अभिनेता विपीन कार्कीको मुख्य भूमिका रहेको फिल्म 'सेल्फी किङ' युट्युबमा राखिएसँगै ट्रेन्डिङमा पर्न सफल भएको छ। यही असोज १६ मा ओएसआर डिजिटल च्यानलबाट अपलोड भएको फिल्म युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा पुगेको छ। यो समाचार तयार पार्दासम्म १० लाख भ्यूज पाइसकेको छ।
विशाल सापकोटाको निर्देशन तथा लेखनमा बनेको सेल्फी किङमा विपीनसँगै लक्ष्मी बर्देवा, अभय बराल, भुवन चन्द, जीवन भट्टराई आदि कलाकार प्रमुख भूमिकामा छन्।
फिल्ममा विपीन गोपालको भूमिकामा छन्, जो लोकप्रिय हास्यकलाकार हुन्। कलाप्रति समर्पित उनी आफ्नो बाबु गम्भीर बिरामी हुँदा पनि दर्शकका लागि पहिल्यै तय भइसकेको स्टेज कार्यक्रम छोड्न सक्दैनन्। उनी इमानदार भए पनि आयोजकको गैरजिम्मेवारीका कारण उनले यात्रामा धेरै झमेला बेहोर्नु पर्छ।
उनको हास्य अभिनय हेर्न दर्शकको भीड ओइरिएको बेला निजी जीवनमा भने ठूलै संकट परिरहेको हुन्छ। यस्तो अवस्थामा पनि कलाकारको धर्म निभाउने कलाकारको कथा हो, सेल्फी किङ।
कोरोना महामारीका कारण दर्शकले हलमा गएर नयाँ फिल्म हेर्न नपाएको छ महिना नाघिसक्यो। यस्तो माहोलमा फिल्म युट्युबमा सहजै उपलब्ध भएपछि दर्शकको ध्यान तान्न फिल्म सफल भएको हो।
औसत फिल्म भए पनि विपीन कार्की र लक्ष्मी बर्देवाजस्ता कलकारको अभिनय हेर्न पनि दर्शक आकर्षित भएका हुन्। 'सेल्फी किङ' गत वर्ष माघमा हलमा सार्वजनिक भएको थियो।