निर्देशक दीपा मेहताले दर्जनौं राम्रा फिल्म र वृत्तचित्र निर्देशन गरेकी छन्। तीमध्ये 'साम एन्ड मी', 'बीबा ब्वाइज', 'बलिउड/हलिउड', 'मिडनाइट्स चिल्ड्रेन', 'एनाटोमी अफ भायलेन्स' र 'एलिमेन्ट्स ट्रिओलोजी' शृंखला केही मुख्य सिनेमा हुन्।
दीपाले एलिमेन्ट्स ट्रियोलोजी शृंखलाका रूपमा बनाएका तीन फिल्म 'फायर', 'अर्थ' र 'वाटर' विशेष चर्चित छन्। उनको यो शृंखलामा भारतभित्रको बालविवाह र विधवाका समस्या, भारत-पाकिस्तान विभाजन बेलाको धार्मिक, साम्प्रदायिक दंगा र समलिङ्गी मुद्दालाई विषय बनाइन्।
सिनेमामार्फत कलात्मक हिसाबले सामाजिक समस्या र कुरीतिमा प्रहार गरेकाले उनका यी फिल्मले विवाद र बहस पनि निम्त्याए।
इतिहास र वर्तमानका विभिन्न विषयमा महिलाको कोणबाट कथा भन्ने उनी भारतको पञ्जाबमा जन्मेकी हुन्। पछि क्यानडाको नागरिक बनेकी उनले सिनेमामा आफ्नै जन्मथलोका कथाह प्राथमिकतामा राख्दै आएकी छन्। हिन्दी र अंग्रेजी भाषामा बन्ने उनका फिल्म संसारका प्राय सबै प्रतिष्ठित महोत्सवहरूमा प्रदर्शन भइसकेका छन्।
उनको ट्रिओलोजीमध्येको 'वाटर' ओस्कारमा विदेशी भाषाका उत्कृष्ट पाँच फिल्ममा पर्न सफल भएको थियो।
यहाँ परेका तीन मध्ये '१९४७ अर्थ' र 'वाटर' पाकिस्तानी लेखक बाप्सी सिधवाका उपन्यास क्रमशः 'क्र्याकिङ इन्डिया' र 'वाटर: अ नोबेल'मा आधारित छ। 'फायर' को कथा भने इस्मत चुगताईको कथा 'लिहाफ' बाट प्रभावित मानिन्छ।
दीपाको यो ट्रिओलोजी सिनेमा समाजसँग संवाद गर्ने र इतिहासको पुनर्व्याख्या गर्ने प्रभावकारी माध्यम बन्न सक्छ भन्ने गतिलो उदाहरण हो।
फायर (१९९६)
फायर दुई जोडी दम्पत्तिको वरिपरि घुम्छ। राधा–अशोक र सीता-जतिन।
अशोक र जतिन दाजुभाइ हुन् भने राधा र सीता जेठानी देउरानी। दुवै दम्पत्तीको वैवाहिक सम्बन्ध चिसो छ। राधा आमा बन्न नसक्नु र उनका पति अशोक पत्नीभन्दा बढी धर्मकर्ममा लाग्नु उनीहरूबीचको चिसो सम्बन्धको कारण हुन्छ।
उता भर्खरै जतिनसँग विवाह गरेकी सीता भने जतिनको ध्यान र समय आफूसँग नभई लिली नामकी केटीसँग बितिरहेका कारण दुःखी हुन्छिन्। जतिन पनि दाजुको करकापमा बिहे गर्नुपरेकाले सीतासँगको सम्बन्धप्रति असन्तुष्ट हुन्छन्।
आफ्ना श्रीमानहरूबाट भावनात्मक र शारीरिक साथ नपाएका राधा र सीता बिस्तारै एकअर्काका साथी बन्छन्। उनीहरूको मित्रताले प्रेमको रूप लिन्छ। उनीहरूको यो प्रेमलाई समाजले महिला पुरुषको प्रेमजस्तो प्राकृतिक मान्दैन भन्ने उनीहरूलाई थाहा हुन्छ। तर यो सम्बन्धलाई कुनै अन्जाम दिन यत्ति मात्रै पर्याप्त हुँदैन।
यी दुई युवतीको प्रेमले निर्धारण गर्ने बाटो र निम्त्याउने परिणामले महिला-महिलाबीचको समलैंगिक सम्बन्धबारे कस्तो बहस छेड्छ? थाहा पाउन हेर्नुस्, फायर।
फिल्ममा राधाको भूमिका शबाना आजमी र सीताको भूमिका नन्दिता दासले निर्वाह गरेका छन्। यी दुवै प्रतिभावान कलाकारले फिल्ममा गरेको अभिनय प्रशंसनीय छ। राधाको पतिका रूपमा कुलभुषण खरबन्दा र सीताका श्रीमानका रुपमा जावेद जाफरी पनि सुहाएका छन्।
समलैंगिक विषयमा बनेको यो फिल्म दीपा मेहताको विवादित फिल्ममध्ये एक हो। धार्मिक रुढिवादीले विरोध गरेको यो फिल्मलाई समलैंगिक मुद्दाका पक्षधरहरूले समर्थन गरेका थिए। शिवसेना र भाजपाजस्ता समूहले भारतका कतिपय ठाउँमा फिल्म प्रदर्शनमा रोक समेत लगाएका थिए।
१९४७ अर्थ (१९९८)
स्वतन्त्रता र विभाजन वर्ष, १९४७ मा मान्छेहरूले हजारौं-हजारको संख्यामा हत्या, हिंसा, बलात्कार र विस्थापनजस्ता समस्या झेल्नु पर्यो। यसको दाग भारतीय र पाकिस्तानी मान्छेको मनबाट सायदै मेटिएला। इतिहासको त्यही घाउमा मल्हम लगाउन यो विषयको वरिपरि धेरै फिल्म बनेका छन्। तीमध्ये '१९४७ अर्थ' विशेष फिल्म हो।
भारत अढाइ सय वर्ष लामो बेलायती राजबाट स्वतन्त्र हुनु अनि भारत र पाकिस्तान विभाजन हुनु एउटै सिक्काका दुई पाटा हुन्। यी दुवै घटनाले भारतमा मात्रै नभई दक्षिण एसियाकै राजनीतिमा दीर्घकालीन असर छोडेको छ। फिल्ममा त्यसकै असरहरू देख्न पाइन्छ।
सम्पन्न पारसी परिवारकी सदस्य लेन्नी, आया शान्ता (नन्दिता दास), दिलनवाज (आमिर खान) र हसन (राहुल खन्ना) बीचको मित्रता र प्रेमको वरिपरि कथा घुम्छ।
लेन्नीको परिवारका लागि काम गर्ने अरू पात्र पनि यी पात्रसँग जोडिएका छन्। उनीहरूबीच आत्मीय सम्बन्ध छ। विभाजनको संघारमा यी पात्रको दिनचर्या, दिल र दिमाग सबै फेरिन पुग्छ। वर्षौंसम्म मिलेर बसेका हिन्दु, मुस्लिम र शिखहरूलाई विभाजनको राजनीतिले अर्कै बनाउँछ। उनीहरूको सम्बन्धमा विभाजनको घटनाले पारेका सुक्ष्म दरार देखापर्छ।
विभाजनअघिको लाहोर परिवेशमा खिचिएको यो फिल्मका घटनालाई लेन्नी पात्रको माध्यमबाट भनिएको छ। यो फिल्म भारत पाकिस्तान विभाजनलाई महिलाको आँखाबाट हेर्ने प्रयास पनि हो।
यो फिल्म एसियन फिल्म फेस्टिभलमा उत्कृष्ट घोषित भएको थियो।
वाटर (२००५)
नौ वर्षीय चुइयाँका पाका श्रीमानको मृत्यु भएपछि उनका अभिभावकले उनलाई विधवा आश्रममा राखिदिन्छन्। बनारस घाटको तिरमा रहेको यो आश्रममा वृद्धादेखि जवान विधवाहरू बस्छन्। सामाजिक रीतिरिवाजबाट बेखबर चुइयाँलाई आफू यो आश्रममा राखिनुको कारण बुझ्नै नसक्ने उमेरकी छन्।
यहाँको कठोर अनुशासनमा बसेर देख्ने अलग संसार नै 'वाटर'को मुख्य कथा हो। फिल्ममा धर्मको गलत व्याख्याले कसरी यहाँका महिलाले आफ्ना इच्छा, आकांक्षा मारेर जीवन बाँच्नुपर्छ भनेर देखाइएको छ।
आश्रमभित्रका विधवाको दैनिकी मार्मिक रुपमा उतारिएको 'वाटर' मा बाहिरी संसारको कथा पनि सँगै अघि बढ्छ। सन् १९३८ को तत्कालीन बेलायती उपनिवेश भारतमा महात्मा गान्धीको नेतृत्वको व्यापक प्रभाव थियो। फिल्ममा जोन अब्राहम गान्धीको राष्ट्रवादी आन्दोलनबाट प्रभावित युवकको भूमिकामा छन्।
फिल्ममा आश्रमकी विधवा युवती लिजा रे र जोनको प्रेम पनि कथाको केन्द्रमा छ। आश्रमभित्र चुइयाँलाई साथ दिने भूमिकामा सीमा विश्वास महत्वपूर्ण भूमिकामा छन् भने आश्रमकी कठोर नेता मधुमतिको भूमिकामा मनोरमाले गजबको अभिनय गरेकी छन्।
विधवा महिलाप्रति एकातिर छोइछिटो गर्ने र अर्कोतिर यौनको प्यास मेटाउने माध्यम बनाएको घटना मार्फत फिल्मले समाजको रुढीवादी प्रवृत्तिमाथि तीखो व्यंग्य गरेको छ। धार्मिक सामाजिक रुढीवादी अभ्यासमा टिप्पणी गर्ने विषयकै कारण 'वाटर' को छायांकन गर्ने बेला कट्टरपन्थी समूहहरूले अवरोधसमेत गरेका थिए।
गम्भीर विषय हुँदाहुँदै पनि निर्दोष बालिका चुइयाँका बदमासीले फिल्ममा थुप्रै ठाउँमा दर्शकलाई मनोरञ्जन दिन्छ।
दर्जनभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जितेको 'वाटर' दीपाको अत्यन्तै चर्चित फिल्म हो। सन् २००५ मा टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रदर्शन भएको यो फिल्म क्यानडाको तर्फबाट उत्कृष्ट विदेशी भाषाको फिल्मतर्फ ओस्कार मनोनयनमा समेत परेको थियो।
(प्रभाकर गौतमका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)