रमेशनाथ पाण्डेद्वारा लिखित पुस्तक 'क्रान्ति र प्रतिक्रान्ति' बजारमा आएको छ। पुस्तकमा बीपी कोइरालाले सुन्दरीजल बन्दीगृहबाट लेखेका हस्तलिखित चिठ्ठी लगायत अन्य हस्तलिखित दस्तावेजहरु समेत समावेश छन्।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका पाण्डेले पुस्तकमा २००७ सालको प्रजातन्त्रका लागि भएको राजनीतिक आन्दोलनदेखि वर्तमान समयसम्म आइपुग्दा नेपाली राजनीतिले भोगेको नियति र यसका भौगोलिक-सामरिक कारण र आउन सक्ने परिणाम समेतलाई उल्लेख गर्दै इतिहासको अनुभवका आधारमा नेपाली राजनीतिको भविष्यका बारेमा विस्तारमा चर्चा गरेका छन्।
पुस्तकका सन्दर्भमा लेखक भन्छन्, '२००७ सालको परिवर्तनलाई आख्यानको रुपमा सुनेका अथवा इतिहासमा पढेका, २०४७ सालको परिवर्तनलाई केही सुनेर र केही भोगेर बुझेका अनि २०६३ को परिवर्तनमा आफै संलग्न भएर सञ्चय गरेका सपना भंगको पीडा र दूरदृष्टि पूरा गर्ने सङ्कल्प लिएका युवा वर्गका लागि क्रान्ति र प्रतिक्रान्ति रुचिकर र उपयोगी हुने आशा गरेको छु।'
सुन्दरीजल सैनिक जेलबाट बीपीले मलाई लेख्नुभएका चिठीहरु कालजयी छन्। पाठकलाई राजनीतिक, धार्मिक, सांस्कृतिक र व्यावहारिक रुपमा विचारोत्तेजक खुराक दिने केही चिठीहरु प्रासंगिकताअनुसार प्रस्तुत पुस्तकमा समावेश गरिएका छन्।
पाण्डेको कूटनीति र राजनीति पुस्तक चर्चित छ। उक्त पुस्तकको छैटौं संस्करण पनि 'क्रान्ति र प्रतिक्रान्ति' सँगै बजारमा उपलब्ध हुनेछ। सांग्रीला बुक्सले प्रकाशन गरेको ५ सय ५६ पृष्ठको यो पुस्तकको मूल्य ७ सय ९५ तोकिएको छ।