रामचन्द्र काफ्ले र गोपाल मोक्तान पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा साइक्लिङ प्रतियोगितामा शनिबार पहिलो भएका छन्।
रामचन्द्र शारीरिक अपाङ्गको एम्पुटी तथा गोपाल कुष्ट रोग प्रभाविततर्फ पहिलो भएका हुन्।
राष्ट्रिय पारा साइक्लिङ संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको शारीरिक अपाङ्गको एम्पुटीतर्फ सुजन भण्डारी दोश्रो तथा कृष्ण गुरुङ तेश्रो भए। कुष्ट रोग प्रभावितमा बाबुलाल शरणले रजत तथा विनोद गैरेले कांस्य जिते।
विजेतालाई नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, राष्ट्रिय पारा साइक्लिङ संघका अध्यक्ष प्रकाश चिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। मण्डिखाटारमा भएको एकदिने प्रतियोगितामा १६ प्रतिस्पर्धी सहभागी थिए।
व्हीलचेयरमा डिगमलाई स्वर्ण
पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा टेबलटेनिस प्रतियोगिताको व्हीलचेयरतर्फ पुरुष सिंगल्समा डिगमसिंह चेम्जोङ शनिबार पहिलो भएका छन्। रमेश खत्री दोश्रो तथा भरतबहादुर कार्की र अर्पण सुनुवार राई तेश्रो भए।
सोही विधाको महिला सिंगल्समा लली तामाङले स्वर्ण, रजनी राईले रजत तथा निर्मला भण्डारी र संगीता माझीले कांस्य जिते।
राष्ट्रिय पारा टेबलटेनिस संघको व्यवस्थापनमा जोरपाटीमा भएको प्रतियोगिताको पुरुष सिंगल्स स्ट्यान्डिङमा विवेक राई पहिलो, स्वीकृत न्यौपाने दोश्रो तथा अजय विक र दीपक नकल तेश्रो बने। उक्त स्पर्धाको महिलामा अस्मिता बूढा, पूजा सोती तथा आशाा हमाल र मेणुका गौतमले क्रमशः शीर्ष तीन स्थान हात पारे।
विजेतालाई राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत सारङगिन निरौलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।