नेपालको देउराली डोजो आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा देउरालीले ५ स्वर्ण, २ रजत र १ कास्य जित्यो।
नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण जितेको भुटान दोश्रो भयो। १ स्वर्ण, ६ रजत र ४ कांस्यमा भारतको टिम एमपीले तेश्रो स्थानमा चित्त बुझायो।
प्रतियोगिताको पुरुषमा नेपालका सुशान्त हुमागाईं तथा महिलामा भारतकी सोनम विकी उत्कृष्ट खेलाडी घोषित भए। सुदूरपश्चिम प्रदेश अनुशासित टिम चुनियो भने मार्च पास्टमा रुपेन्देही अब्बल रह्यो।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसी, आयोजक डोजोका प्रमुख गजेन्द्र खपाङ्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
तीनदिने प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका करिब १ हजार खेलाडीले २६ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ।