नेपालयले संगीतकार तथा गायक आभासद्वारा तयार पारिएकाे 'बाल रचना' सार्वजनिक गरेकाे छ। यी बाल रचनामा शिशु कक्षादेखिका बालबालिकालाई शैक्षिक हिसाबले समेत काम लाग्ने गरी बाह्रखरी, अंकगणितसँगै विविध विषय समेटिएका गीतहरु समावेश छन्।
संगीतकार आभासले तयार पारेका यी रचना बालबालिकाको मनोभावलाई सुहाउने खालका छन्। नेपाली भाषामा बालबालिकाका लागि मौलिक र स्तरिय बालरचनाहरूको अभावलाई ध्यानमा राखेर यी सामग्री सार्वजनिक गरिएकाे नेपालयले जनाएकाे छ।
‘आफ्नै पारिवारिक परिवेशका निम्ति उपयुक्त बालगीतहरूको खोजी गरिरहेका आभासलाई मैले यस क्षेत्रमा उनले पुरानै सीप र अनुभव प्रयोग गरेर नयाँ गीतहरु तयार पार्नसक्ने अनुरोध गरेको थिएँ,' नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नभन्दै केही महिनामै उनले वर्णमालामा आधारित गीतहरु नै तयार पारिदिए।’
किरणका अनुसार, यी बालगीतहरूलाई पुस्तकका रुपमा पनि प्रकाशित गर्ने नेपालय प्रकाशनले तयारी गरिरहेकाे छ।
आभासले बालबालिकाका लागि शिक्षाप्रद र रमाइला गीतहरू गरी झण्डै ४० वटा बालगीत तयार पारिसकेका छन्। तिनलाई क्रमशः कार्टुन चलचित्रसहित ‘नेपाली बाल रचना’ च्यानलमार्फत् सार्वजनिक गरिने नेपालयले जनाएकाे छ।
यसै क्रममा तिहारको अवसर पारेर युट्युबमार्फत् बालबालिकालाई उपहार स्वरुप वर्णमालामा आधारित गीतहरूको शृंखला सार्वजनिक गरिने भएको हो। ‘नेपाली बाल रचना’मा संकलित वर्णमालाका यी गीतलाई बालबालिकाले अब कार्टुन चित्रसहित हेर्न र सुन्न सक्नेछन्।
आभासले तयार पारेका वर्णमालाका गीतमा गायिका मीना निरौला र बेनुका राईले स्वर दिएका छन्। यही शृंखलामा चाँडै ‘स्वर माला’ पनि सार्वजनिक हुनेछ। स्वर मालालाई रमाइलो बनाउने उद्देश्यले आभासले ‘अक्कलमान’ नामक चरित्र उभ्याएका छन्, जसलाई उनी स्वयंले गाएका छन्।
यसरी तयार भएका प्रारम्भिक सिर्जनाहरू युट्युब र सामाजिक सञ्जालहरूमा ‘नेपाली बाल रचना’को नामले उपलब्ध हुनेछ।
आभासले केही समयअघि तयार पारेका केही बालगीतहरु ललितपुरको डिएभी स्कुलस्थित सभाकक्षमा आयोजित पलेँटी उत्सवका बेला प्रस्तुत गरेका थिए।
‘बालबालिका निम्ति बालरचनाहरू तयार गर्दा मैले उनीहरूकै जिज्ञासाका विषय छानेको छुस बेलाबखत पलेँटीमा त्यसको झलक प्रस्तुत पनि गरेको थिएँ,’ गीतकार तथा संगीतकार आभासले भने, ‘मैले मेरो छोराका निम्ति तयार पारेका यी बालगीतहरू अब विश्वभरिका नेपालीभाषी केटाकेटीहरूले उपयोग गर्नसक्ने गरी सार्वजनिक हुँदैछन्। यसले नेपालीभाषाको आँगनलाई जोगाउन मद्दत गर्छ भन्ने कामना छ।’ यी गीतहरूले केटाकेटीलाई एकसाथ रमाइलो प्रदान गर्दै शिक्षाप्रद र ज्ञानगुनका कुरा प्रवाहित गर्न सहयोग पुग्ने विश्वास रहेको उनी आभास बताउँछन्।
आभासकाे संगीतमा लेकका हामी केटाकेटी जस्ता बालगीतहरू लाेकप्रिय छन्।