युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा रन्जना प्रधानलाई नियुक्त गरेका छन्।
प्रधान कुपन्डोलस्थित नाइटिङगेल इन्टरनेसनल सेकेन्डरी स्कुलकी प्रिन्सिपल हुन्। सो स्कुलको संस्थापक तथा अध्यक्ष खेलकुद मन्त्री तेजुलाल चौधरी हुन्।
मन्त्रीले सोमबार मन्त्रीस्तरीय निर्णयबाट प्रधानलाई बोर्ड सदस्य नियुक्त गरेका हुन्। प्रधानसँगै सोमबार विदुर ढुंगानालाई पनि सदस्य नियुक्ति गरिएको छ।
आफ्नै स्कुलकी प्रिन्सिपललाई बोर्ड सदस्य नियुक्त गरेपछि आलोचना खेपेका मन्त्रीले प्रधान नेपाल ओलम्पिक कमिटीको स्पोर्ट्स फर अल कमिसनमा भएको बताउँदै क्षमता प्रश्न नउठाउन आग्रह गरेका छन्।
मन्त्रीले सदस्य नियुक्त गरेपछि दुवै जनालाई सोमबार राष्ट्रिय खेलकुद परिषदमा स्वागत गरिएको थियो।
राखेप बोर्डमा आफू निकटलाई सदस्य नियुक्त गर्नु कुनै नौलो भने होइन। यसअघि मन्त्रीहरूले पाटीगत भागभन्डाका आधारमा सदस्यहरु नियुक्त गर्दै आएका छन्। खेलकुदको अनुभवभन्दा पनि पार्टीको सदस्यताको आधारलाई बढी प्राथमिकता दिने गरिएको छ।