नेपाली निर्माताले निर्माण गरेको अंग्रेजी सिनेमा 'द म्यान फ्रम काठमाडौं'को गीत र नेपाल रिलिज मिति सार्वजनिक भएको छ।
बिहिबार काठमाडौंमा एक कार्यक्रम गर्दै सिनेमाको गीत, आधिकारिक पोस्टर र रिलिज मिति एकसाथ सार्वजनिक गरिएको हो। यसका अलावा सिनेमाको नेपाली ट्रेलर पनि सार्वजनिक गरियो।
घोषणा अनुसार सिनेमा चैत १ गते रिलिज हुनेछ।
सिनेमाले सार्वजनिक गरेको 'आकाशै घुमेर' बोलको गीतमा प्रमुख कलाकार आना शर्मा र जोसे म्यानुअल फिचर छन्। जेशन कुँवरले संगीत भरेको यस गीतमा कुँवरको साथमा निकिता श्रेष्ठको स्वर रहेको छ। यसका गीतकार पनि कुँवर नै हुन्।
गीतमा विजय मानन्धर र पेमा धोन्डुप कोरियोग्राफी रहेको छ।
पाँच करोड लगानीमा निर्माण भएको यो सिनेमाको छायाँकन लस–एन्जलस र काठमाडौंमा गरिएको छ। सिनेमालाई क्यूएफएक्स सिनेमाज्का प्रमुख नकिम उद्दिनले निर्माण गरेका हुन्।
सिनेमाले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ। सिनेमामा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ।
पेमा धोन्डुप फिल्मका निर्देशक हुन्। यसअघि 'वी आर नो मंक्स' निर्देशन गरेका थिए। सिनेमा दुई भागमा रिलिज हुनेछ।
