चितवनको पर्यटकीय नगरी पटिहानीमा आज (शनिबार) देखि प्रथम मेयर कप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री तथा चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सांसद पुष्पकमल दाहालले समुद्घाटन गरे।
प्रतियोगिता अन्तर्गत पहिलो दिन शिवम न्यू डायमण्ड एकेडेमी र विभागीय टोली शसस्त्र प्रहरीको एपिएफ क्लव विजयी भएका छन्। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंको शिवम न्यू डायमण्ड एकेडेमीले भारतको हरियाणा पुलिसको महिला टिमलाई ३–० को सोझो सेटमा पराजित गर्यो। शिवम न्यू डायमण्डले पहिलो सेट २५–२०, दोस्रोमा २५–७ र तेस्रो सेटमा २५–१५ को जित हात पार्यो।
यस्तै आजै भएको दोस्रो खेलमा विभागीय टिम एपीएफले आईफ्याट बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । एपिएफले पहिलो सेटमा २५–६, दोस्रोमा २५–७ र तेस्रो सेटमा २५–७ को जित हात पार्यो । प्रतियोगितामा सहभागी ७ टिमलाई २ समूहमा विभाजन गरिएको छ ।
भरतपुर–२२ पटिहानीको आधारभूत विद्यालय धनौजीको खेलमैदानमा भइरहेको प्रतियोगिता आगामी फागुन १ गते महाशिवरात्रिको दिनसम्म सञ्चालन गरिने प्रचारप्रसार समिति संयोजक रामहरि सेढाईंले जानकारी दिए।
प्रतियोगिता हेर्नलाई अस्थायी प्याराफिटको व्यवस्था गरिएको छ । त्यसमा बस्नका लागि ५०, १०० र २०० का टिकट व्यवस्था गरिएका छन् ।
प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक तथा भरतपुर महानगरपालिका २२ नम्बर वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने छ ।