‘फाटेको कोट र टालेको सुरूवाल लाएर खै कति दिन आकाश पाताल जोडेर हिडुँ?
बाधेर यस्तो सन्ध्याकाललाई म भात जोरु कि कविता लेखूँ?’
यो एक कविको बाध्यात्मक अभिव्यक्ति हो। कवि विश्वमोहन श्रेष्ठको कविता ‘म भात जोरु कि कविता लेखूँ?’ को केही अशं।
कविता कृति ‘म भात जोरु कि कविता लेखूँ?’ मा रहेको यो कविता र ‘सडक बोल्छ’ कवितालाई शनिबार मञ्चन गरियो।
एपेक्स नेपालले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको नाटकलाई थिएटर मलका कलाकारले प्रस्तुत गरे।
एउटा ठूलो कलम बोकेर एक कवि मञ्चमा देखिन्थे। अन्य कलाकारको शरीरमा पत्रिकाका लुगा लगाइएको थियो। पृष्ठभूमिको बोर्डमा पत्रिका टाँसिएका थिए र लेखिएको थियो – क, ख, ग, घ.... ।
कविले कहिले दुःख, अभाव त कहिले खुसीका कविता लेख्दै जान्थे। उसको अनुहारमा कविताले दिने सन्तोष भन्दा जीवनले दिएको निराशा बढी देखिन्थ्यो।
त्यसै बीचमा कवि दोधारमा पर्छ, ‘परिवारको भोको पेट भर्ने काममा लागूँ कि कविता लेखेर सिर्जनाको खेती गरुँ?’
निर्देशक केदार श्रेष्ठका अनुसार यो कविता विश्वविद्यालयमा पनि पढाइ हुने कविता हो।

नाट्यकर्मीको जीवनमा समेत सान्दर्भिक भएको उनी बताउँछन्।
‘हामी पनि भात जोरु कि नाटक गरुँ? भन्ने परिस्थितमा परिरहेका हुन्छौं। नाटककर्मीको जीवनसँग नजिक भएकाले यो कविताले छोयो,’ नाटक समापन पछि उनले भने, ‘धेरैले कवितालाई मञ्चन गर्न लागेको सुन्दा ५ मिनेट मै सकिन्छ हो भन्ने पनि सोध्नुभएको थियो।’
करिब ४० मिनेट लामो नाटक कीर्तिपुरमा थिएटर मलको नाटकघर खुलेपछि पनि मञ्चन हुने उनले जानकारी दिए।
कविता कृति कै ‘सडक बोल्छ’ कवितामा समय–सूचनाको छनक प्रस्तुत गरिएको छ।
कवितामा अनेकौं घटना–परिघटना, भोगाइहरूको बेलिविस्तार लगाइएको छ। समय र परिस्थितिजन्य कुरालाई थाहै नपाउने गरी सूचित गरिएको थियो।
वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले नाट्यकर्मीहरूले विश्वका कवितालाई दृश्यमा रुपान्तरण गर्न सफल भएको बताए।
नाटकमा संजिता पराजुली, सविर चुरौटे, अर्जुन पौडेल, सगुन शर्मा, गणेशप्रसाद पौडेल र शंकर भण्डारीले अभिनय गरेका थिए।