नेपालकी रञ्जना धामीले चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि भएको तेक्वान्दो छनोट प्रतियोगितामा बिहीबार कास्य जितेकी छन्।
युएइको सारजाहमा भएको के– ४४ क्याटगोरीअन्तर्गत महिला ४७ केजीमुनि सेमिफाइनलमा काजाकिस्तानकी मिलानाले रञ्जनालाई १८–१६ ले पराजित गरिन्।
शीर्ष दुई स्थानमा रहने खेलाडी मात्र एसियाली पारा खेलकुदका लागि छनोट हुने प्रावधान रहेकोले रञ्जना छनोट भने नभएको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन्।
अर्का खेलाडी रामबहादुर अधिकारी पहिलो चरणमै पराजित भए। के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि रामबहादुर इराकका अब्बास हुसैनसंग ३३–३७ ले चुके।
पारा ओलम्पियन पलेशा गोबर्धन र सिर्जना घिसिङ भने विश्व वरीयताका आधारमा यसअघि नै पारा एसियाली खेलकुदका लागि छनोट भइसकेको प्रशिक्षक लामाले जानकारी दिए।