नेपालले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको पहिलो चरणको प्रशिक्षण सुरु गर्ने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदको तयारीलाई लक्षित गरी प्रथम चरणको विशेष प्रशिक्षण बुधबारदेखि सुरु गर्ने भएको हो।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले विशेष प्रशिक्षणको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरे।
खेलाडीको क्षमता र कौशल अभिबृद्धि गर्न, वैज्ञानिक विधिबाट प्रशिक्षण प्रदान गर्न तथा नतिजामूलक उपलब्धी हासिल गर्ने उद्देश्यले विशेष प्रशिक्षण सुरु गरिएको हो।
प्रशिक्षणमा विभिन्न २३ खेलका ५ सय १४ खेलाडी र ६६ प्रशिक्षक समावेश छन्। खेलगत समन्वयकर्तालाई पनि सामाग्री हस्तान्तरण गरिएको छ।
यसअघि भदौ २५ देखि असोज ९ सम्म हुने १९ औं खेलकुद हुने भनिएपछि आयोजक चीनले कोडिभ-१९ का कारण अनिश्चितकालका लागि स्थगित गरेको थियो। प्रतियोगिताको नयाँ मिति छिटै सार्वजनिक गरिने बताइएको छ।
यसअघि खेलकुदमा समावेश ३७ मध्ये २३ खेलमा भाग लिने निर्णय भएको थियो।
जसमा एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन, पौडी र सुटिङमा गरेका छन्।