अजित बराललाई करिब दुई महिनादेखि भ्याइनभ्याइ छ। हरेक वर्ष नेपाल साहित्य महोत्सवको चटारो बढेसँगै उनको दैनिकी व्यस्त हुन्छ।
महोत्सवको आठौं संस्करण यही मंसिर २७ देखि ३० सम्म पोखरामा हुँदैछ। बुक वर्म फाउन्डेसनले आठ वर्षदेखि गर्दै आएको महोत्सवका आयोजकमध्ये एक हुन् उनी।
गत अगस्टमै पत्रकार सम्मेलन भएपछि विषय र वक्ता चयन, उनीहरूको बसोबास र आउजाउ व्यवस्थापनका काममा तीन महिना बितिसकेको छ। मिडिया, स्वयंसेवी र प्राविधिक व्यवस्थापनको चिन्ता छँदैछ।
कार्यक्रममा सहभागी विज्ञ, लेखक र पाठकका सकारात्मक प्रतिक्रिया, आफन्त र साथीहरूको हौसलाले भने उनलाई उत्साह दिन्छ। यही उत्साहले महोत्सवको अर्को संस्करण सफल बनाउन फेरि कम्मर कसेर लागेका छन्।
सन् २०११ मा सुरू महोत्सव आठौं संस्करणसम्म आइपुग्दा यसमा देश-विदेशका धेरै लेखक र ज्ञाता सहभागी भइसकेका छन्। यसले नेपालकै ठूलो साहित्य महोत्सवको पहिचान बनाइसकेको छ।
उनी भन्छन्, 'महोत्सवकै कारण कमाएको प्रशंसा र नामले लोभ्याउँछ। आफूले सुरू गरेको काम नरोकियोस् भन्ने लाग्छ। आर्थिक स्रोत जुटाउनेदेखि महोत्सवका हरेक कुरामा निरज भारीको भूमिका ठूलो छ। निरज नभएको भए यो महोत्सवले निरन्तरता पाउने थिएन।'
कुनै समय थियो, हाम्रा साहित्य महोत्सवमा निजी अनुभूति र रुमानी कल्पनाबारे बढी चर्चा हुन्थे। पछिल्ला साहित्य महोत्सव बहुआयामिक र बहुविधागत बन्दै गएका छन्।
साहित्य महोत्सवमा पनि यसअघिजस्तै साहित्यसँगै राजनीति, सिनेमा, संगीत, रंगमञ्च, लैंगिकदेखि पर्यावरणसम्मका विषय अटाएका छन्। महोत्सव उद्घाटन अर्थविद् डा. देवेन्द्रराज पाण्डेको 'लोकतन्त्र, विकास र सार्वजनिक दायित्व' विषयको विद्वत प्रवचनबाट हुँदैछ। चारदिने महोत्सवमा तीसभन्दा बढी 'सेसन'मा नेपाली र विदेशी गरी सयभन्दा बढी वक्ता उपस्थित हुँदैछन्।
ललितपुरबाट सुरू भएको महोत्सव काठमाडौंको प्रज्ञा प्रतिष्ठान हुँदै पाँचौं संस्करणदेखि पोखरामा हुन थालेको हो।
पोखरा अजितको जन्मथलो हो। यहीँ हुर्केका उनी सानैदेखि पढ्न-लेख्न रमाउँथे। एसएलसी सकेर काठमाडौं आएपछि पनि उनले लेखपढमा रूचि भएकाहरूसँगै संगत गरे। पोखराका केही पुराना र काठमाडौंमा भेटिएका केही नयाँ साथी मिलेर 'विचार शिविर' सुरू गरे।
अजितलाई त्यही विचार शिविरले नै महोत्सवको आधार बनाएजस्तो लाग्छ।
शिविरमा दस-बाह्र जना सदस्य थिए। तिनले पढाइ पनि रमाइलो बनाउन सकिन्छ भन्ने सोचलाई सूत्र बनाएका थिए। अनामनगरको चिया पसल, त्रिभुवन विश्वविद्यालयको मैदान, कहिले टोखा, पशुपति र स्वयम्भूजस्ता ठाउँमा उनीहरू शिविर चलाउँथे। प्रत्येक साता हुने छलफलमा एक जना सदस्यले किताब, लेख वा कुनै विषयमा प्रस्तुति दिन्थे।
अजितका अनुसार उनी त्यति बेला समाजशास्त्रका विद्यार्थी थिए। शिविरमा भने निर्मल बर्माजस्ता साहित्यकारको किताबबारे बोल्न रुचाउँथे।
२००३ तिर सुरू भएको शिविर दुई वर्षको सक्रियतापछि रोकियो।
केही साथी विद्यावारिधि गर्न विदेशिए, कोही पत्रकारितामा लागे। कति त यो क्षेत्रबाटै टाढिए।
अजित भने अजिब मनोदशाबाट गुज्रिरहेका थिए। न जागिर खान मन लाग्ने, न पढाउने जाँगर। अरूको अधीनमा जागिर खाने नभएर आफ्नै गति र शैलीमा मनले खाएको काम गर्ने बानी भएको बताउँछन्।
'त्यति बेला घरका मान्छेलाई पनि केही गर्दैछु भनेर देखाउनुपर्ने दबाब थियो,' उनी सम्झन्छन्, 'स्वअध्ययन, लेखन र सम्पादनमा रूचि थियो। प्राज्ञिक काम गर्दिनँ भन्ने स्पष्ट थिएँ। तर गर्ने के? टुंगो थिएन।'
आफैंले रोजेको क्षेत्रमा काम जन्माउन पाए हुन्थ्यो भन्ने सोच थियो अजितलाई। घुमिफिरी किताब मात्रै संसारजस्तो लाग्थ्यो। यस्तै घडीमा उनको भेट पोखराबाटै काठमाडौं आएका निरज भारीसँग भयो। निरज पनि अजितका दाइ अनुप बरालसँग मिलेर केही काम गरौं भन्ने सोचमा रहेछन्।
निरज अजितलाई नयाँ-नयाँ बिजनेस आइडिया सुनाइरहन्थे। एकदिन अजितले निरजलाई सोधे, 'प्रकाशनमा हात हाल्दा कस्तो होला?'
त्यही प्रश्नको उत्तरपछि यी दुईबीचको सहकार्यमा २००६ मा पुस्तक प्रकाशन गृह 'फाइन प्रिन्ट' सुरू भयो।
सामूहिक छलफल र बहसप्रति अजितको लगाव थियो। फाइन प्रिन्ट सुरू भएपछि उनले 'बुक क्लब' मार्फत आफ्नो रूचिलाई निरन्तरता दिए। यो विचार शिविरको विस्तारित रूप थियो। रुम टु रिड, मार्टिन चौतारीजस्ता ठाउँमा लेखक बोलाएर हुने मासिक छलफल पनि लामो समय टिकेन।
अरू नै केही हुनुरहेछ र पो !
दक्षिण एसियामा साहित्य महोत्सवको आकर्षण बढिरहेको समय थियो। जयपुर साहित्य महोत्सवको चर्चा सुनेपछि अजित, निरज, लेखक बुद्धिसागर, सन्तोष शर्मालगायत साथी जयपुर पुगे।
जयपुर महोत्सवको माहोल देखेर उनीहरूलाई पनि त्यस्तै साहित्यिक माहोल बनाउन पाए गज्जब हुन्थ्यो भन्ने भयो। त्यहाँ उनीहरूले गुलजार र जावेद अख्तरजस्ता दिग्गजहरू बहस गरिरहेको देखे। पाकिस्तान, श्रीलंका, बंगलादेश लगायत देशका लेखक भेटे।
अजितका अनुसार नेपालमा भइरहेका अनुभवजन्य छलफलभन्दा ती बहस गहन र वैचारिक दृष्टिकोणबाट परिपक्व थिए। त्यसमाथि लेखक–पाठकबीचको अन्तक्रिया र निकटता देखेर उनीहरू झनै लोभिए।
अजित भन्छन्, 'तर पठन संस्कृति विकास होला, लेखकलाई एक्सपोजर होला, किताब बिक्री होलान् भन्ने उद्देश्य वा आइडिया केही थिएन।'
भविष्य योजना र परिणामको लेखाजोखा नराखी सुरू गरेको महोत्सव अहिले गहन जिम्मेवारी बनेको छ।
'महोत्सव झन् ठूलो हुँदैछ। जिम्मेवारी थपिँदैछ,' उनी भन्छन्, 'महोत्सवलाई दक्षिण एसियाको साझा मञ्चका रूपमा स्थापित गर्न सकिन्छ भन्ने लाग्न थालेको छ।'
यसपटक दक्षिण एसियाका किताब र लेखकलाई प्रदान गरिने 'डिएससी' पुरस्कार घोषणा पोखरामा गर्ने तयारीलाई उनी यही प्रयासको खुड्किलो मान्छन्। डिएससी २५ हजार अमेरिकी डलर नगदसहितको पुरस्कार हो। 'लङ लिस्ट' भारतमा र 'सर्ट लिस्ट' लन्डन स्कुल अफ इकोनोमिक्समा सार्वजनिक गरिएको डिएससी पुरस्कार नेपालमा हुनुलाई सकारात्मक उपलब्धि मान्छन् उनी।
'व्यवहारिक रूपमा भन्नुपर्दा अनुवाद गरिएका कृतिलाई पनि डिएससी पुरस्कार दिइने भएकोले नेपाली वा अन्य मातृभाषामा लेख्नेले पनि पुरस्कार पाउने स्कोप बढाएको छ,' उनी भन्छन्।
झुम्पा लहरीजस्ता चर्चित लेखकले पाएको यो पुरस्कार नेपाली लेखकले पनि पाउन सक्छन् भन्दा हाम्रा लेखकलाई उत्प्रेरणा हुनसक्ने उनी बताउँछन्।
यो महोत्सव अन्तर्राष्ट्रिय एक्सपोजरका लागि मात्रै नभई स्थानीय विषय र पात्रलाई अगाडि ल्याउन पनि सघाउँछ। यसपटक पनि पहिलेजस्तै पहिलो दिनको पहिलो सेसनमै 'लेक रहे पो रहला लेकसाइड' विषयबारे छलफल छ। स्थानीयदेखि अन्तर्राष्ट्रिय सहभागिता यो महोत्सवको सुन्दर पक्ष हो।
'तर दक्षिण एसियाको साहित्य सिनमा हाम्रो पहिचान कमजोर छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम गर्न सजिलो छैन,' अजित भन्छन्,
'सुरूमा नेपाल आउनेबारे मनाउन गाह्रो, आउँछु भनेकाहरू पनि अन्तिममा नआइदिँदा अर्को तनाव।'
यसपटक जावेद अख्तर र शवाना आजमी आउने भनेर प्रचार गरिसकिएको थियो। उनी आउने भनिएको यो पहिलोपटक थिएन। अख्तरले भिडिओ सन्देश पठाएर 'आँधीहुरी आए पनि नेपाल आउँछु' भनेका थिए। तर अन्तिम चरणमा उनीहरू नआउने भए।
व्यवस्थापनका साना-ठूला सबै कुरामा ध्यान दिनुपर्ने आयोजकको अर्को चुनौती हो। आयोजक हैसियतले प्रशंसासँगै उनीहरूले अनेक टिप्पणी पनि सुनेका छन्।
तीमध्ये सबभन्दा बढी सुन्नुपरेको टिप्पणी हो– महोत्सवमा सधैं उही पुराना र नजिकका अनुहार दोहोरिन्छन्।
अजित भन्छन्, 'यसपटक नब्बे प्रतिशत नयाँ अनुहार छन्। यसबाहेक लैंगिक, क्षेत्रीय र जातीय रूपमा समावेशी बनाउने पनि प्रयास गरेका छौं।'
महिला सहभागिता बढाउने विषयमा जीवनसंगी ऋचा भट्टराईसँगको संगतले थप संवेदनशील बनाएको उनको अनुभव छ। त्यस्तै मिडिया र सामाजिक सञ्जालले आफ्ना कमजोरी र ध्यान नपुगेका पाटोमा सुधार ल्याउन सघाइरहेको उनी बताउँछन्।
कुनै बेला मेलापात र पर्वमा हुने जमघटझैं साहित्यिक भेला सहरी संस्कृतिको अभिन्न हिस्सा बन्दैछ। यस्ता साहित्यिक मेला विचार वा अनुभव साट्दै लेखक-पाठक घुलमिल हुने थलो हुन्। फरक विचार राख्ने व्यक्तिबीचको बहसले यस्तो ठाउँलाई जीवन्त बनाउँछ। अर्कोतिर, ज्ञानको भोक पनि जगाउँछ।