अहिलेजस्तो फोन वा इन्टरनेट सुविधा कहाँ हुनु! चिठी लेखेर हुलाकबाट पठाउने जमाना थियो।
फिल्म मेकर प्रासना डंगोलका बुबा एक भारतीय युवतीसँग प्रेममा परेका थिए। उनीहरूले दस वर्षसम्म चिठी लेखेरै आफ्नो प्रेम प्रकट गरे। आ-आफ्ना भावना चिठीबाटै आदानप्रदान गरे।
उनका बुवाले ती युवतीलाई भेटेका बेला क्यामरामा भिडिओ कैद गर्थे र सम्झनाका लागि राख्थे। चिठीले गाढा बनाएको प्रेम समयक्रममा बिहेमा परिणत भयो।
प्रासनाले आफ्ना बुबाआमाको प्रेम कहानी भिडिओ अभिलेखबाट हेर्न र सुन्न पाइन्।
'बुबाममीको त्यो बेलाको भेटघाटका फोटा, भिडिओ र चिठी अझै पनि बुबाले अभिलेख गरेर राख्नुभएको छ,' प्रासनाले भनिन्।
उनलाई क्यामरामा रूचि जागेको बुबाआमाको त्यो प्रेमकहानीले नै हो। त्यो समय अहिलेको जस्तो मेमोरी कार्डवाला क्यामरा थिएन। रिल/चक्का किनेर हाल्नुपर्थ्यो जुन निकै महँगो हुन्थ्यो। जति नै महँगो भए पनि बुबाले प्रासनालाई तस्बिर र भिडिओ खिच्न सिकाए।
बुबाको प्रेरणा र प्रशिक्षणमा प्रासना स्कुल पढ्दैदेखि फोटो र भिडिओ खिच्न तथा भिडिओ सम्पादन गर्न सिपालु भइन्।
'खिच्नै भनेर म यताउता डुल्न थालेँ। साथीहरूको जन्मदिनका फोटो/भिडिओ उपहारमा दिन थालेँ,' उनले भनिन्।
यही क्रममा कम उमेरमै उनको बाटो फिल्म निर्माणतिर डोहोरिन थाल्यो। तैपनि स्पष्ट रेखा पहिल्याउन सकेकी थिइनन्। बुढापाका र बालबालिकासँग रमाउने उनी बालमनोविज्ञान पढ्ने र त्यसैमा काम गर्ने विचारमा थिइन्।
कक्षा दसको पढाइ सकेपछि उनले ए-लेभल हुँदै समाजशास्त्र र मनोविज्ञान पढिन्। उनी विदेश गएर बालमनोविज्ञानमा उच्च अध्ययन गर्न चाहन्थिन्। विदेशका धेरै विश्वविद्यालयमा आवेदन गरिन्। केहीले स्वीकार पनि गरे। तर कतिपय परिस्थिति आफूले सोचेजस्तो भएन। उनले मनोविज्ञान पढ्ने आकांक्षा त्यागिन्।
उनले भनिन्, 'छिटो पढेर छिटो जागिर गर्ने मन थियो। धेरै पढ्ने इच्छा हुँदाहुँदै पनि झमेला हुने देखेपछि मनोविज्ञान नपढ्ने निधो गरेँ।'
यसपछि प्रासना फिल्म निर्माणको सपना देख्न थालिन्। यसैसम्बन्धी पढाइका लागि सत्र वर्षको उमेरमा बेलायत पुगिन्। त्यहाँ उनले क्यामराको काम सिकिन्। फिल्मका अनेक पक्षहरूबारे सिकिन्। कथा, दृश्य र पात्रहरूका संवेदना बुझिन्। वृत्तचित्र निर्माणका अनेक आयामहरू बुझिन्।
उनले भनिन्, 'वृत्तचित्र बनाउँदा गोपनीयता कति ख्याल राख्नुपर्छ, निर्देशकले केकस्ता विषयमा ध्यान दिनुपर्छ जस्ता कुरा त्यहाँ पढ्न पाएँ।'
प्रासनाले जर्मन निर्देशक वर्नर हर्जोगले बनाएको डकुमेन्ट्री 'ग्रिज्लिम्यान' को उदाहरण दिइन्। 'ग्रिज्लिम्यान' सन् २००५ मा बनेको फिल्म हो जो वास्तविक घटनामा आधारित छ।
उक्त फिल्ममा जंगली जनावरलाई माया गर्ने टिमोथी ट्रेडवाललाई एकपटक फिल्मकै पात्रका रूपमा रहेको भालुले आक्रमण गर्यो। त्यो भिडिओ पनि खिचिएको थियो। त्यो दृश्य फिल्ममा देखाउने कि नदेखाउने भन्ने बहस चल्यो।
प्रासनाले यो घटनाबारे खोजी गरिन्। एउटा अन्तर्वार्तामा फिल्म निर्देशक हर्जोगले भनेका रहेछन्, 'कसैको परिवारलाई आफ्नो सन्तानको दुखाइ, छटपटी हेर्न र सुन्न मन लाग्दैन। यो निकै संवेदनशील कुरा हो। मैले आक्रमणको त्यो दृश्य फिल्ममा राखिनँ।'
उनले भनिन्, 'यसले मलाई फिल्म बनाउँदा कति संवेदनशील हुनुपर्छ भन्ने कुरा सिकायो।'
प्रासना बेलायतमा एक तहको पढाइ पूरा गरेर स्वदेश फर्किन्। फेरि सन् २०१४ मा भारत गइन्। तीन साता थप सिकाइ गरेर आइन्। उनी नेपालमै भविष्य खोज्न थालिन्। कान्तिपुर टेलिभिजनमा काम सुरू गरिन्। त्यहाँ उनी अन्तर्वार्तामा सोधिने प्रश्नहरू तयार गर्थिन्। विज्ञापनजस्तै गरी केही सन्देशमूलक केही भिडिओ पनि बनाइन्। त्यही समय काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ) आयोजना हुन लागेको जानकारी पाइन्।
महोत्सव डिसेम्बरमा हुने भए पनि किम्फ आयोजकले अगस्टमै कर्मचारी खोजेको थाहा पाइन्। उनले त्यसमा आवेदन गरिन् र छनोट भइन्। महोत्सव आयोजक कर्मचारीका रूपमा उनको काम अतिथिहरूको स्वागत गर्ने, छनोट भएका फिल्मबारे जानकारी गराउने जस्तो सामान्य थियो।
उनले अन्तर्राष्ट्रिय फिल्म बनाउने निर्माताहरूको समन्वयनको जिम्मेवारी पनि पाइन्। यस क्रममा उनले धेरै विषयका वृत्तचित्रहरू हेर्न पाइन्। यसबाट उनले वृत्तचित्रको मर्म, फिल्मको कथा वस्तुका आयाम, नायक–नायिका, पात्रहरू र पात्रताका बारेका जानकारी पाइन्।
'कथामा डुब्न सके जो पनि हिरो–हिरोइन बन्न सक्दा रहेछन् भन्ने कुरा वृत्तचित्र हेरेर थाहा पाएँ,' उनले भनिन्।
प्रासनाका अनुसार उक्त महोत्सवमा उनी मन, वचन र कर्मले खटिन्। उनले फिल्म रहरले मात्र बन्दैन, उचित वातावरण पनि आवश्यक पर्छ भन्ने थाहा पाइन्। फिल्म निर्माणमा उनको दृढता कसिलो बन्दै गयो। कुनै दिन राम्रो फिल्म बनाउने लक्ष्य लिइन्। उनी फिल्म मेकर बन्ने बाटोमा अघि बढिन्।
किम्फमा काम गरिरहेकै समयमा उनले नेपाली म्युजिक भिडिओहरू हेरिन्। यसबाट उनले राम्रो भिडिओ खिच्ने क्यामरा पर्सनहरूको सूची बनाइन्। आफूले 'थिएटर भिलेज' अभिनयको कक्षा लिइन्।
उनले भनिन्, 'फिल्म निर्देशक भएपछि सबै कुरा थाहा हुनुपर्छ। अभिनयका सबै पक्षमा ध्यान पुर्याउनु पर्छ। यसैका लागि अभिनय कक्षा लिएँ।'
समयको एउटा बिन्दुमा प्रासना फिल्म बनाउने निर्णयमा पुगिन् र सन् २०१७ मा 'स्ट्रगल इन के–पप' नामको फिल्म बनाइन्।
उक्त फिल्म कोरियाको प्रसिद्ध के–पप ब्यान्डका गीतमा नाच्ने सात नेपाली युवाहरूको संघर्षमा आधारित छ।
उनका अनुसार सात जना युवाले कोरियाली नृत्य प्रतियोगितामा भाग लिएका थिए। प्रतियोगितामा प्रथम हुनेलाई कोरिया गएर नृत्य गर्न पाउने पुरस्कार थियो। उनीहरू प्रथम त भए तर कोरिया लगिएनन्। आयोजकहरूले दोस्रो श्रेणीमा जितेकालाई कोरिया पठाए।
प्रासनाले तिनै सात जना युवाको घटनाका आधारित वृत्तचित्र बनाइन्।
उनले यो फिल्म कोरियाको 'उजु माउन्टेन फिल्म फेस्टिभल' मा पठाइन्। त्यसपछि सात जना युवासँगै उनी कोरिया पुगिन्। कोरियामा ती युवाले कोरियाली नृत्य देखाए।
त्यो दिनको घटना सुनाउँदै उनले भनिन्, 'भाइहरूले मेरो अगाडि आफ्नो सपना पूरा गरिराख्दा मेरो आँसु थामिएन। खुसीले गदगद भएँ। यो मेरो पहिलो डकुमेन्ट्री भए पनि उनीहरूको सपना पूरा हुँदा एकदमै खुसी लाग्यो।'
यो वृत्तचित्रले प्रासनालाई हौसला र आँट दुवै दियो। यसपछि उनी कर्णालीको डोल्पा पुगिन्। आफूले चाहेको जस्तो फिल्मका लागि उपयुक्त वातावरण पाइन्। अनि बनाइन् फिल्म 'डोल्पा डायरी'।
यो पनि हेर्नुहोस्
त्यही फिल्मले उनलाई किम्फमा 'बेस्ट एडभेन्चर फिल्म' र ह्युमन राइट्स फिल्म फेस्टिभलमा 'बेस्ट वुमन फिल्म मेकर' अवार्ड दिलायो। त्यसपछि पाएको प्रशंसाले उनलाई ऊर्जा त दियो नै, जिम्मेवारी पनि थपिदियो।
'डोल्पाको कथा धेरैले मन पराउनुभयो, सकारात्मक प्रतिक्रिया दिनुभयो। दर्शकहरूको अपेक्षा पनि निकै माथि पुग्यो,' प्रासनाले भनिन्, 'आउने दिनमा यस्तै कथा दिन सक्छु कि सक्दिनँ भन्ने डर पनि लाग्यो।'
डोल्पा पुगेर प्रासना आफैं पनि फर्किएकी थिइन्। त्यो फिल्मले उनलाई आफ्नो कथा आफैं भन्नुपर्छ भन्ने पनि सिकायो। भन्छिन्, 'जसको कथा हो उसैबाट आउनु महत्वपूर्ण कुरा हो। आवाजविहीनको आवाज बन्नेभन्दा पनि उनीहरूको आवाजमा आवाज थपिदिएर उनीहरूलाई भन्न दिनुको ठूलो महत्व हुन्छ।'
'डोल्पा डायरी' को चार वर्षपछि प्रासनाले आफ्नी आमाको कथामा आधारित डकुमेन्ट्री बनाइन्, नाम राखिन् 'बिफोर यु ह्वेयर माइ मदर' अर्थात् 'तपाईं मेरी आमा हुनुभन्दा अगाडि'। यो डकुमेन्ट्री 'फिल्म साउथ एसिया फेस्टिभल' मा प्रिमियर भएको थियो।
प्रासना र उनका साथीहरूले 'बाहाः टाइम' नाम राखेर युट्युब खोलेका छन्। त्यहाँबाट विभिन्न संस्थाहरूसँग जोडिएर प्रासनाले लैंगिक विषयसम्बन्धी सात वटा डकुमेन्ट्री बनाएकी छन्। उनी अझै 'किम्फ' मा आबद्ध छिन्। यहाँबाटै उनले फिल्म मेकर केही नेपाली महिलाहरूलाई तालिम पनि दिएकी छन्।
उनी ब्रिटिस काउन्सिलमार्फत तनहुँ, इलाम, डोल्पा र लुम्बिनीका बालबालिकालाई भिडिओ बनाउन सिकाउने काममा पनि लागेकी छन्। उनको समूहले बालबालिकालाई क्यामरा, भिडिओका कथावस्तु र त्यसका मापदण्डहरू इत्यादिबारे सिकाउने काम गर्छ। प्रासनाका अनुसार तालिममा हाल करिब १०० जना बालबालिका संलग्न छन्।
बालबालिकाहरूसँग काम गर्न थालेपछि बालमनोविज्ञान बुझ्ने अवसर पनि प्राप्त भएको छ।
'ब्रिटिस काउन्सिलले बच्चाहरूसँग फिल्मको काम गर्ने जिम्मेवारी दिएपछि मेरो सपना पूरा भएको महसुस गरेकी छु,' उनले भनिन्, 'नेपालमा फिल्म मेकर बालबालिका छैनन्। उनीहरू फिल्म मेकर भएको भए सायद उनीहरूले भन्न खोजेका कथाहरू कति धेरै आउने थिए होला।'
अवसर पाए भने बालबालिकाले फिल्म बनाउन सक्ने प्रासनाको विश्वास छ। उनका अनुसार ब्रिटिस काउन्सिल र फिल्म विकासको समन्वयनमा बालबालिकाका लागि फिल्म फेस्टिभल आयोजना गर्ने तयारी पनि हुँदैछ।
ब्रिटिस काउन्सिलकै आयोजनामा प्रासनासँग फिल्म मेकर पाँच जना महिला बेलायत जाने तयारीमा छन्। फिल्मको स्क्रिप्ट सुनाएर आर्थिक सहायताको आह्वान गर्न र अन्तर्राष्ट्रिय सहकार्यको बाटो खुलाउन उनीहरू त्यता जान लागेका हुन्।
उनी भन्छिन्, 'नेपालको भिडिओ बनाउन विदेशी आउनु नपरोस्। नेपालीले नै बनाउन सकून्। नेपालीका भिडिओहरू अन्तर्राष्ट्रिय रूपमा प्रदर्शन गर्न सकियोस्।'
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी