामना गरी चित्र बनाउनुपर्छ भन्ने बुझाउन चित्रसँगै बच्चाको भोटो झुन्ड्याएको उनी बताउँछिन्।
त्यहाँ चित्र मात्र नभएर चित्रकारको जीवन पनि प्रदर्शन गरिएको थियो। प्रदर्शनीमा जाँदा प्रायः सबैले चित्रलाई मात्रै अवलोकन गरेका हुन्छन्। तर यहाँका संग्रहालय निर्देशक राजन शाक्यले चित्रकारको जीवन पनि कलामार्फत बुझाउन खोजेका छन्।
प्रदर्शनी तयारी हुँदै गर्दा एकदिन राजनले सुशीलालाई सोधे, 'तपाईंसँग आफ्ना बच्चाहरूको भोटो छ?'
अचानक भोटोको कुरा आउँदा सुशीलालाई अचम्म लाग्यो। उनले अनकनाउँदै छ भनिन्।
उत्तर आउनेबित्तिकै राजनले भने, 'ल! ती सबै भोटो अनि आफू दुलही बन्दाको रातो सारी लिएर आउनू। बच्चाहरूको खेलौना पनि लिएर आउनू।'
राजनले त्यसरी भोटो, सारी र खेलौना ल्याउनुको कारण बताएपछि सुशीलालाई रमाइलो लाग्यो। सारीबाट राजनले उनको विवाहित जीवन दर्शाउन खोजेका थिए। यता भोटो र खेलौनामार्फत उनी आमा भएको।
'जहिले पनि प्रदर्शनीमा कलालाई मात्र प्राथमिकता दिइएको हुन्छ। त्यसलाई कता राख्ने, कसरी क्युरेट गर्ने भन्ने कुरामा खासै चाँसो दिँदैनौं,' राजनले भने, 'एक विवाहित महिला अनि आमा भएको कुरा देखाउन मैले क्युरेसनका लागि सारी, भोटो र खेलौना मागेको थिएँ।'
सुशीलाले चित्रकलामा आफ्नो भविष्य कोर्न थालेको करिब पन्ध्र वर्ष भइसक्यो। ललितपुर, पाटनमा परिवारकी कान्छी छोरीका रूपमा जन्मिएकी हुन् उनी। सानैदेखी चुलबुले र हक्की स्वभावकी थिइन्। त्यही भएर उनलाई आफ्ना अरू दिदिबहिनीलाई भन्दा धेरै स्वतन्त्रता थियो।
उनले २०५४ सालमा एसएलसी दिएकी उनले बिबिएस पढिसकेपछि नयाँ अनुभव गर्ने सोचिन्। त्यति बेला उनका साथीहरू पढाइअनुसार जागिर गर्न थालिसकेका थिए। उननी भने घरमा दाइलाई मात्र थाहा दिएर ललितकला क्याम्पस भर्ना भइन्।
'ललितकलामा म फेरि कक्षा ११ मा भर्ना भएँ। दाइले नै मेरो सम्पूर्ण पढाइ खर्च बेहोर्नु हुन्थ्यो,' उनले भनिन्।
कक्षामा अन्तिम सिटमा बस्ने सुशीला क्याम्पसको हरेक क्रियाकलापमा प्रथम हुन्थिन्। अरू साथी क्यान्टिनमा बसेर गितार बजाउँदै रमाइलो गर्थे। उनको ध्यान भने कक्षाको क्रियाकलापमै हुन्थ्यो। त्यसैले उनी काठमाडौंको असनमा मुहार-चित्र बनाउने अभ्यासमा जान थालिन्। असन जान थालेपछि बिस्तारै उनका चित्र निखारिँदै गए।
'यो बेला मैले समय सदुपयोग गर्न सिकेँ। साथीभाईलाई दिने समय चित्र बनाउनमा लगाएँ,' उनले भनिन्।
धेरै कलाकारहरू जस्तै उनले पनि सानै उमेरमा चित्र बनाउन थालेकी थिइन्। स्कुल पढ्दा पहाड र हिमाल बनाउँदै र रङ भर्दै राम्रा चित्र बनाउँथिन्।
'मलाई याद छ, गुरु पूर्णिमा र अन्य चाडपर्वमा म आफैं पोस्टकार्डहरू बनाउँथे र शिक्षक र साथीहरूलाई उपहार दिन्थेँ। तर जीवनमा पछि चित्रकार बन्छु भन्ने मलाई थिएन,' उनले भनिन्।
क्याम्पस पढ्दा समेत उनलाई भविष्यमा चित्रकार नै बन्छु भन्ने पक्का थिएन। त्यति बेला के गर्ने भनेर आकार उनको दिमागले ठम्याउन सकिसकेको थिएन।
'तर मैले आर्ट स्कुलमा धेरै रमाइलो गरेँ। अन्जानमै म एक कलाकार बनेँ,' उनले भनिन्।
ललितकलामा कक्षा १२ को सकिएसँगै उनले सेतो पानामा कालो कलमले रेखा तान्न सुरू गरिन्। उनको विवाहको रेखा पनि त्यतिखेरै सुरू भयो। बिहेपछि श्रीमानको साथ मिलेको र चित्रकारिता मजबुत बनाउन सहयोग भएको उनी बताउँछिन्।
सुशीलाका श्रीमानको भक्तपुरमा इँटाभट्टा थियो। त्यहाँ जाँदा उनी जीवन र इँटामा समानता देख्थिन्। जतिजति इँटाबारे सोच्थिन्, उनको दिमागमा आउँथ्यो– एउटा घर हुन महिलाको ठूलो भूमिका हुन्छ। त्यसरी नै घर बन्न इँटाको पनि।
यही सोच राखेर उनले सामान्यभन्दा ठूला आकारका इँटा बनाएर तिनमा कला भरिन्। उक्त कलाले राष्ट्रिय पुरस्कार पायो। यी इँटा मोनाको प्रदर्शनीमा पनि थिए। यसको मूल्य पचास लाख रूपैयाँ तोकिएको छ।
यति धेरै मूल्य राख्नुको कारण बताउँदै उनले भनिन्, 'एउटा घर बनाउन कति धेरै मूल्य अनि मेहनत लाग्छ। त्यसैले यसको मूल्य यति राखिएको हो। यति धेरै मूल्य तिरेर किन्दैनन् भन्ने थाहा छ र बेच्न पनि राखेको होइन। यो कलामा कला मात्र नभएर भावुकता पनि मिसिएकाले यो महँगो हो।'
विवाहपछि दुई सन्तान जन्मिएकाले उनीहरूको हेरचाह जिम्मेवारी उनलाई थपियो। चित्र बनाउन मन लाग्दालाग्दै जिम्मेवारीका कारण काममा ढिलासुस्ती हुन थाल्यो। तर उनले कला छाडिनन्। निरन्तरता दिइरहिन्।
गत लकडाउनमा छोराछोरीको समय सदुपयोग गर्न उनले घरमै माटोबाट भाँडा बनाउने मेसिन ल्याइदिइन्। उनले घरअगाडिको बगैंचामा रहेको स्टुडियोमा बच्चाहरूलाई भाँडा बनाउन सिकाइन्। अहिले उनका साना छोराछोरी स्कुल जान थालिसकेका छन्।
यसपालि रातो मच्छिन्द्रनाथ रथ बन्दाको दृश्य सुशीलालाई चित्रमा कैद गर्न मन लागेको थियो। अरू बेला भए त्यसमा समय दिन नभ्याउन सक्थिन्। त्यस बेला भर्खरै भर्नाको समय भएकाले छोराछोरीको स्कुल बिदा थियो।
उनी बिहानै उठेर पुल्चोक ओहोरदोहोर गर्न थालिन्। बिहानको घाम न्यानो नहुँदै बच्चालाई खाजा खुवाउने बेला घर फर्किन्थिन्। कहिले बेलुका पनि पुल्चोक पुग्थिन्।
'बच्चाहरूको स्कुल नभएकाले सजिलो भयो। उनीहरू उठ्ने बेलासम्म म घर फर्किसकेको हुन्थेँ,' उनले भनिन्।
मच्छिन्द्रनाथ बनाउन थाल्दादेखि तला थप्दै गरेको र बनिसक्दाको दृश्यलाई उनले १९ दिन लगाएर १९ चित्रमा समेटेकी छन्। तीमध्ये १६ वटा चित्र प्रदर्शनीमा थिए। उनले रातो मच्छिन्द्रनाथलाई कालो रङले रेखाचित्रमा संकलन गरेकी छन्।
सुशीलाले लगभग दुई दशकदेखि 'पेन एन्ड इंक' मा रेखा कलाकृति सिर्जना गरिरहेकी छन्। उनले कोरेका प्यागोडा आकारका मन्दिर, जीवनशैलीका चित्र हाम्रै कला संस्कृति र समाजसँग निकट छन्। स्कुले समयदेखि बसेको रेखा चित्रप्रतिको उनको लगाव घटेको छैन।
पछिल्लो समय उनलाई सेरामिक अर्थात् माटाका कलातिर पनि चासो बढेको छ। प्रदर्शनीमै उनले बनाएका माटाका खुत्रुकेहरू थिए जुन सेरामिकसँगै कन्सेप्चुअल कला पनि हो। उनले गरेको पछिल्ला काममा एब्स्ट्रयाक्ट शैली पनि देखिन्छ।
सन् २०११ मा नेपाल कला परिषदमा सुशीलाले पहिलोपटक चित्र प्रदर्शन गरेकी थिइन्। त्यसपछि सन् २०१९ मा 'उडान' नामक एकल चित्र प्रदर्शनी गरिन्। त्यसपछि २०२१ मा ग्यालरी एमक्युबमा इँटाको काम गरिन्।
सुशीलाले बनाएका सबै चित्रमा कालो रङ मात्र देखिन्छ। अरू रङ प्रयोग नगर्ने उनी कालोमै सबै रङ भेट्ने बताउँछिन्।
'म कालो रङमै इन्द्रेणी रङ भेट्टाउँछु,' उनले भनिन्, 'तर पछिल्लो समय प्राकृतिक रङहरू खोजेर चित्रमा प्रयोग गर्न मन लागेको छ।'
अन्य क्षेत्रमा जस्तै सुशीलालाई ललितकला क्षेत्रमा महिलाको क्षमताको मूल्यांकन कम गरेजस्तो लाग्छ।
भन्छिन्, 'हामी महिलासँग एकै समयमा धेरै अवतार व्यवस्थापन गर्ने दैवी शक्ति नै हुन्छ। विवाहपछि महिलाले आफ्नो सपना पूरा गर्न सक्दैनन् भन्ने सोच्नेका लागि मेरो कामले उदाहरण दिन्छ।'
तस्बिरहरू- नवीनबाबु गुरुङ/सेतोपाटी