इन्दस नदीले मानव सभ्यताको शताब्दीयौं पुरानो इतिहास बोकेको छ। यस भेगमा आज पनि हजारौं वर्ष पुरानो भाषा, संस्कृति र संगीतका अवशेष बाँकी छन्।
पाकिस्तानको दक्षिणी भेग मोहेन्जोदारोदेखि उत्तरको हुन्जा उपत्यकासम्म आज पनि हजारौं वर्ष पुराना केही बाजाहरू बजिरहेकै छन्। तर ती बाजा बनाउने र बजाउने जान्नेहरू मासिइरहेका छन्। ज्ञान र सिप हस्तान्तरण अभावमा पुस्तैनी संगीत परम्परा संकटमा छ। तिनको संरक्षण र प्रवर्द्धन नभए बाजा र सर्जकसँगै पाकिस्तानको विशिष्ट संगीत संस्कृतिका धेरै कुरा मरेर जानेछन्।
पाकिस्तानी निर्देशक जवाद शरिफले वृत्तचित्र 'इन्दस ब्लुज'मा पुर्खाले छोडेर गएको सांस्कृतिक विरासत मासिन लागेको त्यही व्यथा उतारेका छन्।
पाटनमा जारी फिल्म साउथ एसिया महोत्सवको तेस्रो दिन नेपाली र केही विदेशी दर्शकमाझ देखाइएको थियो, 'इन्दस ब्लुज’।
निर्देशक शरिफ जर्मनीमा थिए। त्यही बेला उनले आफ्नो देशका मौलिक बाजा जलाइएको दृश्य देखेछन्। त्यो भिडिओ क्लिपले उनमा पारेको प्रभाव इन्दस ब्लुज निर्माणको कारण बन्न पुग्यो।
शरिफ त्यो बेला यस्तो देशमा थिए, जहाँ सडकमा गाउने बजाउने कलाकारले इज्जत पाउँछन्। सडकमा प्रस्तुत हुने कला जर्मन सहरी संस्कृतिको अभिन्न हिस्सा हो। तर उनकै देश पाकिस्तानमा भने ठीक उल्टो भइरहेको थियो।
शरिफका अनुसार, इन्दस ब्लुज बन्नुअघि पाकिस्तानका चौबीस लोपोन्मुख बाजाबारे एक वर्षसम्म अध्ययन गरिएको थियो। तीमध्ये नौ वटा बाजा र एघार जना संगीतकारका अनुभव र संघर्षलाई वृत्तचित्रमा अटाइएको छ।
७६ मिनेट लामो यो वृत्तचित्रमा सरिन्दा, सुरोज, राँती, मुरली बीन, सारंगी, अल्गोजालगायत नौ बाजा र एघार कलाकारका कथा समेटिएका छन्। यी कथाभित्र बाजाको इतिहास र बाजासँगै कलाकारका भोगाइ अटाएका छन्।
यी बाजा बनाउने सतार जोगी हुन् वा जोहेब हसन उनीहरुसँगै बाजा मर्ने र बाजासँगै पुर्खाको सिप र इतिहास पनि नामेट हुन्ने चिन्ता छ। अल्घोजा बाजा बनाउने जियाउद्दिन र सारंगी बनाउँदै आएका इब्राहिम हजानोको मनमा पनि उही पीर छ– सयौं वर्ष पुराना यी बाजा हामीपछि कसले बनाउला?
वृत्तचित्रको नाममा आउने अंग्रेजी शब्द 'इन्दस'ले प्राचीन सभ्यता र 'ब्लुज'ले पीडालाई इंगित दिन्छ। इन्दस सभ्यताको जगमा मौलाएको संगीत संस्कृति मर्न लागेको पीडा नै वृत्तचित्रको मुख्य विषय हो।
कथा पीडाको हो, तर यो वृत्तचित्रले निराशालाई मलजल गर्दैन। बरु, राजनीतिक हिंसा र धार्मिक कट्टरताले धुमिल पाकिस्तानको सुन्दर पाटोलाई उजागर गर्छ। व्यावसायिक निर्देशकका रुपमा सक्रिय शरिफले विषयवस्तुसँगै वृत्तचित्रको भिजुअल इमेज, सिनेमाटोग्राफी र रङ संयोजनले आकर्षित गर्छ। 'क्लोज-अप' होस् वा 'लङ-सट' त्यसलाई कलात्मक रुपमा देखाउन सक्नु उनको खुबी हो।
पाकिस्तानको लाहोरदेखि बालुचिस्तानसम्मका मरुभूमि, पहाड, हिमाल र नदीलाई उनले लोभलाग्ने गरी देखाएका छन्। यसमा पाकिस्तानको भौगोलिक विविधता र सांस्कृतिक विविधता महशुस गराउन पनि सफल छन् उनी।
निजीजस्ता लाग्ने तर सार्वजनिक महत्वका विषयलाई सामूहिक बहसको विषय बनाउन चाहनेका लागि वृत्तचित्र सशक्त माध्यम हो। यसले बजार र मूलधारमा नआएका धेरै विषयलाई नयाँ कोणबाट हेर्ने र बुझ्ने अवसर दिन्छ। पुरानो भाष्यलाई चुनौती दिँदै नयाँ भाष्य बनाउँछ।
यो मानेमा शरिफको इन्दस ब्लुज सफल छ। यसले लामो इतिहास बोकेर पनि सीमित समुदायमा खुम्चिन बाध्य संस्कृतिको पक्षमा सोच्न बाध्य बनाउँछ। फरक भूगोलका यी बाजा र कलाकारले पाकिस्तानको विविधताको प्रतिनिधित्व पनि गर्छ। फिल्ममा त्यस्ता दृश्य पटक-पटक आउँछन्, जहाँ कलाकारले तिरस्कार भोग्नु परेको कुरा सुनाउँछन्। फिल्म क्रुले पनि बाधा भोग्छन्।
शरिफले फरक परिवेश र फरक परिस्थितिमा उस्तै हिसाबले संगीत र बाजामा लगाव भएका कलाकारको कामको महत्वलाई देशको इतिहास र संस्कृतिसँग जोडेका छन्। परम्परा धानिरहेका कलाकारका निजी भोगाइ र सरोकारलाई देशको राष्ट्रिय राजनीतिसँग कसरी जोड्नेबारे पनि उनी सचेत देखिन्छन्।
वृत्तचित्रका पात्र इब्राहिमले भनेजस्तै संगीत मनको दुरी मेट्ने प्रेमको भाषा हो। हिंसात्मक राजनीतिले जीर्ण पाकिस्तानमा मायाको साटो घृणा फैलाउनेहरू शक्तिमा छन्। पुस्तौंदेखिको परम्परा र सिप बचाउने कलाकारका सरोकारसँग शासकलाई मतलब छैन। यतिसम्म, उनीहरू आफ्नै मौलिक बाजालाई पनि आफ्नो भनेर चिन्न सकिरहेका छैनन्।
सदियौंदेखिको अभ्यासलाई नबुझेर धर्मको आँखाबाट मात्रै हेर्ने साँघुरो दृष्टिकोण यो परम्परा बचाउन मुख्य बाधा बनिरहेको स्थिति छ। संस्कृति धान्ने पात्र नै उपेक्षित छन्। यो उपेक्षा र तिरस्कारलाई इन्दस ब्लुजमा ठाउँठाउँमा उतारिएको छ। वृत्तचित्रको यो 'अनसेन्सर्ड भर्सन'मा फिल्म क्रुले झेल्नु परेको बाधासमेत देखाइएको छ।
महोत्सवमा सहभागी भई नेपाल आएको शरिफले इन्दस ब्लुज प्रदशर्नछिको कुराकानीमा भनेजस्तै फिल्मले खासै वास्ता नगरिएका विषयलाई पनि मूलप्रवाहमा ल्याउन सक्छ। दूरदराजमा लुकेका लोपोन्मुख धुन, बाजा र ती बाजासँग जोडिएको संस्कृतिप्रति आममान्छे र नीति निर्माणमा भएकाहरूको ध्यान खिच्नु उनको उद्देश्य हो।
छोटो समयमै इन्दस ब्लुजले पाएको चर्चा र अवार्डहरूले शरिफको यो उद्देश्यलाई सघाउने अपेक्षा राख्न सकिन्छ। तथापि, पाकिस्तानमा वाक स्वतन्त्रतामाथिको रोक र सेन्सरबोर्डको झमेला छ। न वृत्तचित्र महाेत्सव नै हुन्छ।
संसारभरका संगीतप्रेमीको आकर्षणको केन्द्र थियो पाकिस्तान। बलिउडमा आज पनि यसको प्रभुत्व कायम छ। पाकिस्तानी काेक स्टुडियाेकाे लाेकिप्रयता नेपालमा पनि उत्तिकै छ। यहाँको सुफी, लोक, शास्त्रीय, कवाली परम्परा निकै सम्पन्न छ। शास्त्रीय संगीतसँग लोक संगीतको अन्तर्घुलनले पनि यहाँको संगीतलाई विशेष बनाएको छ। तर यही भूमिमा पाँच हजार वर्षभन्दा पुराना बाजा लोप हुने अवस्था आउनु विडम्बना हो।
बाजासँग त्यो बाजा बजाउने ज्ञान, बाजा बनाउने सिप, त्यसको पृथक धुनमात्रै मर्ने हैन, बाजासँग जोडिएको मान्छे र समाजको कथा पनि मर्छ। बाजा मर्नु संस्कृति मर्नु हो। संस्कृति हराउनु पहिचान हराउनु हो।
निर्देशक शरिफले दक्षिण एसियाका देशमध्ये स्वतन्त्र माहाेलमा वृत्तचित्र महोत्सव देखेर भनेका थिए, 'नेपालकाे माहाेल र मान्छेसँग छिटै कनेक्ट भएकाे छु। यहाँकाे स्वतन्त्र माहाेलबाट लाेभिएकाे छु।'
सान्दर्भिक विषय उठान र लाेभलाग्दाे प्रस्तुतिबाट अब लोभिने र सिक्ने पालो हाम्रो हाे कि!