पत्रकार एवं लेखक दामोदर न्यौपानेको सातौ कृति ‘सम्पदा लडाइँ’ सार्वजनिक भएको छ। काठमाडौंमा शनिबार एक कार्यक्रम आयाेजना गर्दै वरिष्ठ कवि एवं गीतकार दुर्गालाल श्रेष्ठले कृति लोकार्पण गरेका हुन्।
श्रेष्ठले लोकापर्ण क्रममा यो किताब मात्रै नभई सम्पदा जोगाउन ब्रह्माष्त्रसमेत भएको बताए। त्यसैगरी, सम्पदाविद् रविन्द्र पुरीले लेखकले निडर भएर यथार्थ चित्रण गरेको बताए।
‘यो नै पहिलो किताब हुनुपर्छ जसले सम्पदा के हो? सम्पदालाई किन संरक्षण गर्नुपर्छ? सम्पदा संरक्षणलाई कति कठिनाई भोग्नुपर्छ? भन्ने कुरालाई यथार्त चित्रण गरेको छ,’ उनले भने।
अधिवक्ता प्रकाशमणी शर्माले अभियन्ता, सम्पदाप्रेमी एवं कानुनी लडाँइ गर्ने सबैलाई एउटै साँग्लोमा बाध्न लेखक सफल भएको बताए।
लेखकको करिब एक वर्षअघि मात्रै ‘स्कुल बेच्ने बालक किताब’ प्रकाशनमा आएको थियो। यो किताब छिटो निकाल्नुका कारण पढ्नेलाई सम्पदा प्रति चेतना जगाउँदै त्यसलाई संरक्षण गर्ने अभियन्ताहरुको जमात ठूलो बनाउने उद्धेश्य रहेको उनले बताए।
किताबलाई सांग्रिला प्रकाशनले बजारमा ल्याएकाे हाे।