७३ राष्ट्रका ३१० खेलाडीहरूको सहभागिता रहेको आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुष्मा तामाङले मंगोलियाकी खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएकी छिन्।
टर्कीमा हुने प्रतियोगितका लागि आज भएको ड्रअनुसार ४६ देखि ४८ किलो तौल समूहमा नेपालकी सुष्माले मंगोलियाका लान्चिव योनसँग भोलि बेलुका प्रतिष्पर्धा गर्ने भएकी हुन्। यो तौल समुहमा जम्मा ३२ जना खेलाडी रहेका छन्।
त्यसैगरी ५० देखि ५२ किलो तौल समूहमा २८ वटा देशका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। यो तौल समूहमा नेपालका मिनु गुरुङले जापानका आर किनोशितासंग पर्सि प्रतिस्पर्धा गर्नेछिन्।
५४ देखि ५७ किलो तौल समूहमा नेपालका चन्द्रकला थापाले बाइ पाइन्। अब उनले भारतीय खेलाडी मनिसासँग ११ मईमा प्रतिस्पर्धा गर्ने सुनिश्चितता गरेकी छन्।
५७ देखि ६० किलो तौल समुहमा ३१ राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको तौल समुहमा नेपाली खेलाडी पुनम रावलले प्रारम्भिक चरणमा बाइ पाएकी छिन्। उनको प्रतिस्पर्धा ग्रिस र मोरक्कोविचको विजेतासँग १५ मईमा हुनेछ।