१३ औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाउन सफल खेलाडी सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषद्मा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरिएको छ।
चौधरीको पार्थिव शरिरमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले फूलमाला अर्पण गर्दै अन्तिम श्रद्धान्जली दिए।
यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाएर श्रद्धान्जली ब्यक्त गरे।
यस्तै राखेपका विभागिय प्रमुखहरु, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरु, खेलाडी तथा खेलकर्मीहरुले श्रद्धान्जली दिए।
बाँकेबाट भारोत्तोलन खेल्ने सञ्जुको दाहसंस्कार गृह जिल्लामा गरिने भएकाले पार्थिव शरिर शववहानमा हालेर त्यतै लगिनेछ।
सञ्जुको मंगलबार निधन भएको हो। ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुमा भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरको कोठाको सिलिङको फ्यानमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो।
नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार उनी एसियाली खेलको छनोटको तयारिका लागि प्रशिक्षक महर्जनकै घरमा बसिरहेकी थिइन्।
गत वैशाख १६ गते छनोट भएपछि उनी प्रशिक्षणका लागि सञ्जयसँगै रंगशाला जाने गरेको श्रेष्ठले बताए।
यो पनि : एसियाली खेलकुदबाट बुवालाई अर्को ‘सरप्राइज’ दिने योजनामा थिइन् सञ्जु