राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले त्रिपुरेश्वरस्थित राखेपभित्र नेसनल ट्रेनिङ सेन्टर र बाह्रै महिना खेलाडीले प्रशिक्षण गर्न पाउने किसिमले कभर्डहल निर्माण प्रक्रिया अगाडि बढेको बताएका छन्।
बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा काभा महिला भलिबल लिगमा रजत पदक विजेतालाई सम्मान गर्न आयोजित कार्यक्रममा राखेप सदस्यसचिव घिसिङ दीर्घकालीन रूपमा हुने कभर्डहल र नेसल ट्रेनिङ सेन्टर स्थापानका लागि प्रक्रिया अगाडि बढेको बताए।
उनले नेसनल ट्रेनिङ सेन्टरका लागि यसै वर्ष बजेट विनियोजना भइसकेको र छिट्टै निर्माण कार्य आरम्भ हुने विश्वास व्यक्त गरे।
सातादोबाटोमा पनि फिटनेस सेन्टर बनाउने कार्यका लागि खरिद प्रक्रिया पनि अगाडि बढेको राखेप सदस्यसचिव घिसिङको भनाइ छ।
उनले खेलकुदलाई विज्ञानसँग जोडेर स्पोर्ट्स साइन्स ल्याबको कार्ययोजना अघि बढाइएको र यसको एकीकृत कार्ययोजनाको बीचबाट अर्को पटक काभामा महिला भलिबलमा च्याम्पियन बन्ने लक्ष्य राख्ने धारणा राखे।
राखेप सदस्यसचिव घिसिङ अब खेलाडीले प्राप्त गर्ने पुरस्कारसम्बन्धि ठोस कानून नै बनेको र यसले गर्दा खेलाडीले समयमा पुरस्कार प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे। खेलकुद विकास नियमावली पास भएपछि अहिले धेरै खेलाडी समयमा नै पुरस्कार पाउन थालेको सदस्यसचिव घिसिङले बताए।
नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले सातै वटै प्रदेशमा प्रादेशिक कभर्डहल र केन्द्रमा पाँच हजार दर्शक क्षमताको कभर्डहल निर्माणका लागि संघले पहल गरिरहेको बताए। सोहीअनुरूपमा राखेपले पनि भलिबलको कभर्डहल निर्माणका लागि तीन सदस्यीय समिति पनि गठन भैसकेको संघका महासचिव श्रेष्टले बताए।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले राखेप, युवा तथा खेलकुद मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद दिँदै यो सम्मानले आगामी दिन अझै राम्रो गर्ने जिम्मेवारी प्राप्त भएको बताइन्। उनले देशको नाम अन्तर्राष्ट्रियस्तर चिनाउन आफ्नो टोलीले थप मेहनत गर्ने समेत उल्लेख गरिन्।
—न्युज एजेन्सी नेपाल