कुरा गत वैशाख ७ गतेको हो। महेश त्रिपाठीको फेसबुकमा नोटिफिकेसनको ओइरो लाग्यो। साथीहरूले उनलाई बधाइ दिइरहेका थिए।
बधाइमा अमेरिकाको 'ह्युस्टन फिल्म फेस्टिभल' मा नेपाली फिल्म 'हल्कारा' बाट अभिनेता महेश त्रिपाठी उत्कृष्ट अभिनेता विधामा मनोनयन भएको जानकारी थियो।
अमेरिकामा आयोजित फेस्टिभलमा नेपाली फिल्मबाट नेपाली कलाकार 'उत्कृष्ट' ठहरिएको थियो। बधाइको नोटिफिकेसन आउन थाल्दा महेश अस्कर इन्टरनेसनल कलेजको एउटा कक्षामा पढाउँदै थिए। समय सकिएपछि मोबाइल फोनमा सबैजसो सन्देश हेरे।
उनलाई पत्याउनु कि नपत्याउनु जस्तो भयो। अनपेक्षित सूचना आएको आभास भयो। केही बेरमा आयोजकका तर्फबाटै म्यासेज आयो। अब त पत्याउन करै लाग्यो।
'ससानो कुरामा खुसी हुने म यसरी अन्तर्राष्ट्रियस्तरमै मनोनित हुन पाउँदा धेरै खुसी भएँ,' उनले सेतोपाटीसँग भने, 'यसबाट मलाई अझै मेहनत गरेर फिल्म खेल्छु भन्ने ऊर्जा मिल्यो।'
फेस्टिभलमा विश्वभरिबाट ३० फिचर र ६० वटा जति छोटा फिल्म देखाइएका थिए। फिचरतर्फ विक्रम सापकोटाको निर्देशनमा बनेको 'हल्कारा' पनि थियो। विक्रम निर्देशित पहिलो फिचर फिल्म 'हल्कारा' मा मुख्य पात्रको भूमिकामा महेश थिए।
ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेता ठहर हुँदासम्म महेशले जीवन र काम दुवैमा निकै उतारचढाव भोगेका छन्।
उनको जन्म पोखरा सहरनजिकै हालको कास्कीकोट गाउँपालिकामा २०४५ सालमा भएको हो। पोखरानजिकै भए पनि त्यो समय कास्कीकोट दुर्गम गाउँका रूपमा थियो। अहिलेको पूर्वाधार र प्रविधिको छेउकुना नै थिएन। खेल्नु भनेको चप्पलको पांग्रा हालेर गाडी बनाउँदै गुडाउनु र मोजामा झुम्रा खाँदेर गोल बनाउँदै दुई टिम भिड्नु थियो।
समय थोरै फेरियो। गाँउमा टेलिभिजन आयो। सारङकोटमा नेपाल टेलिभिजनको बेडमानको टावर थियो। घरको एन्टेना टावरपट्टि घुमाउँदै टेलिभिजन हेरेको सम्झना उनलाई आलै छ, हिजै जस्तो। रेडियो सुन्ने चलन छँदै थियो।
रेडियो र टेलिभिजनले महेशको मथिंगल हल्लाइदिए। रेडियो कसरी बज्छ, टेलिभिजनमा मान्छे कसरी देखिन्छन्, सिनेमामा मान्छे कसरी आउँछन् भन्नेमा उनको ध्यान जान थाल्यो। हरेक शनिबार नेपाल टेलिभिजनमा दिउँसो फिल्म हेर्थे।
'रेडियो र टेलिभिजनकै कारण प्रविधि सिक्ने र सिनेमाको कलाकार बन्नेतर्फ मेरो झुकाव बढ्दै गयो,' उनले भने, 'सिनेमा हेर्दाहेर्दै भविष्यमा म पनि कलाकार बन्छु भन्ने सोच्न थालेको थिएँ।'
बालसुलभ चाहना, महेशलाई जो देख्यो त्यस्तै बन्न मन लाग्थ्यो। बुबाले स्कुलमा पढाएको देख्दा शिक्षक बन्न मन लाग्थ्यो त अस्पताल जाँदा डाक्टर। स्कुलमा नाटक गर्ने कुरा हुँदा कलाकार बन्न मन लाग्थ्यो। सिनेमा जति हेर्यो, उति नै उनमा सिनेमाको कलाकार बन्ने चाहना प्रबल हुँदै गयो।
घरका जेठा नाति, जेठा छोरा, सबैका प्यारा थिए। उनको परिवारमा मौसमअनुसार बिहान घरको कुनै न कुनै काम गरेर मात्रै स्कुल जानु पर्थ्यो। स्कुलबाट आएर पनि कुनै न कुनै काम जिम्मा लिनै पर्थ्यो। घाँस काट्नु, खेतबारीमा काम गर्नु, सानोतिनो भारी बोक्नु, यस्तै अनेक काम हुन्थ्यो।
बालक महेशको अर्को एउटा स्वभाव थियो, कुनै अनौठो चिज भेट्यो कि त्यसलाई खोलेर फेरि दुरुस्तै बनाउने। पिँढीको एउटा खम्बामा रेडियो झुन्डाइएको हुन्थ्यो। बुबा समाचार सुन्थे। रेडियो सुनिराख्दा महेशको दिमागमा एउटा जिज्ञासा आउँथ्यो– यो रेडियोमा मान्छे कसरी पसेर बोलेको होला?
यति कुरा त उनले पत्ता नलगाई भएन। एक दिन मौका पारेर बजिरहेको रेडियो खोलखाल पारे। मान्छेहरू भेटिएनन् तर ब्याट्रीले बज्ने रहेछ भन्ने थाहा पाए। त्यहाँभित्रका मसिना सामान र तार होसियारीपूर्वक चलाए। कुन झिक्दा बोल्न बन्द हुन्छ र कुन जोड्दा बोल्न थाल्छ भन्ने पत्तो लगाउँदै गए।
उनले आफ्नो घरको मात्रै रेडियो खेलेनन्, गाउँका पनि भ्याए। बिस्तारै टेलिभिजनमा आँखा लगाए। यसलाई पनि रेडियोलाई झैं गरे। पसलमा उनका काका ब्याट्री र चुरोटको कागज जोडजाड गरेर बत्ती बाल्थे। गर्दा गर्दै महेशले कताबाट के जोड्दा चक्का घुम्छ भन्ने पनि जाने।
'एक दिन चप्पलको पांग्रा बनाएर र त्यसमा मोटर जोडेँ। पांग्रा घुम्न थाल्यो,' उनले भने, 'यसैबाट एउटा हेलिकप्टर बनाएँ। सानो पानीजहाज पनि बनाएँ।'
महेश पाँच कक्षामा पढ्दै थिए। हेलिकप्टर र पानी जहाज बनाएको कुरा स्कुलभरि फैलियो। आठ कक्षामा पढ्दै गर्दा मान्छेजस्तै हिँड्ने चिज बनाउन मन लाग्यो। मोटर, ब्याट्री र अरू के के जोडेर मान्छेजस्तै हिँड्न सक्ने उपकरण बनाए। हातखुट्टा भएको, टाउको यताउता हल्लाउने त्यो उपकरणले भुइँबाट सामान टिप्न सक्थ्यो।
शनिबारका दिन आँगनमा मान्छेजस्तै उपकरण बनाउँदै गर्दा उनलाई विज्ञान पढाउने शिक्षकले देखे। यो उपकरण स्कुलमा देखाउनुपर्छ भने। महेशले भोलिपल्टै स्कुलमा देखाए अनि थाहा पाए, यो त रोबोट पो भएछ।
ऐतिहासिक स्थलसमेत रहेको उनको गाउँमा विदेशीहरू पदयात्रा गर्थे। त्यति बेला स्कुलको चउरमा रोबोट देखाइरहँदा एकजना विदेशीले फोटो खिचे। भोलिपल्टका पत्रिकामा महेशले रोबोट बनाएर देखाएको भन्ने समाचार छापियो। त्यसपछि त घरमा उनलाई भेट्न मान्छेहरू आउन थाले।
'रोबोटप्रति मेरो चासो झन् बढ्दै गयो। म त विदेशमा पनि चिनिन थालेँ,' उनले भने।
शिक्षकहरूले उनलाई इञ्जिनियरिङ विषय पढ्न सुझाए। महेश भने कलाकार बन्न चाहन्थे। इञ्जिनियर भएपछि कालाकार बन्ने बाटो बन्द हुन्छ भन्ने उनलाई लागेको थियो। बुझ्दै जाँदा थाहा पाए, जे विषय पढे पनि कलाकार बन्न रोकिँदैन। यति भएपछि ढुक्क भएका महेश पोखरा इञ्जिनियरिङ कलेजमा भर्ना भए।
स्कुलमा विदेशीले खिचेको फोटोले बाहिरबाहिरै काम गरेछ। अमेरिकाको एक संस्थाले उनलाई छात्रवृत्ति दियो। सबै पढाइ खर्च त्यसैले बेहोर्यो।
महेश पोखरामा साथीहरूसँग डेरामा बस्थे। कलेजमा पनि उनले रोबोट बनाए। त्यतिन्जेलमा नेपालमा रोबोटिक्सको माहोल बनिसकेको थियो। पुल्चोक क्याम्पसले हरेक वर्ष रोबोटिक्स प्रतियोगिता गर्थ्यो। उनले पनि भाग लिए। कलेजको केही प्रोजेक्टमा काम पनि गरे। पढाइसँगै इञ्जिनियरिङको काम गर्दै अघि बढे।
महेश पढाइ सकेर अनुसन्धान र आविष्कारमा लाग्न चाहन्थे। जागिरका अवसर पनि पाए।
'मलाई अनुसन्धान नै गर्न र केही नयाँ आविष्कार गर्न मन थियो,' उनले भने, 'हाम्रो समाज र देश ती कामका लागि तयार भइसकेको थिएन।'
कलाकार बन्ने चाहनाबाट आविष्कारक बन्ने सपनातिर ढल्किसकेका महेशले आफ्नो सपना पूरा गर्न धेरै ठाउँमा सहयोगको आग्रह गरे। एकदिन तत्कालीन राष्ट्रपति रामवरण यादवसँग भेट भयो। उनले देश विज्ञानमा धेरै अघि बढ्ने अवस्थामा पुगेको छैन भने।
'देशको राष्ट्रपतिले विज्ञान र आविष्कारका बारेमा निराशाको कुरा गरेपछि म बबुरो भएँ,' महेशले भने, 'आफूले खर्च गरेर अनुसन्धान गर्ने वातावरण थिएन। जति गर्न सक्थेँ, त्यो गरिसकेको थिएँ। व्यावसायिक रूपमा जाने वातावरण देशमा थिएन।'
उमेर बढ्दै जाँदा पारिवारिक दायित्व पनि बढ्दै थियो। घरमा आमाबुबालाई आर्थिक हिसाबले सघाउनु पर्ने बेला भएको थियो। अनुसन्धाता र आविष्कारक बन्ने हुटहुटी सेलाउँदै गयो। स्कुलमा बनाएको रोबोट स्कुलमै, कलेजमा बनाएको कलेजमै रहे।
फेरि महेश फिल्मी कलाकार बन्ने पुरानै सपनातिर फर्के। यही धुनमा काठमाडौं आए, चिनेका कोही थिएनन्। कहाँ जाने, कसरी फिल्मको कलाकार बन्ने, हिरो कसरी बन्ने, केही थाहा थिएन। टेलिभिजनमा केही फिल्म र टेलिशृंखला हेरेका थिए, त्यत्ति हो।
जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तो महेश नेपाल टेलिभिजनको कार्यालयमा पुगे। खेज्दै जाँदा एउटा टेलिसिरियलका निर्देशक भेटे।साँच्चै, कलाकार बन्ने बाटो खुल्दै गयो। कलाकारहरूको सहयोगीका रूपमा काम पाए।
'कलाकारलाई सहयोग गर्दै जाँदा उनीहरूले यो त पढेलेखेको मान्छे रहेछ भन्ने थाहा पाए,' उनले भने, 'पढाइले मेरो व्यक्तित्व अगाडि लग्यो।'
२०६५ सालमा उनले टेलिशृंखला 'जीवनचक्र' र 'आफन्त' मा अभिनय गर्ने मौका पाए। दुई वर्षसम्म यिनै सिरियलमा काम गरे। सन्तुष्ट हुन भने सकेनन्।
उनले भने, 'निर्देशकले भनेजसरी संवाद बोल्नुपर्ने, आँसु निकाल्नु पर्ने काम दुई वर्ष गरेँ। नयाँ केही थिएन। मनमा अभिनय यति मात्र हो र भन्ने प्रश्न उठ्न थाल्यो।'
अभिनय बुझ्न महेशले फिल्मी विषय पढ्ने सोच बनाए। फिल्ममै करियर बनाउने भएपछि त्यसबारे पढ्नुपर्छ, ज्ञान र सीप जरूरी छ भन्ने निष्कर्षमा पुगे। उता आमाबुबाले छोराले टेलिसिरियलमा अभिनय गरेको देखेका थिएनन्। इञ्जिनियर छोरो फिल्मतिर लागेको अत्तोपत्तो थिएन। गाउँमा छिमेकीले सुनाउन थालेछन्।
महेशले भने, 'इञ्जिनियर भएको तिमीहरूको छोरो फिलिमतिर पो लागेछ भनेछन्। आमाले यी कुरा भन्नुभयो। त्यति बेला आमाबुबालाई सम्झाउन निकै गाह्रो भयो।'
अन्ततः बुबाले 'तँ आफैं बुझ्ने छस्। तँलाई ठीक लागेको काम गर' भने। बुबाले यति भनेपछि महेश ढुक्कले अघि बढे। काठमाडौंमा फिल्म पढ्न भर्ना हुनुअघि इञ्जिनियरिङ पढ्दा छात्रवृत्ति दिएको अमेरिकी संस्थालाई इमेल पठाए। त्यसले त फिल्म पढ्न पनि छात्रवृत्ति दिने भयो। अनि अस्कर कलेजमा भर्ना भए।
विद्यार्थी छँदै फिल्म 'नोभेम्बर रेन' मा अभिनयको अवसर पाए। पैसा आवश्यक परेकै थियो। समय मिलाएर अभिनय गरे। कलेजमा निकै सक्रिय भएकाले शिक्षकहरूको नजरमा परेका थिए। परीक्षामा राम्रो नतिजा आयो। पढ्दापढ्दै एउटामा फिल्ममा अभिनय गरेको अनुभव पनि भयो। अनि उनले त्यही कलेजमा पढाउने अवसर पाए। अहिले पनि पढाउँदै छन्।
यस बीचमा महेशलाई फिल्मका अवसर आए। तर काम गरेनन्। बरू कलेजकै राम्रा प्रोजेक्टमा काम गरे जो विदेशमा भएका फिल्म फेस्टिभलमा देखाइए। उनको दायरा फराकिलो हुँदै गयो। एक दिन निर्देशक विक्रम सापकोटाले 'हल्कारा' मा मुख्य पात्रका रूपमा अभिनय गर्न महेशलाई प्रस्ताव गरे। उनलाई कथा मन पर्यो, राजी भए।
सन् २०१८ मा, हल्कारा छायांकन गरेको एक वर्षपछि उनलाई अर्को फिल्मको अवसर आयो। अभिनेत्री स्वस्तिमा खड्काको प्रस्तावमा महेशले 'चपली हाइट ३' मा प्रहरीको भूमिकामा अभिनय गरे। अपराधमा अनुसन्धान गर्ने प्रहरी अधिकृत बन्दा उनलाई अभिनयमै सही, अनुसन्धान गर्ने आफ्नो सपना छोएको अनुभव भयो।
'मलाई अभिनय गर्दा पनि अनुसन्धान गर्न मन लाग्छ। कहिलेकाहीँ घरमा बस्दा सानातिना विषयमा अनुसन्धान गर्छु,' महेश भन्छन्, 'समाजमा देखिएका, अनुसन्धान गरेर ल्याइएका कुरा यो फिल्ममा देखाइएको छ। मेरो जीवनको सपना यो फिल्ममा मेल खाएको छ।'
कोरोनाका कारण 'चपली हाइट–३' ढिलो गरी प्रदर्शन भयो। महेशले सकारात्मक प्रतिक्रिया पाए।
'हल्कारा' मार्फत फेस्टिभलमा उत्कृष्ट अभिनेता छनोट हुँदा उत्साहित भएका छन्। काम गर्ने ऊर्जाम थपिएको छ।
भन्छन्, 'फिल्ममा अभिनय गर्नु त छँदै छ। मैले पढाएका विद्यार्थीहरू पनि कोही रंगमञ्च त कोही फिल्ममा छन्। आफ्ना विद्यार्थीले अभिनय गरेका फिल्म हेर्दा म आफैंले अभिनय गरेजस्तो अनुभव हुन्छ।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी