असुरहरूका राजा वृषपर्भाकी छोरी हुन्, शर्मिष्ठा। देवयानी उनकी मिल्ने साथी हुन् जो महाज्ञानी शुक्राचार्यकी छोरी हुन्। शुक्राचार्य वृषपर्भाका सल्लाहकार हुन्।
एकदिन जंगल बीचको पोखरीमा नुहाउन जाँदा देवयानी र शर्मिष्ठाबीच मतभेद हुन्छ। राजकुमारी शर्मिष्ठाले देवयानीलाई तल्लोस्तरको गाली गर्छिन् र नजिकैको कुवामा धकेलेर हिँड्छिन्।
कुवामा रहेकी देवयानीलाई संयोगवशः त्यही जंगल हुँदै गइरहेका राजा ययातिले देख्छन्। देवयानीको दाहिने हात समाएर पोखरीबाट बाहिर निकाल्छन्।
कुनै पुरुषले महिलाको दाहिने हात समाएमा विवाह गर्नुपर्ने परम्परा हुन्छ। सुन्दर राजा देखेर आकर्षित देवयानीले यही कुरा बताएर ययातिलाई विवाहको प्रस्ताव राख्छिन्। उता फर्किएपश्चात शर्मिष्ठालाई आफ्नो सुसारे बन्ने श्राप दिन्छिन्।
यो सार हो, महाभारतमा आधारित कथा ययातिको।
हिन्दु पौराणिक कथामा आधारित नाटक ‘ययाति’ शिल्पी नाटकघरमा प्रदर्शन भइरहेको छ। नाटक भारतका प्रशिद्ध नाटककार गिरीश कर्नाडले लेखेका हुन्। नाटकले ‘मैसाेर स्टेट अवार्ड’ पनि पाएको थियो। यसलाई अनुवाद गरेर निर्देशक टंक चौलागाईंले प्रदर्शनमा ल्याएका हुन्।
यसअघि नाटक ‘माधवी’ प्रदर्शन गरेका चौलागाईं पौराणिक नाटकप्रति आकर्षित देखिन्छन्। उनका अनुसार मनोरञ्जनात्मक नाटकहरू प्रदर्शन भइरहँदा पौराणिक नाटक ल्याइएका हुन्।
‘नाटक पूरै शाब्दिक छ र यसका शब्द पनि काव्यात्मक छन्,’ उनले भने।
नाटक प्रचार सामाग्रिमा रथको एउटा अर्धचक्र छ। हरिवंश पुराणमा उल्लेख भएअनुसार राजा ययातिसँग अलौकिक रथ थियो जसको सहाराले सिंगो धर्तीमा उनले विजय पाएका थिए। पौरव राजा जिनाजयाको श्रापपछि रथ हराएको उल्लेख छ।
‘ययाति’को सेटिङ राजदरबार हो जुन साधारण छ। नाटक अन्त्यसम्ममा सेटमा खासै परिवर्तन हुँदैन। शर्मिष्ठाले देवयानीलाई कुवामा खसालेको लगायत कुरा उनीहरुबीच राजदरबारमा भएको भनाभनमा समेटिएको छ।
शर्मिष्ठाले ययाति र देवयानीको विवाहमा टिप्पणी गर्छिन्। सुन्दर राजाले देवयानीको सुन्दरता होइन, उनका बाबु शुक्राचार्यका कारण विवाह गरेको शर्मिष्ठा बताउँछिन्।
रानी देवयानी बाहिरिन्छिन्।
ययातिको प्रवेश हुन्छ। ययाति भोग र मोहका पर्याय हुन्। शर्मिष्ठा उनलाई विषको बट्टा देखाउँदै आफूले आत्महत्या गर्ने कुरा बताउँछिन्। ययातिले उनलाई बचाउने क्रममा दाहिने हात समाउन पुग्छन्।
अब शर्मिष्ठालाई पनि आफ्नी रानी बनाउन तयार हुन्छन्।
यी घटना थाहाँ पाएपछि रानी देवयानी रिसले चुर हुन्छिन्। उनी लगाइ रहेको मोतीको माला फालेर राजदरबार छाड्छिन्।
त्यसैबेला, ययातिका छोरा पुरु चित्रलेखालाई विवाह गरेर दरबार फर्किएकाे छ। पुरु ठीक ययातिको विपरित छ। उसलाई आफ्नो वंश प्रति न कुनै गर्व छ, न आशक्ति। उनको जीवनको लक्ष्य नै बैरागी बन्ने हुन्छ।
राजा र पुरुबीच केही संवाद भइरहँदा खबर आउँछ, ‘राजा ययातिलाई देवयानीका बाबु शुक्राचार्यले श्राप दिएर गएका छन्।’
ययातिले घाम नडुब्दै वृद्ध हुने श्राप पाउँछन्। उनीसँग भोग र यौवनको तृष्णा बाँकी नै हुन्छ। वृद्ध हुने श्रापले उनी आत्तिन्छन्। कुनै युवकले श्राप ग्रहण गरेमा ययाति मुक्त हुने सामाधान छाडेर शुक्राचार्य गएका हुन्छन्। युवराज पुरु सामाधान खोज्दै दरबारबाट बाहिरिन्छन्।
यौवन छाडेर वृद्ध हुने श्राप ग्रहण गर्न राजदरबारका कोही तयार हुँदैनन्। अन्त्यमा बैरागी बन्न हिँडेका छोरा पुरुले नै लिन्छन्।
भर्खरै विवाह गरेर फर्किएकी चित्रलेखा वृद्ध पुरुलाई देखेर रनथनिन्छे। राजा ययाति नै पुरुको त्यो अवस्थाको कारण थाहा पाएकी चित्रलेखा ययातिलाई आफ्नो दाहिने हात समाउन भन्छे। ययातिले अस्वीकार गरेपछि विष पिएर चित्रलेखाको देहान्त हुन्छ।
राजा ययातिको भूमिकामा रहेका युवराज घिमिरेले ययातिको भोग प्रतिको मोह दर्शाउन मिहिनेत गरेको देखिन्छ। रानी देवयानी बनेकी सरस्वती अधिकारीको अभिनय प्रशंसनीय छ। यधपी, निर्देशकले पात्र छनोटमा भने ध्यान पुर्याउनुपर्ने देखिन्छ। शर्मिष्ठा र पुरुले नाटक चलायमान बनाएका छन्। यसअघि नाटक ‘माधवी’मा अभिनय गरिसकेकी अर्चना पन्थीले चित्रलेखाको भूमिका निभाएकी छन्। उनलाई माधवीमा देख्नेले यो नाटक त्यसैको अर्को भाग भएको महशुस गर्न सक्छन्।
समग्रमा ययाति भोग, माया, मोह, भय, श्राप लगायत समेटिएको उत्कृष्ट पौराणिक कथा हो।
नाटकको अन्त्यमा जीवन र भोग प्रतिको अतिशय मोहबाट ययाति विरक्तिन्छ। पुरुसँग बुढौलीको श्राप फिर्ता मागेर उ काव्यिक शब्दमा यस्तो भन्दै पश्चतापमा निस्कन्छः
म नरहेको एकैछिनपछिकुन आखाँले देख्लान् बाँकी सपनाकसले भोगला बाँकी यौवन सयौं वर्ष भोगेर नअघाइने यो यौवनयो र्जजर बुढौली लिएरपश्चतापमा निस्किएको छु।