नेपाल ओलम्पिक कमिटीको साधारणसभा तथा निर्वाचनलाई अन्तर्राष्ट्रिय मान्यता नदिएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) पठाएको पछिल्लो पत्रले फेरि पुष्टि गरेको छ।
ओसिएले निलेन्द्राज श्रेष्ठलाई महासचिवको हैसियतमा पत्र लेखेसँगै जीवनराम तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएको ओलम्पिक कमिटीको निर्वाचनलाई अन्तर्राष्ट्रिय मान्यता नभएको पुष्टि भएको हो।
नेपाल ओलम्पिक कमिटीको विवाद समाधानको जिम्मा पाएको ओसिएले सोमबार निलेन्द्रराज श्रेष्ठलाई आगामी मार्च पहिलो साता कुवेतमा निमन्त्रणा गरेको हो।
ओसिएले आगामी मार्च ५ मा छलफलका लागि अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिवको हैसियतमा निलेन्द्रलाई पत्र पठाएको छ।
सो बैठकमा नेपाल ओलम्पिक कमिटीको विवाद समाधानका लागि सरोकारवालासँग छलफल हुने बताइएको छ।
निलेन्द्र र जीवनरामलाई एउटै ब्यहोराको पत्र पठाइएको छ।
यसअघि दुई कार्यकाल अध्यक्ष भएका जीवनराम श्रेष्ठले आफू तेस्रो कार्यकाल अध्यक्ष बन्न पाउने गरी विधान संशोधन गराउन साधारण सभा बोलाएका थिए।
लगत्तै उनी तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका थिए। सधारणसभा र निर्वाचन दुवै अवैधानिक भएको भन्दै अदातलमा मुद्दा परेको थियो। दुवै मुद्दामा अदालतले प्रक्रिया अघि नबढाउने आदेश दिएको थियो। तर जीवनराम अदालतलाई अटेर गर्दै अघि बढेका थिए।
यो प्रक्रिया निलेन्द्रराजले विरोध गरे पनि अध्यक्षको निर्वाचन लडेका थिए। निर्वाचनमा उनी जीवनरामसँग पराजित भएका थिए। उनी यसअघि ओलम्पिक कमिटीको महासचिव थिए।
यो विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओसिएमा उजुरी परेपछि दुवै संस्थाले चासो व्यक्त गरेको थिए। गत शुक्रबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ओसिएलाई विवाद समाधानका लागि जिम्मेवारी दिएको थियो। त्यसपछि ओसिएले विवाद समाधन गर्न कुवेतमा छलफल गर्न लागेको हो।