नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन्।
आइतबार अपराह्न सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले आफू बोल्ने भन्दा पनि काम गरेर देखाउने पक्षमा रहेको बताए।
विगतमा मन्त्रीहरूले कामभन्दा बोलेर समय बिताउँदा मुलुक बिग्रिएको उनको भनाइ थियो।
नवनियुक्त मन्त्री गुप्ताले मन्त्रालयको टोलीसँग छलफल गरेर मात्र अघि बढ्ने बताए।
उनले भने, “युवाहरूको माग छ, तर राष्ट्रले उनीहरूको कुरा नसुनिरहेको अवस्थामा हामी त्यसलाई एक ठाउँमा ल्याएर कार्यान्वयन गर्ने विषयमा छलफल गर्नेछौँ। पहिला काम गरौँ, काम गरेपछि निर्णयहरू तपाईंहरूको अगाडि प्रस्तुत गर्नेछौँ। कृपया हामीलाई समय दिनुहोला। हाम्रो समय छोटो छ, स्रोत पनि सीमित छ, तर गर्नुपर्ने काम धेरै छ। डेलिभरी गर्नुपर्ने धेरै छ। त्यसैले हामी काममा लाग्छौँ। हामीलाई काम गर्न दिनुहोला। हामीले गरेका काम नियमित प्रस्तुत गर्नेछौँ। बोल्ने मात्र होइन, पहिला काम गरेर देखाउँछौँ। बोल्दैमा सबै बिग्रिएको हो। मैले मेरो टोलीसँग सल्लाह गरेर नेपालमा सम्भाव्य कुरा के छन्, स्रोतहरूको मूल्याङ्कन गर्नेछु। असम्भव कुरा गरेर आशा मार्नुहुँदैन। प्रश्न उठ्छ– जो गए पनि बोल्छ, कराउँछ। यस्तो बोलीले हामीलाई पनि दुख्छ। त्यसैले हामी जति सक्छौँ, काम गर्छौँ। कामको कुरा ब्रिफिङ गर्छौँ, आजचाहिँ गफको ब्रिफिङ हुन्छ।”
यसअघि उनलाई मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साललगायत उच्चपदस्थ कर्मचारीहरूले स्वागत गरेका थिए। —न्युज एजेन्सी नेपाल