नेपालका सुमन भोलनले आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ८४ केजीमुनि फाइनलमा सुमनले नेपालकै शिभम् श्रेष्ठलाई पराजित गरे। भारतका हरि राम र चैतन्य शर्माले तेश्रो स्थानमा चित्त बुझाए।
प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गर्दै प्रतियोगिताको पहिलो संस्करण पनि आफैले उद्घाटन गरेको स्मरण गरे। उनले खेल क्षेत्र मानविय, सामाजिक र राजनैतिक जीवनमा अत्यन्तै महत्वपूर्ण भएको भन्दै जुनसुकै राष्ट्रको विकासको मापन गर्ने मापदण्ड खेलकुद भएको बताए।
पूर्व प्रधानमन्बी दाहालले कुनै देशको आर्थिक क्षेत्रको विकासको माध्यम पनि खेल क्षेत्र नै भएको बताउदै राष्ट्रिय एकता तथा अन्तराष्ट्रिय भाईचाराको निर्माण गर्ने माध्यम पनि खेल क्षेत्र भएको धारणा व्यक्त गरे। उनले खेलकुद क्षेत्रको विकासका लागि उर्जासिल तथा खेल क्षेत्रमा विज्ञता हासिल गरेका युवाहरुलाई रोज्ने गरेको र त्यसबाट खेलकुदको समग्र विकास गर्दै यसैको माध्यमले आर्थिक र सम्बृद्ध राष्ट्र बनाउनेमा आफु बिश्वस्त रहेको बताए।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले ३६५ दिननै राष्ट्रिय टिम तयारी सञ्चालन गर्ने योजना परिषद्ले बनाएको बताउदै कराते खेलले राष्ट्रको नामलाई उच्च राख्दै आएको बताए। उनले १७ औं एसियाली खेलकुदमा करातेबाट विमला तामाङले राखेको ईतिहासलाई करातेले पुनः कायम गर्ने गरी सम्बन्धित निकायले वातावरण श्रृजना गर्नु पर्नेमा जोड दिए।
नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र भुटान गरी ४ राष्ट्रको सहभागिता रहेको आयोजक डोजोका प्रमुख गजेन्द्रबहादुर खपाङ्गीले जनाएका छन्। विभिन्न २७ स्पर्धामा १ हजार खेलाडी सहभागी भएको बताइएको छ। प्रतियोगिता आइतबार सम्पन्न हुने छ।