एक व्यक्तिले एकसाथ कतिवटा मादल बजाउन सक्छ? एक, दुई...पाँच?
योभन्दा धेरै मुश्किल होला नि? पक्कै।
यो कठिनाइलाई जित्ने वाद्यवादक हुन् शारदा डंगोल। उनी एकैपटक एक दर्जन मादल बजाउन सक्छिन्। १२ वटा विभिन्न आकार-प्रकारका मादललाई धुनमा उतार्नु उनको खुबी हो।
दुई दशकदेखि मादल बजाइरहेकी शारदालाई वाद्यवादकका रूपमा पहिचान बनाउन सजिलो थिएन। रहर र खुबी भए पनि समाजका छेकबारले बाटोमा कहिलेकाहीँ ठेस लाग्थ्यो। अझै पनि अड्चन छँदै छन्।
'मलाई चराझैं उड्न मन लाग्छ। आफूले देखेका सपनाको मात्र भर लाग्छ। तर महिलाले आफ्नो जिन्दगीको निर्णय गर्नु भनेको यो समाजमा ठूलो पहाड चढ्नु हो,' ३६ वर्षीया शारदाले भनिन्।
पहाड देखेर थचक्क बस्नेमध्ये उनी पर्दिनन्। रोकावट आइरह्यो, उनी पन्छाउँदै अगाडि बढिरहिन्।
काठमाडौंको न्युरोडमा जन्मेकी शारदाको मादलसँग साइनो स्कुले जीवनमै गाँसिएको थियो। आठ कक्षा पढ्थिन् उनी। स्कुलको एउटा कोठामा मादल बजेको आवाज उनको कानमा ठोक्किन्थ्यो। एक दिन हेर्न गइन्। त्यहाँ एक प्रशिक्षक र केही विद्यार्थी मादल बजाउँदै थिए, सबै केटा।
शारदाको बाल मस्तिष्कमा मादलको धुन गाढा बन्यो। चुलबुले मन मादलमा बस्यो। भविष्यको सपना मादलको तालमै गएर ठोक्कियो।
'मलाई पनि मादल बजाउन मन लाग्यो। भोलिपल्टै कक्षामा गएँ, शिक्षकले अनुमति दिनुभयो,' शारदाले सुनाइन्।
उनको स्कुलले मादलसहित विभिन्न बाजा बजाउन सिकाउँथ्यो। प्रशिक्षक थिए सानुराजा महर्जन।
स्कुले जीवन सकिएपछि उनले चर्चित वाद्यवादक न्हुच्छेबहादुर डंगोलसँग प्रशिक्षण लिइन्, जो ३२ वटा मादल एकसाथ बजाउँछन्। देश-विदेशका विभिन्न ठाउँमा उनले मादल बजाएर ख्याती कमाइसकेका छन्।
दुई दशकअघि न्हुच्छेबहादुरसँग मादल बजाउन थालेपछि शारदाको मन त्यसमै बस्यो।
'हामी बसेको समाजमा छोरीले मादल बजाउने अनुमति पाउनु सजिलो थिएन। तर स्कुलले नै सिकाउने भएपछि आमाबुबाको साथ पाएँ,' उनले भनिन्।
उनको जीवनकै पहिलो मादल मामाले किनेर ल्याइदिए। मादल पाउँदा उनको खुसीको सीमा थिएन। अनि घरमै बढी सिक्न थालिन्। उनले मादलमै आफूलाई समर्पण गरिन् र त्यसकै साधना।
एसएलसी उत्तीर्ण गरेपछि शारदा संगीत नै पढ्न चाहन्थिन्। आमाबुबाको चाहना भने छोरीले विज्ञान विषय पढोस् भन्ने थियो। शारदा आमाबुबाको इच्छाविरूद्ध जान चाहिनन् र विज्ञानमा भर्ना भइन्।
'मैले संगीत नपढे पनि मादल बजाउन छोडिनँ। धेरै मेहनत गरेँ,' उनले भनिन्।
बिहान मादल बजाउँथिन्। दस बजे कलेज जान्थिन्। पढाइमा तीक्ष्ण थिइन्। प्रविणता तहमा राम्रो नतिजा आएपछि स्नातकमा फार्मेसी विषय पढिन्। त्यो बेला पनि उनले मादल बजाइरहिन्। मादल बजाउनु उनको साधना थियो, जीवनको एक अंग बनेको थियो।
फार्मेसी विषयमा पनि राम्रो नतिजा हासिल गरिन्। अहिले उनी पढाइअनुसारकै पेसामा छिन्। मादल त उनको जीवनको अंगै भइहाल्यो!
सुरूआती दिनमा भने जीवनको यो अंगलाई आफूमा समाहित गर्न मुश्किलै थियो।
'सुरूसुरूमा मादलको भाषा बुझ्नै कठिन भयो। धुन निकाल्न सिक्नुपर्थ्यो। हातमा रगत आउने गरी बजाउँथेँ,' उनी सम्झिन्छिन्।
प्रशिक्षक न्हुच्छेबहादुरले उनलाई एउटा मादलबाट मादलको भाषा अर्थात् धुन सिकाए। एक, दुई, तीनवटा गर्दै एकसाथ धेरैवटा मादल बजाउन सिकाउँदै गए। शारदाले लगन र मेहनत दुवै दिइन्। अनि १२ वटा मादल एकसाथ बजाउन सक्ने भइन्।
शारदा धिमे पनि बजाउँछिन्। न्हुच्छेबहादुरले नै सिकाएका हुन्। त्यो बेला टोलको गुठीले केटाहरूलाई धिमे बजाउन सिकाउँथ्यो। शारदालाई पनि धिमे बजाउने रहर जाग्यो। गुठीमा पुगेर आग्रह गरिन्, स्वीकृति पाइनन्।
'गुठीका मान्छेले केटीले धिमे छुनै हुँदैन भने,' उनले भनिन्, 'पछि गुरुलाई नै आग्रह गरेँ। उहाँले सिकाइदिनुभयो।'
मादल सिक्दा शारदाको सांगीतिक जीवनको पन्ना मात्र लेखिएन, प्रेमको कथा पनि लेखियो।
मादल सिक्ने कक्षामा पाँच जना केटा थिए। तिनैमध्येका एक, विनय महर्जनसँग शारदाको प्रेम बस्यो। विनय बाँसुरी बजाउँथे।
पछि विनयलाई एक जना चिनियाँ नागरिकले बाँसुरीको धुन सुनाउन चीन बोलाए। विनयसँगै मादल बोकेर शारदा पनि चीन पुगिन्। त्यो बेला उनी फार्मेसी पढ्न भर्खरै भर्ना भएकी थिइन्। मादल बजाउन चीन जान पाउनु शारदाका लागि एउटा अवसर थियो। जाऊँ भने पढाइ छुट्ने, नजाऊँ भने अवसर छुट्ने!
'म त्यति बेला नगएको भए त्यो अवसर फुत्किन्थ्यो। पढाइ छोडेर भए पनि गएँ,' उनले भनिन्, 'लिचाङ भन्ने ठाउँ, नेपालको ठमेल जस्तै। चिनियाँको एउटा घर थियो, कलाघर जस्तै। मैले त्यहीँ मादल बजाएँ।'
चीनमा चार महिना मादल बजाएर उनी फर्किन्। पढाइ छुटेकामा आमाबुबा बेखुस थिए। फेरि फार्मेसीमै भर्ना भइन् र पढाइ पूरा गरिन्।
विनयसँगको प्रेम सम्बन्ध झाँगिदै गयो। चौध वर्षपछि शारदा र विनयले आफ्नो प्रेमलाई बिहेको रूप दिए। संगीतले जुराएको जोडीको बिहेमा संगीत कसरी टुट्थ्यो।
शारदाले आफ्नो बिहेमा पनि मादल बजाइन्।
कुनै पनि परिस्थितिमा उनी मादलबाट टाढा हुँदिनन्। आखिर शारदालाई केले मादल बजाउन लगाउँछ?
उनी भन्छिन्, 'सिक्ने बेलामा त हातले मात्र बजाउँथेँ। अहिले भावनाले बजाउँछु। बजाउन लगाउने पनि भावना नै हो। मादलसँग मेरो भावनात्मक सम्बन्ध छ।'
मादल बजाउँदा बजाउँदै उनले एउटा ब्यान्ड पनि बनाएकी थिइन्। एकपटक उनको भेट गायिका आनी छोइङ डोल्मासँग भयो। आनी केटीहरूलाई बाजा सिकाउन चाहन्थिन्। उनकै चाहनामा शारदाले पाँच जनाको समूह बनाइन्। लाजिम्पाटमा भाडाको कोठा लिएर आनीले प्रशिक्षक व्यवस्था गरिदिइन्। त्यहाँ प्रशिक्षार्थीहरू मादल, सारंगी र बाँसुरी बजाउन सिक्थे।
उनीहरूले आफ्नो समूहलाई 'श्रीतारा ब्यान्ड' नाम दिए। तर केही महिनापछि प्रशिक्षार्थीहरू नियमित उपस्थित हुन छाडे। आनीले पनि हात झिकिन्। शारदा भने पछि हटिनन्। इच्छुकलाई आफ्नै घरमा बोलाएर मादल बजाउन सिकाइन्। उनले एक तहको अभ्यास पूरा गराइन्। प्रशिक्षार्थीहरूले सिके तर बाजा बजाएनन्। यसमा उनलाई गुनासो छ।
सदस्य थोरै भए पनि श्रीतारा ब्यान्ड भंग भएको थिएन। बिहेपछि पनि ब्यान्ड चलाइन्। निजी खर्चमै पनि ब्यान्डको कार्यक्रम गरिन्। समयसँगै साथी छुट्दै गए। ब्यान्ड शिथिल भयो।
शारदा भन्छिन्, 'साथीहरूको अलिकति साथ भएको भए सायद अहिलेसम्ममा ब्यान्ड निकै माथि पुग्थ्यो होला तर चलाउन सकिएन।'
ब्यान्ड रहेन तर साधक शारदाको मन मानेन। उनले 'घिन्ताङ नेपाल' नाम राखेर ६ वर्षअघि संस्था दर्ता गराइन्। मादल बजाउन सिकाइन्। स्कुलहरूमा पनि प्रशिक्षण दिइन्। मादल बजाउने आफ्ना हातहरूलाई कहिल्यै थामिनन्।
शारदाले सफल मादलवादकको पहिचान बनाइसकिन्। तर आलोचना गर्नेको कमी छैन। त्यसमाथि महिला भएर मादल बजाएकैमा खोट लगाउनेहरू धेरै भएको उनी बताउँछिन्।
'मैले एकै पटक धेरै वटा मादल बजाएकोमा, मैले लगाउने लुगामा, मेरो कपालमा अनि मेरा सहभागिताहरूमा समेत टीकाटिप्पणी हुन्छ। मैले जवाफ दिइरहनुपर्छ,' उनले भनिन्, 'काठमाडौंको नेवार परम्परामा महिलाले नेवारी बाजा छुनै हुँदैन। बजाउने कुरा धेरै परको। मैले अरूलाई सिकाउने भन्दा तिमीसँग सिक्न को आउँछ र भन्छन्।'
उनलाई यी सबको जवाफ धेरैभन्दा धेरै केटीहरूलाई मादल सिकाएर दिन मन छ। निःशुल्क सिकाउन काठमाडौं महानगरपालिका र आफ्नो संस्था घिन्ताङ नेपालबीच समन्वय गर्न चाहन्छिन्। महानगरको वडाले स्थान र मादल उपलब्ध गराउने हो भने प्रशिक्षण दिन तयार रहेको उनी बताउँछिन्।
यतिका समय मादल बजाइसकेकी उनलाई नै अझै कोहीकोहीले 'मादल बजाउन छोडेर फार्मेसी सम्हालेर बस' भन्छन्। कतिपयले 'बढी जान्ने भएकी' पनि भन्छन्। त्यस्तै कार्यक्रमहरूबाट कहिलेकाहीँ घर फर्किन राति अबेर हुन्छ। यस्तोमा उनलाई समस्या पर्छ, आलोचनामा पर्छिन्। त्यसैले अबेरसम्म नबसी फर्किने गरेको उनी बताउँछिन्।
'छोरीबुहारीका आफ्नै समस्या हुन्छन्। समाजसँग अनेक प्रश्न छन् छोरीबुहारीमाथि,' शारदा भन्छिन्, 'हामी महिलालाई कुरामा मात्र होइन, व्यवहारमा लागू हुने अधिकार चाहिएको छ।'
अहिले तुलनात्मक रूपमा धेरै महिलाले धिमे बजाउँछन्। उनका अनुसार यसनिम्ति केही महिलाले विद्रोह नै गर्नुपर्यो। अधिकांशले परिवारमै सिकेको उनी बताउँछिन्।
त्यसैले शारदालाई कहिलेकाहीँ महिला स्वतन्त्रताको कुरा नारामै सीमित जस्तो लाग्छ- बाजा बजाउन त यति संघर्ष गर्नु पर्छ, महिला स्वतन्त्र छन् भनेर कसरी मान्नु?
तर कठिनाइको पहाड देखेर थचक्क बस्नेमध्ये उनी पर्दिनन्। रोकावट आइरहन्छ, उनी पन्छाउँदै अगाडि बढिरहन्छिन्।
उनी घिन्ताङ नेपालसँगै श्रीतारा ब्यान्ड सक्रिय बनाउन चाहन्छिन्। यिनैमार्फत् हराउँदै गएको मादल बजाउने चलन ब्युँताउने इच्छा छ।
'संरक्षणका लागि सबै सांस्कृतिक अवसरमा हाम्रै बाजा बजाउनु पर्छ,' १२ वटा मादल एकैसाथ बजाउने शारदाको चाहना छ, 'एउटा मात्र भए पनि हाम्रै बाजा बजाउनेहरू बढ्दै जाऊन्!'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी