मंगलबार नवाजुद्दिन सिद्दिकी ४६ वर्ष पुगे। सन् १९९९ मा 'सरफरोश' र 'शूल' जस्ता फिल्ममा सानो भूमिकाबाट बलिउड प्रवेश गरेका उनले एक दशकसम्म साना भूमिकामै अभिनय गरेर चित्त बुझाउनु पर्यो। बलिउड 'हिरो' मा हुने सुन्दर अनुहार, सुगठित शरीर, नाच्न जान्ने केही गुण नभएका उनलाई बलिउडमा स्थापित हुने लामो समय लाग्यो।
सन् २०१० मा 'पिप्ली लाइभ' र २०११ मा 'पतंग: द काइट' जस्ता फिल्ममा उनी अलि लामा भूमिकामा देखिए। सन् २०११ मा 'देख इन्डियन सर्कस' फिल्मले उनलाई उत्कृष्ट अभिनेताको पुरस्कार दिलायो। सन् २०१२ को 'तलाश', 'कहानी' र 'ग्यांग्स अफ वासेपुर' जस्ता फिल्मले उनको करिअरलाई नै नयाँ उचाइ दियो।
त्यसपछिका वर्षमा अभिनय गरेका धेरै फिल्मले उनी निरन्तर निर्देशक, दर्शक र समीक्षकहरूको मन जित्न सफल छन्। देशभित्र र बाहिरका धेरै फिल्म महोत्सवमा उनको अभिनयको तारिफ भइरहेको छ।
दमदार अभिनयकै बलमा उनले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड समेत पाइसकेका छन्। उनले आफूलाई बलिउडकै सबभन्दा उम्दा अभिनेताका रूपमा स्थापित गरिसकेका छन्। सहायक अभिनेता, खलपात्र वा मुख्य अभिनेता, सबैखालका भूमिकामा उनी सफल छन्। फिल्म व्यवसायिक रूपमा सफल होस् वा असफल, नवाजुद्दिनको करिअरमा त्यसको खासै असर परेको देखिन्न।
आफूले निर्वाह गर्ने चरित्रको मनोदशाअनुसार अभिनय गर्नु, 'डायलग डेलिभरी' र 'बडी ल्यांग्वेज'मा पनि पात्रअनुसारकै हेरफेर ल्याउनसक्ने नवाजुद्दिनले बलिउडको 'हिरो'को परिभाषालाई फराकिलो बनाएका छन्।
पर्दामा हिरो नभएर चरित्रअनुसारको जीवन बाँच्ने कलाकार नवाजुद्दिनका सबै नभए पनि केही राम्रा फिल्म युट्युबमा सहजै उपलब्ध छन्। यी पाँच फिल्म उनको जीवन्त अभिनयका उदाहरण मात्रै हुन्।
लायर्स डाइस (२०१३), निर्देशक: गीतू मोहनदास
तिब्बत नजिकैको सुदूर गाउँ चिटकुलकी आदिवासी महिला कमला (गीताञ्जली थापा) आफ्नो श्रीमानलाई घन्टामा दसौं पटक फोन गर्छिन्। हरेक पटक फोन उठ्ला कि भन्ने आश टुटेपछि झस्किन्छिन्। पाँच महिनासम्म फोन र चिठी दुवै नपाएपछि उनी अन्ततः सानी छोरी साथमा लिई श्रीमानको खोजीमा सिमला जाने निर्णयमा पुग्छिन्। यो यात्रामा उनकी सानी छोरीको एउटा सानो बाख्रा पनि साथै हुन्छ।
कमलामा श्रीमानको खोजीमा सानो नानीका साथमा हिँड्ने प्रतिबद्धता दृढ छ। तर यो यात्रा सजिलो छैन। घर छाडेको पहिलो दिनदेखि नै उनले यो महशुस गर्छिन्। यात्रामै भेटिएका नवाजुद्दिन (नवाजुद्दिन सिद्दिकी) ले कमलालाई सहयोग त गर्छन्, तर पैसा लिएर मात्रै।
कमला निर्दोष र भयभित छन्। तर नवाजुद्दिन रुखो, कठोर र शंकास्पद लाग्छन्। यी दुई विपरीत चरित्रका पात्रले सिमलादेखि दिल्लीसम्मको यात्रा गर्छन्। कमलालाई आफ्नो श्रीमानसम्म पुग्न नवाजुद्दिनको साथको खाँचो पर्छ। नवाजुद्दिन पैसा पाउने स्वार्थले कमलाको काम गर्न तयार हुन्छन्।
सानो सहरबाट सपनाको खोजीमा निस्केका श्रीमानको खोजी कहाँ कसरी टुंगिएला? अन्तसम्मै दर्शकमा यो कौतुहल भइरहन्छ।
पृष्ठभूमि धेरै नखुलाइएको रहस्यमयी पात्रको भूमिकामा नवाजुद्दिन जमेका छन्। रुखो बोली, डरलाग्दा आँखा र पैसाका लागि मात्रै काम गर्ने स्वार्थी स्वभावलाई मजाले उतारिएको छ। श्रीमानको खबर नपाएर व्याकुल कमलाको भूमिकामा गीताञ्जलीले गरेको अभिनयका लागि त राष्ट्रिय पुरस्कार जितेकी थिइन्। उनले सुदूरकी भूगोलकी आदिवासी र सीमान्तकृत महिलाका रुपमा गहिरो छाप छोडेकी छिन्।
साना सहरबाट ठूला सहरमा हराएका बेपत्ता मजदुरको कथालाई फिल्ममा छायांकन गर्ने क्रममा हिमाञ्चल प्रदेशको प्राकृतिक सौन्दर्यदेखि दिल्लीको अस्तव्यस्त बजार र यातायातका साधनलाई फिल्ममा सुन्दर ढंगले उतारिएको छ।
थोरै संवाद र क्लोजअप सटहमार्फत् पात्रका भावभंगीमा बढी जोड दिइएको यो फिल्मको सिनेमाटोग्राफीका लागि पनि राष्ट्रिय पुरस्कार दिइएको थियो। सनडान्स फिल्म महोत्सव, इन्टरनेसनल फिल्म फेस्टिभल रोटर्डम जस्ता महोत्सवमा प्रदर्शन भएको यो फिल्मले सोफिया इन्टरनेसनल फेस्टिबलमा जुरी अवार्ड जितेको थियो।
रमन राघव २.० (२०१६), निर्देशक: अनुराग कश्यप
मुम्बई सहरमा शृंखलाबद्ध रुपमा हत्या गर्दै हिँड्ने रमन राघव नामका अपराधीले सन् १९६० दशकको मध्यतिर मुम्बई सहरमा आतंक मच्चाएको थियो। प्रायः फुटपाथका गरिब मानिसलाई आक्रमण गर्दै हिँड्ने रमन राघवले पैसा वा अन्य स्वार्थका कारण हत्या गर्थेन। उसले यस्तो अपराध गर्दै हिँड्ने मुख्य कारण थियो, उसलाई मान्छे मार्ने काममा आनन्द आउँथ्यो।
वयस्क महिला वा पुरुषबाहेक सानो बच्चाको समेत हत्या गर्न ऊ हिच्किचाउँथेन। ऊ मानसिक रुपमै रोगी थियो। प्रहरी समक्ष ४१ भन्दा बढी हत्या गरेको स्वीकारेको उसलाई सुरूमा फाँसीको सजाय र पछि त्यसमा पुनर्विचार गरी आजीवन कारावासको सजाय सुनाइएको थियो।
फिल्म 'रमन राघव २.०' मा निर्देशक अनुराग कश्यपले यही चरित्र भएको पात्रलाई वर्तमान सन्दर्भमा आफ्नै शैलीमा ढालेका छन्। 'सिरियल किलर' रमन को भूमिका नवाजुद्दिनले निर्वाह गरेका छन्। एसिपी राघवन सिंह अम्बी (राघव) को भूमिकामा विक्की कौशल छन् भने स्म्रुतिका नायडूको भूमिकामा सोभिता धुलिपाला छन्।
आठ खण्डमा बाँडिएको यो फिल्मको कथा हत्याको घटनाबाट सुरू हुन्छ। स्वभाविक रुपमा अरु फिल्ममा जस्तै हत्यापछि प्रहरी हत्याराको खोजमा सक्रिय बन्छ। तर यो प्रहरीले खेद्ने र अपराधी भाग्ने खालको सामान्य कथा हैन। यसमा त सुरूआततिर हत्याराले प्रहरीसमक्ष 'हत्यारा हुँ' भन्दा पनि प्रहरीले पागल भनेर बेवास्ता गर्छन्।
थ्रिलर सस्पेन्स शैलीको यो फिल्ममा कथाभन्दा नवाजुद्दिनले निर्वाह गरेको पात्रको चरित्र रहस्यमयी र रोचक छ। उनले कुन बेला के गर्छन्, अनुमान गर्नै सकिन्न। फिल्मको सबैभन्दा रमाइलो पक्ष यही हो। मानसिक रुपमा विक्षिप्त, क्रुर र अनौठो पात्रका रुपमा नवाजुद्दिनले गरेको अभिनयले दर्शकलाई वास्तविक हत्याराको गतिविधि नियालिरहेको महशुस गराउँछ। यसमा उनीसँगै नशा सेवन गर्ने प्रहरीको भूमिकामा उम्दा कलाकार विक्की कौशलको कुशल अभिनय पनि देख्न पाइन्छ।
हत्यारा पात्रको निधारमा देखिने दाग, उसको अप्रत्याशित स्वभाव, कालो बिरालो, गल्ली, लागुपदार्थ, अपराध, यौन र हिंसात्मक दृश्यले भरिएको 'रमन राघव २.०' डार्क फिल्म हो। मान्छे र समाजको अँध्यारा पाटो उजागर गर्न माहिर अनुराग कश्यपको यो फिल्मले धर्म वा कानुनका नाममा हुने हत्या र अपराधका नाममा हुने हत्यामा भएको समानता र फरकबारे सोच्न बाध्य पार्छ।
पतंग- द काइट (२०११), निर्देशक: प्रशान्त भार्गव
बर्लिन इन्टरनेसनल फेस्टिभल र ट्रिबेका फिल्म फेस्टिभलमा प्रिमियर 'पतंग- द काइट' समीक्षकहरूले सराहना गरेको फिल्म हो। गुजरातको अहमदाबाद सहरमा हुने भारतकै ठूलो चंगा महोत्सव वरिपरि यसको कथा बुनिएको छ।
अहमदाबाद, जयेश (मुकुन्द शुक्ला) को घरमा बुढी आमा (पन्नाबेन सोनी), भाउजू (सीमा विश्वास) र भतिज चक्कु (नवाजुद्दिन सिद्दिकी) छन्। दाजुको भने निधन भइसकेको छ। व्यवसायी जयेश भने दिल्लीमा बस्छन्। धेरै वर्षको अन्तरालमा छोरी प्रिया (सुगन्धा गर्ग) को साथमा दिल्लीबाट अहमदाबाद आउँदा यहाँ उत्तरायण चंगा महोत्सवको अवसर छ। खासमा उनले जानेरै चंगा उत्सवको समय रोजेका हुन्।
यो उत्सवमा अहमदाबादका हरेक छतको आकाशमा रंगीविरंगी चंगा उड्छन्। यही उत्सवमा मीठा मीठा परिकार पाक्छन्। हरेक उमेर समूहकालाई छुने यो उत्सवमा केटाकेटी र युवा मन झनै झुम्ने नै भयो। पर्यटक बनेर आएकी प्रिया त अहमदाबादको हरेक कुराले आकर्षित हुन्छिन्। तीमध्ये पनि क्यामरा बनाइदिने बबी (आकाश महेर्या) उनलाई खास लाग्छ।
जयेशसँग घर आउने अर्को बहाना पनि छ। त्यो बहाना थाहा पाउन भने फिल्म नै हेर्नु पर्नेछ। यति थाहा पाउँदा ठिकै होला, जयेशको भतिजाको भूमिका निर्वाह गरेका नवाजुद्दिन काकालाई मनपराउँदैनन्।
गुजराती सहर अहमदाबादको चंगा उत्सव र सहरी भीड खिच्न निर्देशक प्रशान्तले अन्डरग्राउन्ड शैलीमा छायांकन गरेका छन्। यसले पनि यी दृश्यहरु विशेष छन्। नवाजुद्दिन र सीमाजस्ता केही प्रमुख कलाकारबाहेक धेरै 'ननएक्टर'ले अभिनय गरेको यो फिल्मको कथा भन्ने शैली सुरूमा सुस्त लागे पनि बिस्तारै यसको मीठासले लठ्याउँदै जान्छ। अमेरिकाको सिकागोमा जन्मिएका प्रशान्तले फिल्म बनाउन लामो समय अहमदाबाद सहरबारे अनुसन्धान गरेका थिए।
राजनीतिक दंगा भोगेको गुजरातका दुःखका कथा नभनेर उनले यहाँका मान्छेको परिवारको कथा भन्ने क्रममा धेरै कथालाई समानान्तर रुपमा अघि बढाएका छन्। यी कथामा उमेर र वर्गको अन्तर भेटिन्छन्। सानो सहर र ठूलो सहरको सोचको अन्तर पनि देखिन्छ।
सन् २०१५ मा निधन भएका यी निर्देशकले यो फिल्म बनाउन पाँच वर्षभन्दा लामो समय लागेको बताएका थिए। निर्देशकको जीवनकै नजिक भएको यो फिल्म सरल छ। यसको पार्श्व संगीत कर्णप्रिय छ।
'पतंग'मा के धनी, के गरिब, सबै चंगाको रङ, धागो र लट्टाइमा रमाएका देखिन्छन्। एकअर्काको सीमा नाघेर उड्ने चंगाजस्तै साम्प्रदायिकताको साँघुरो घेरा नाघेको देखिन्छ।
अर्कोतिर, फिल्मले परिवार र सामाजिक हार्दिकताको उडानमा उडिरहँदा चंगा र मानव सम्बन्धको नाजुकतालाई पनि सँगसँगै देखाउँछ। आखिर चंगाको धागो होस् वा मन, कतिबेला कसरी चुँडिन्छ, के ठेगान!
माझी : द माउन्टेन म्यान (२०१५), निर्देशक: केतन मेहता
इतिहासका कतिपय सत्य–तथ्य घटना पनि काल्पनिक कथासरह लाग्छन्। पहाड चिरेर बाटो निकाल्ने दशरथ माझीको वास्तविक जीवन पनि त्यस्तै एउटा कथा हो। आफ्नी पत्नीको वियोगको बदला लिन २२ वर्ष लगाएर पहाड फोडेर बाटो निकाल्ने अविश्वसनीय पात्र हुन्, दशरथ माझी।
भनिन्छ, दशरथ माझीले आफ्नी श्रीमतीलाई अस्पताल लाने क्रममा उनको गाउँ र अस्पतालबीचको पहाड बाधक बनेको थियो। यही पहाडका कारण उनकी श्रीमतीको समयमा उपचार हुन सकेन र मृत्यु भयो। यो घटनाले पारेको आघातपछि दशरथले पहाडसँग बदला लिने दुस्साहस गरे।
करिब २२ वर्षको अथक प्रयासपछि उनले पहाड फोडेर बाटो निकाले। उनको यो कामले पूरै गाउँको आवतजावतमा कायापलट ल्याइदियो। उनी राष्ट्रिय 'हिरो' बने।
निर्देशक केतन मेहताले बिहार गेलोर गाउँका यिनै पात्रको दुस्साहसमा आधारित फिल्म बनाए, 'माझीः द माउन्टेन म्यान'। फिल्ममा दशरथको भूमिकामा नवाजुद्दिन र उनकी श्रीमतीको भूमिकामा राधिका आप्टेको अभिनय छ।
काल्पनिक पात्रको चरित्रमा प्राण भर्ने अभिनेता नवाजुद्दिनले वास्तविक पात्र दशरथ बन्न दिलोज्यान लगाएका थिए। उनी दशरथले पहाड फोडेर बाटो निकालेको ठाउँमा घन्टौं टोलाएर बिताउँथे। चरित्रलाई पर्दामा ब्युँत्याउने उनको यो प्रयास दर्शकले महशुस गर्छन्। त्यसैले उनको अभिनयले सर्वत्र प्रशंसा बटुलेको थियो।
तथाकथित दलित समुदायको भएकाले गाउँमा ठालुको शोषण र जीवनमा पारिवारिक वियोग भोगेका दशरथ बनेका नवाजुद्दिन कलिलो उमेरदेखि वृद्ध अवस्थासम्म फरक हुलियामा देखिन्छन्।
भनिन्छ, मान्छेको निर्णय चट्टानजस्तै बलियो हुनुपर्छ। दशरथ माझीको निर्णय चट्टानभन्दा बलियो लाग्छ। फिल्मको कथाजत्तिकै बलियो छ, फिल्मको संवाद।
फिल्ममा भएका धेरैमध्ये एउटा चर्चित डायलग हो- शानदार, जबर्जस्त, जिन्दाबाद!
'माझीः द माउन्टेन म्यान' हेरिसकेपछि तपाईंले पनि पक्कै भन्नुहुनेछ- शानदार, जबर्जस्त, जिन्दाबाद!
मनसुन सुटआउट (२०१३) , निर्देशक: अमित कुमार
जिन्दगीको महत्वपूर्ण निर्णय लिने बेला मान्छेसँग अर्को विकल्प त हुन्छ, तर ती विकल्पबारे रोजीछानी निर्णय लिने पर्याप्त समय नहुन सक्छ। तर हामीलाई बेलाबेला यो नभएको भए के हुन्थ्यो? यस्तो भएको भए कस्तो हुन्थ्यो भन्ने लागिरहन्छ। तपाईंले पनि त्यस्ता वैकल्पिक निर्णय र परिणामबारे सोच्नुभएकै होला।
'मनसुन सुटआउट'का मुख्य पात्र आदी (विजय वर्मा) का बुबाले भनेका हुन्छन्, ‘जिन्दगीमा तीन बाटो हुन्छन्ः सही, गलत र बीचको बाटो। र, यो बाटो चुन्न सजिलो छैन।’ यो फिल्मको मुख्य कथा नै यही भनाइको सेरोफेरोमा छ।
आदीले प्रहरीमा जागिर सुरू गरेलगत्तै खुंखार अपराधी शिवा (नवाजुद्दिन) सँग आमने-सामने हुन्छ। त्यति बेला उनी गोली चलाउने कि नचलाउने दुबिधामा पर्छन्। सही, गलत वा बीचको कुन बाटो हिँड्ने- उनको यो दुबिधाका तीन वटै सम्भावना फिल्ममा देखाइएको छ। यस मानेमा यो प्रयोगवादी फिल्म हो।
इनकाउन्टरको मानवीय क्षतिलाई प्रहरी र अपराधी दुवै पक्षको पाटोबाट हेर्ने प्रयास हो यो फिल्म। नामजस्तै फिल्मका मुख्य घटनाको पृष्ठभूमिमा पानी परिरहेको दृश्य आइरहन्छ जसलाई कलात्मक रुपमा खिचिएको छ। नकारात्मक र डरलाग्दो भूमिकामा देखिने नवाजुद्दिनको अभिनय यसमा पनि सशक्त छ। बन्चरो लिएर मान्छे काट्ने यस्तै भूमिकामा उनी यसअघि 'बाइपास' नामको छोटो फिल्ममा पनि देखिएका थिए।
सन् २०१३ को कान्स फिल्म महोत्सवमा प्रदर्शित र प्रशंसित यो फिल्म २०१७ मा मात्रै सार्वजनिक भएको थियो।
यी पनि हेर्नुस्ः
युट्युबमा हेर्न मिल्ने राम्रा १२ नेपाली फिल्म
युट्युबमा हेर्न सकिने ७ हिन्दी कमेडी फिल्म
युट्युबमा हेर्न पाइने पुराना हिट नेपाली फिल्महरू
युट्युबमा हेर्न लायक १० हिन्दी फिल्म
५ दक्षिण अमेरिकी फिल्म, अंग्रेजी सब-टाइटलसहित युट्युबमा
५ राम्रा कोरियन फिल्म, युट्युबमा अंग्रेजी सबटाइटलसहित
अंग्रेजी सब-टाइटलसहित युट्युबमा हेर्न पाइने ५ इरानी फिल्म
अमिताभ बच्चनका ७० दशकका ५ सुपरहिट फिल्म, युट्युबमा
छोटो समयमै स्मिता पाटिलले खेलेका ५ यादगार फिल्म, युट्युबमा
चीनलाई ओस्कारमा पुर्याउने निर्देशकका ५ उत्कृष्ट फिल्म, युट्युबमा सबटाइटलसहित
प्रेमचन्दका उत्कृष्ट रचनामा आधारित ५ फिल्म, युट्युबमा
उत्कृष्ट ५ इटालियन फिल्म, युट्युबमा अंग्रेजी सबटाइटलसहित
इरफान खानको शानदार अभिनय देख्न पाइने ५ फिल्म, युट्युबमा
ऋषि कपुरका ५ यादगार फिल्म, युट्युबमा
१० राम्रा छोटा नेपाली फिल्म, युट्युबमा
ओस्कार जितेका १० छोटा फिल्म, युट्युबमा
युट्युबमा हेर्नलायक १० नेपाली डकुमेन्ट्री फिल्म