बंगाली मूलकी अपर्णा सेन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त भारतीय निर्देशक तथा अभिनेत्री हुन्।
आफ्नो करिअरको सुरूआती काम नै सत्यजीत राय निर्देशित 'तीन कन्या'बाट गरेकी उनले निर्देशक मृणाल सेनका फिल्महरूमा अभिनय गरेकी छन्। सफल, मुख्यतः बंगला र केही हिन्दी भाषाका फिल्ममा अभिनय गरेकी अर्पणा सौमित्र चटर्जी र उत्तम कुमारजस्ता कलाकारका जोडीका रूपमा रुचाइएकी अभिनेत्री हुन्।
अभिनेत्रीका रूपमा स्थापित उनले करिब ३६ वर्षको उमेरमा आफ्नो निर्देशनमा '३६ चौरंगी लेन' फिल्म बनाइन्। यो फिल्मबाट राष्ट्रिय पुरस्कार जितेपछि उनको चर्चा थप चुलियो।
महिला तथा सामाजिक विषयमा फिल्म बनाउने उनको लेखन तथा निर्देशनमा 'पारोमिटर एक दिन', 'युगान्त', ''पारोमा, 'मिस्टर एन्ड मिसेस अय्यर' लगायत फिल्म चर्चित छन्।
कयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जितेकी अपर्णाका फिल्मका मुख्य पात्रहरू शिक्षित र बौद्धिक हुन्छन्। उनका फिल्मका मुख्य महिला पात्रहरू स्वतन्त्र र सक्षम देखिन्छन्। उनका फिल्मका पात्र र परिवेशमा पनि उनी जन्मे-हुर्केको बंगाल क्षेत्रकै बाहुल्य छ।
उनी उच्च मध्यम वर्गीय परिवारका महिला पात्रका जीवनका सूक्ष्म पक्षहरू उजागर गर्ने मामिलामा सचेत निर्देशक हुन्। अपर्णालाई वर्तमान समयकी सशक्त अभिनेत्री कोनकोना सेनकी आमाको रूपमा पनि चिन्न सक्छौं। अपर्णाका धेरै फिल्ममा कोनकोनाले अभिनय गरेकी छन्।
यो सूचीमा युट्युबमा उपलब्ध उनका दुई राम्रा फिल्म राखिएको छ। हेर्नुहोला।
१५ पार्क एभेन्यु, २००५
यो फिल्म मानसिक रूपमा बिरामी पात्र मिताली मिठी र उनको उपचारमा सक्रिय दिदी अन्जलीको वरिपरि घुम्छ। सिजोफ्रेनियाबाट ग्रसित मिठीको भूमिकामा कोनकोना सेन र उनको दिदीको भूमिकामा शबाना आजमीको अभिनय छ। मिठी कलेजमा फिजिक्स पढाउने दिदी अन्जली र आमासँग बस्छिन्। तर मिठी १५ पार्क एभेन्युलाई आफ्नो वास्तविक ठेगाना मान्छिन्।
मिठीको बिहे भएको छैन। तर १५ पार्क एभेन्युमा श्रीमान र उनका बच्चाहरूले उनलाई कुरिरहेको बताइराख्छिन्। वास्तविकतामा यो ठाउँ नभएकोले उनकी दिदी र आफन्तले चाहेर पनि मिठीलाई त्यो ठाउँ पुर्याउन नसक्ने हुन्छन्। तर पनि मिठीको खोजको यात्रा टुंगिदैन।
फिल्ममा मिठीबारे धेरै जानकारी दर्शकलाई दिदीको माध्यमबाट मिल्छ। बाल्यकालदेखि नै रोगका लक्षण भए पनि मिठी खासमा आफ्नो जीवन आफैं बाँच्ने विश्वास भएकी युवती हुन्छिन्। पत्रिकामा काम गर्ने क्रममा भएको एउटा दुखान्त घटनाले भने उनी मानसिक रुपमा बिथोलिन्छिन्।
मिठीको अतीतका त्यसपछिका घटनाक्रमले उनको जीवनका अरू पत्र बाहिर आउँछन्। यही क्रममा कथामा अर्का एक महत्वपूर्ण पात्र देखा पर्छन्, जोजो (राहुल बोस)। जोजोले मिठीसँग इन्गेजमेन्ट तोड्ने कारण र फेरि मिठीसँग उनी जोडिने आउने घटनाक्रमले मिठीका पूरा कथा जान्ने मौका मिल्छ।
फिल्ममा मिठीको रोग लक्षणबारे उनकी दिदी र डाक्टर कुणालबीचको संवादले सिजोफ्रेनिया रोगीका जटिलता नजिकबाट नियाल्ने प्रयास भएको छ। मिठीको कल्पनामा बास गर्ने सत्य अरूका लागि भ्रम भए पनि त्यसले उनको जीवनमा ठूलो अर्थ राखेको देखाइएको छ। मिठीले रचेका कल्पनाको संसार मार्फत फिल्मले सामान्य र असामान्य मान्छे हुनुको भेदबारे बहसको निम्तो दिन्छ।
रोगी भए पनि मिठीलाई सहानुभूति जताउने पात्रका रूपमा नदेखाउनु फिल्मको महत्वपूर्ण पक्ष हो। उनी आफ्नो क्षमता प्रमाणित गर्न चाहने महिलाको भूमिकामा छिन्। तर उनका वरिपरिका आफन्तले नै उनलाई नबुझेको उनको ठम्याइ हुन्छ।
यो फिल्मले बिरामी व्यक्तिलाई हेर्ने संकीर्ण नजरलाई फराकिलो रूपमा बुझ्नु पर्ने कुरामा जोड दिन्छ। फिल्ममा रोगको मात्रै कुरा छैन, रोगसँग जुधिरहेकी मिठीसँग सम्बन्ध जोडिएका नजिकका मान्छेको जीवनमा आउने जटिलताका अनेक आयाम उत्तिकै मसिनोसँग बुनिएको छ। बहिनीको उपचारमा खटिने दिदीको निजी जीवन र सपनाका कुरा, धेरै वर्षको अन्तरालमा मिठीलाई देखेपछि जोजोको वैवाहिक जीवनमा आउने समस्या त्यसकै उदाहरण हुन्।
कलकत्ता र भुटानमा छायांकन भएको यो फिल्मको शैली पनि मिठीको रोग र व्यक्तित्वजस्तै जटिल छ। कोनकोना सेन, शबाना आजमी, राहुल बोसलगायत कलाकारको अभिनयले त्यो जटिलता पर्दामा जीवन्त रूपमा उतारेको छ। फिल्ममा ध्रितिमान चटर्जी, वाहिदा रहमान र कवलजीत चटर्जी, शेफाली साह आदिको पनि महत्वपूर्ण भूमिका छ।
'१५ पार्क एभेन्यु' ले अंग्रेजी भाषामा बनेको भारतीय फिल्म विधामा राष्ट्रिय पुरस्कार जितेको थियो। यही फिल्मबाट कोनकोना सेनले बंगाल फिल्म जर्नालिस्ट एसोसियसनबाट आफ्नो उत्कृष्ट अभिनयका लागि अवार्ड पाएकी थिइन्।
द जापनिज वाइफ, २०१०
भिडिओ च्याटसहित जोडिएको आजको समयको आँखाले हेर्दा 'द जापनिज वाइफ'को कथा पुरानो लाग्छ। फिल्मका दुई मुख्य पात्र ब्रगाली स्नेहमोय र जापानी मियागे पत्र मार्फत जोडिएका पात्र हुन्। यी दुई यस्ता पात्र हुन्, जसले पत्रकै माध्यमबाट बिहे गर्छन्। जीवनमा एक पटक पनि भेट्दै नभेटी।
यति मात्रै कहाँ हो र, बिहे भएको पन्ध्र वर्षभन्दा बढी बितिसक्दा पनि उनीहरूको भेट भएको हुँदैन। प्रेमको बेग्लै खालको कथा बोकेको यो फिल्मको कथा अकल्पनीय जस्तै छ। तर यसको प्रस्तुतिले यसलाई विश्वसनीय बनाइदिएको छ।
भेट नभए पनि यी दुई पात्र एक अर्कासँग हरेक कुरा साट्छन्। उनीहरूको परिवार, परिवेश र स्वास्थ्य हरेक कुराको खबर एकअर्कालाई हुन्छ। अझ, दुवैले पत्रमा आफ्नो देशको प्रकृति र संस्कृतिबारे पनि धेरै कुरा बुझाउँछन्।
फरक भूगोलमा बाँच्ने स्नेहमोय र मियागे कसरी जोडिन्छन्? कसरी प्रेममा पर्छन्? बिहे भएपछि पनि धेरै वर्ष भेट नभएको वास्तविक जीवनमा भेट होला वा नहोला? भए कहिले होला? यिनै प्रश्नका साथमा यो फिल्म हेर्नुभयो भने पक्कै रमाइलो लाग्नेछ।
फिल्ममा यी दुई पात्र नजिक हुने क्रममा आउने भाषा र दूरीको समस्याका अनेक सन्दर्भ आउँछन्। केहीले रमाइलो महशुस गराउँछ, केही घटनाले दुखी पनि बनाउँछ।
यी दुई पात्रको नामले उपहार र आशक्ति अर्थ बोकेको छ। वास्तवमा यो फिल्ममा प्रेमलाई त्यही उपहार र आशक्तिका रुपमा देखाइएको छ।
आदर्श प्रेमको एउटा सुन्दर कोलाजजस्तो यो फिल्म लेखक कुणाल बसुको कथामा आधारित छ। फिल्ममा राहुल बोसले शिक्षक स्नेहमोय र जापानी युवती मियागेको भूमिका चिगुसा ताकाकुले निर्वाह गरेका छन्। राइमा सेन र मौसमी चटर्जीको पनि महत्वपूर्ण भूमिका छ।
अपर्णा सेनका धेरै फिल्ममा अभिनय गरेका राहुल बोसको यो फिल्ममा विशेष जमेका छन्। निर्देशन, कथा र सिनेमाटोग्राफीले स्टार इन्टरटेनमेन्ट अवार्ड पाएको थियो।
(प्रभाकर गौतमका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)