स्पेनी भाषाको गीत 'डेस्पासितो' नसुन्ने कमै होलान्। अरू भाषामा बनेका यसका 'कभर' गीतले समेत युट्युबमा राम्रै 'भ्युज' कमाएका छन्। 'डेस्पासितो' को एउटा कभर नेपालीहरूले पनि बनाए, जुन हामीमाझ लोकप्रिय छ। यो भिडिओमा शब्द वा स्वर भने छैन। मौलिक बाजा सारंगी र गितारको धुन मुख्य रूपमा प्रयोग भएको यो 'डेस्पासितो'को सांगीतिक स्वाद धेरैले मनपराए।
'स्किन एन्ड बोन्स' को च्यानलबाट अपलोड भएको भिडिओको भ्युज केही घन्टामै हजारबाट लाख पुगेको थियो। त्यो देखेर 'स्किन एन्ड बोन्स' समूहका गितारवादक टुन्नाबेल (दीपेन्द्र) थापा र सांरगीवादक मनीष गन्धर्व चकित भएका थिए रे।
यसअघि दुई-चार हजार भ्युजमै रमाइरहेका टुन्नाबेल र मनीषले एकअर्कालाई फोन गरेर सोधे, 'भिडिओ बुस्ट गरेको हो?'
जवाफले दुवैलाई थप अचम्मित बनायो, 'हैन।'
भ्युजसँगै च्यानल सब्स्क्राइबर्स पनि बढिरहेको थियो। लुइ फोन्सीको 'डेस्पासितो' झन्डै साढे छ अर्ब भ्युज पाएको युट्युबकै सर्वाधिक चर्चित गीत हो। 'स्किन एन्ड बोन्स'ले गत वर्ष फेब्रुअरीमा हालेको यही गीतको सांगीतिक भिडिओको भ्युज अहिले ५० लाख पुग्न लागेको छ। नेपाली च्यानलका निम्ति यो अंक राम्रो मानिन्छ।
उसो त 'स्किन एन्ड बोन्स' का सब्स्क्राइबर पनि सवा एक लाख हाराहारी पुगिसकेका छन्। लामो समयदेखि संगीतमा जोडिएका टुन्नाबेल र मनीष आफ्नै मौलिक गीत-संगीत बनाउन सक्थे। तर उनीहरूले कभर नै किन रोजे?
दुवै जना बेलायती गायिका डुवा लिपादेखि स्वप्न सुमनसम्मको उदाहरण दिन्छन्। सन् २०१९ मा ग्रामी अवार्ड जित्न सफल डुवा लिपा, बलिउडमा जमेकी जेनिशा गान्धी, नेपाली कलाकारहरू सञ्जिमा लामा, दीक्षा जे. थापा, अल्मोडा राना, स्वप्न सुमनहरूको संगीत यात्रा 'कभर आर्टिस्ट'कै रुपमा भएको हो।
'आफ्नै संगीत बनाउने विचार थियो। तर खर्चिलो हुने र स्रोता-दर्शकको ध्यान तान्न लामो समय लाग्ने सोचेर कभर गर्ने निर्णयमा पुग्यौं,' आफूलाई टुन्नाबेल भनेर चिनाउने दीपेन्द्र भन्छन्, 'कभर भिडिओ बनाउँदा अलि सजिलो पनि हुने भयो।'
पहिलो पटक उनीहरूले गायक एड शरिनको 'पर्फेक्ट' गीतको 'इन्स्ट्रुमेन्टल' अपलोड गरेका थिए। यो भिडिओ ठमेलको रिफ क्याफेमा खिचिएको थियो जहाँ टुन्नाबेल र मनीष दुई वर्षदेखि प्रस्तुति दिँदै आइरहेका छन्।
दुवैले ठमेलका विभिन्न रेस्टुरेन्टहरूमा बजाउन थालेको पाँच-छ वर्ष भइसकेको छ। टुन्नाबेल गितार र ड्रम बजाउँछन्, गीत पनि गाउँछन्। उनले आफ्ना दाइसँग बजाउँदा बजाउँदै गितार सिकेका हुन्।
मनीषले भने आफ्ना काका विक्रम गन्धर्वसँग सारंगी बजाउने आधारभूत सीप सिके। सारंगीका कतिपय कुरा उनी इन्टरनेटमार्फत सिकिरहेका छन्। यी दुवै जना आफूलाई तालिम प्राप्त संगीतकार मान्दैनन्। तर यिनका लागि संगीत रूचि मात्रै हैन, यो क्षेत्रमा नयाँ केही गरौं भन्ने भोक छ।
'टुन्ना र म फरक-फरक समूहमा बजाउँथ्यौं,' मनीष सम्झन्छन्, 'एकअर्काको प्रस्तुति हेरेका थियौं। त्यही हेरेरै परिचित अनुहार बन्यौं।'
'दुवैको समूह टुक्रेको बेला हामी नजिकिएका थियौं। अनि सँगै मिलेर काम गर्ने सल्लाह गर्यौं,' टुन्नाबेल थप्छन्।
पहिलो भिडिओमै सकारात्मक प्रतिक्रिया पाएका दुई युवाको जोश चुलियो। भिडिओ गुणस्तर बढाउने भनेर थप लगानी गरे। विदेशी गीत भए पनि नेपालीपन झल्काउन भिडिओमा काठमाडौं सहरका सांस्कृतिक थलोहरू देखाउन थाले। दौरा, सुरूवाल र ढाका टोपी उनीहरूको 'सिग्नेचर' पहिरन बन्यो।
दुई वर्षभित्रै २४ वर्षे ठिटाहरूको विदेशी गीत, विदेशी नाम तर नेपालीपन झल्काउने सांगीतिक भिडिओहरूले सोचेभन्दा बढी प्रशंसा बटुल्यो। विदेशी चल्तीका गीतको संगीत भएकाले विदेशीहरूले पनि हेरेर कमेन्ट गर्न थाले। नेपालीपन मिसिएका कभर भिडिओकै माध्यमबाट नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनमा समेत प्रभाव पार्ने बुझेर सारंगी र गितारसँगै आवश्यकताअनुसार तबला र ड्रमसमेत मिसाए। यी बाजाहरूको धुन मिसाउन उनीहरूका अरू साथीहरूले सघाइरहेका छन्।
यही विशेषता 'स्किन एन्ड बोन्स' को पहिचान बन्यो। हुन त उनीहरूका लागि कभर संगीत नयाँ 'ट्रेन्ड' हैन। उनीहरूले प्रस्तुति दिने ठमेलदेखि अन्तका धेरै क्याफेहरूमा वर्षौंदेखि कभर संगीत चलिरहेको छ।
'काठमाडौंमा यसरी प्रस्तुति दिनेहरूमा नब्बे प्रतिशतभन्दा बढी कभर ब्यान्ड नै छन्। अहिले मिडियामा कभर डिजिटल्ली आएको मात्रै हो,' टुन्नाबेल भन्छन्।
उनीहरूले कभरका लागि विश्वभरका स्रोताले मन पराइसकेका गीत रोज्दै आएका छन्। 'माइ हार्ट विल गो अन, सि यु अगेन' जस्ता चर्चित गीत र 'म्याशअप' सहितका भिडिओले उनीहरूका फलोअर्स झनै बढाएको छ। यस्ता गीतको धुनमा स्रोताहरू अभ्यस्त भइसकेकाले कभर बनाउँदा विशेष तयारी गर्नुपर्ने उनीहरू बताउँछन्।
सबैभन्दा महत्वपूर्ण, उनीहरू आफैंलाई प्रश्न गर्छन्, 'यो गीतलाई हामी न्याय गर्न सक्छौं कि सक्दैनौं?'
उनीहरूको यही समझले अहिलेसम्म साथ दिएको छ।
भिडिओ हिट भएपछि थपिएको उत्साह सम्झँदै टुन्नाबेल भन्छन्, 'विदेशीहरूको कमेन्ट देखेर एकदमै गर्व लाग्ने के। अर्कै भाषा र शैलीको गीतलाई स-सम्मान मर्म नमरी कभर दिने प्रयासमा हामी सफल भए झैं लाग्ने। अझ त्यसैमा आहा, नेपाल कति सुन्दर भन्ने कमेन्ट पढ्दा धेरै खुसी लाग्छ।'
सफलताले चुनौती थप्छ भन्ने कुरा यी दुईमा पनि लागू भइरहेको छ। दुई वर्षे सहयात्रामा यो जोडीलाई लाग्छ, 'स्किन एन्ड बोन्सले पूर्वीय बाजामा पश्चिमी धुन बजाउन सकिने उदाहरण बनायो। हाम्रो देश कति सुन्दर र यहाँको बाजा कति मीठो छ भनेर देखायो।'
युट्युबमा सफल हुनु भनेको कलाकारहरूको परिचय फैलिनु हो। उनीहरूलाई सुन्न चाहनेको संख्या बढ्नु हो। कन्सर्टहरूमा माग हुनु हो। स्किन एन्ड बोन्सले पनि यो यात्रा तय गर्दै आइरहेको छ। भारतको नयाँ दिल्ली, कानपुर र लखनउसम्म पुगिसकेका छन् गितार र सांरगी बोकेर।
'हाम्रो उद्देश्य विदेशी दर्शकसम्म पुग्नु थियो। उनीहरूलाई आफ्नै बाजा सारंगीको धुन सुनाउनु थियो। गितारसँग फ्युजन गरिएको संगीतको माध्यमबाट नेपाली बाजा र संस्कृतिको प्रचार गर्नु थियो,' टुन्नाबेलले भने, 'भारतमा हाम्रा धेरै फ्यान छन्। नेपालीहरू त छँदैछन्, अर्कै देशका मान्छे पनि फ्यान हुँदा छुट्टै अनुभूति हुने रहेछ।'
युट्युबमा हालिएका सात वटा कभर भिडिओका कमेन्ट पढ्दा पनि उनीहरूका स्रोता-दर्शकबारे छनक पाउन सकिन्छ।
'भारतबाहेक अरू देशका पनि फ्यान छन्। एक जना थाइ नागरिक हाम्रो भिडिओ हेरेकै भरमा मसँग सारंगी सिक्न आएका थिए,' मनीष अर्को सुखद अनुभूति थप्छन्, 'योभन्दा ठूलो खुसी त तब थपियो जब टिसिरिजले भारतीय गायक मिका सिंहको गीतको कभर गाउन भन्यो।'
तर त्यो अवसरको फाइदा भने उठाउन सकेनन् उनीहरूले।
मनीष चुकचुकाउँछन्, 'अवसर त धेरै राम्रो थियो। तर सबै गीत सारंगीमा मिल्दैन।'
टुन्नाबेल थप्छन्, 'सस्तो चर्चा वा पैसा कमाउनु मात्रै हाम्रो प्राथमिकतामा होइन। त्यसैले चलेकै गीत वा कलाकार भए पनि हाम्रो कन्सेप्टमा मेल खाएन भने हामी काम गर्दैनौं।'
धेरै संख्यामा कभर बनाउनुभन्दा गुणस्तरीय होस् भन्ने उनीहरूको सोच हो। दुई वर्षमा जम्मा सात वटा भिडिओ र यिनले पाएको लोकप्रियताले पनि उनीहरूका कुरामा सही थाप्छ। एउटा भिडिओका लागि करिब दुई महिना अभ्यास गर्छन् रे। यस्तो अभ्यास प्रायः मनीषको घरमा हुन्छ। रेकर्डिङ भने टुन्नाबेलको घरमै रहेको स्टुडियोमा।
मिलेर काम गर्दागर्दै समूहको नामजस्तै आफूहरूको सम्बन्ध पनि 'स्किन एन्ड बोन्स' जस्तै भइसकेको मनीष र टुन्नाबेल बताउँछन्।
नामको अर्थबारे टुन्ना भन्छन्, 'एउटा अमेरिकन ब्यान्डले प्रयोग गरेको यो शब्द मेरो दिमागमा बसिरहेको थियो। त्यसैले ब्यान्डको नाम यही रोजियो।'
स्वदेशी-विदेशी फ्यान कमाइसके पनि अझै कभर आर्टिस्टलाई हलुका रुपमा लिनेहरूको जमात ठूलो छ। यसबारे टुन्ना र मनीष सचेत छन्। त्यो चेत उनीहरूको भिडिओको गुणस्तरमा पनि झल्किन्छ। त्यस्तै दर्शक-स्रोताको नयाँ-नयाँ स्वाद खोज्ने आनीबानीसँग पनि उनीहरू जानकार छन्।
'आफ्नै शैलीमा केही काम गर्न सफल भइयो। तर अब यही शैलीमा काम गर्यो भने एकोहोरो हुन्छ,' टुन्नाबेल आफूहरू नयाँ शैलीमा जान खोजेको संकेत गर्छन्।
मनीष थप्छन्, 'नयाँ कन्सेप्ट बनाउँदैछौं। अब कभरसँगै ओरिजिनल भिडिओ पनि बाहिर ल्याउने योजना छ।'
आफ्ना ८० प्रतिशत प्रशंसक भारतमा भएको बताउने उनीहरू चाँडै बलिउड श्रृंखला पनि निकाल्दैछन्।
धेरैले युट्युबबाट सूचना, मनोरञ्जन, ज्ञानसँगै पैसा पनि आर्जन गरिरहेका छन्। तर यसलाई 'मनिटाइज' गर्ने प्रक्रिया धेरै झन्झटिलो रहेको उनीहरूको अनुभव छ।
हालसम्म 'स्किन एन्ड बोन्स'को पैसा नलिएको बताउँदै टुन्नाबेलले भने, 'पैसा क्लेम गर्न हजार सबस्क्राइबर अनि सबै भिडिओमा ४ हजार मिनेट कटेकै हुनुपर्ने रैछ।'
सुरूका छ-सात महिना यसै अलमल भएको उनी बताउँछन्। अहिले पनि युट्युबमा हालिएका भिडिओको सर्वाधिकार वा अरू प्राविधिक कारणले आफूहरूले फाइदा लिन नसकेको उनीहरूको भनाइ छ।
चिरपरिचित समूह भइसकेर पनि अरूका गीतमा अभ्यास गर्नु उनीहरूका लागि सधैं सिकाइ प्रक्रिया भएको बताउँछन् मनीष र टुन्नाबेल।
भन्छन्, 'आफूसँग प्रतिभा छ, लक्ष्य र बाटो स्पष्ट छ भने कभर गाउनु नराम्रो होइन।'