ब्रिटेनकी १८ वर्षीया टेनिस खेलाडी इमा रडुकानुले युएस ओपन टेनिसको महिला एकलतर्फको उपाधि जितेकी छिन्।
शनिबार राति भएको उपाधि भिडन्तमा इमाले क्यानडाकी लेइला फर्नान्डेजलाई सोझो सेटमा पराजित गरिन्।
न्युयोर्कमा खेलमा इमाले १९ वर्षीया फर्नान्डेजलाई ६-४ र ६-३ ले पराजित गर्दै पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि उचालिन्।
इमाले ब्रिटेनका लागि ४४ वर्षपछि महिलातर्फ ग्रान्डस्लामको उपाधि जित्न सफल भएकी हुन्। पछिल्लो पटक ब्रिटेनका लागि भर्जिनिया वेडले सन् १९७७ मा विम्बल्डन टेनिसको उपाधि जितेकी थिइन्।
सन् २००४ पछि ग्रान्डस्लामको उपाधि जित्ने उनी सबैभन्दा कान्छि खेलाडी बनिन्।
युएस ओपनको उपाधिसँगै उनले २.४ मिलियन अमेरिकी डलर (२९ करोड ३० लाख रुपैयाँ) नगद पुरस्कार पाएकी छिन्।
रोमानियन बाबु र चाइनिज आमाकी सन्तान इमाको जन्म क्यानडामा भएको थियो।
उनी २ वर्षको हुँदा उनका आमाबुबा कामको सिलसिलामा इंग्ल्यान्ड गएका थिए। त्यसयता उनीहरू इंग्ल्यान्डमै बस्दै आएका छन्। इमाले ५ वर्षको उमेरदेखि टेनिस खेल्न थालेकी थिइन्।