स्टार स्ट्राइकर लिओनल मेसीले यूरोपियन च्याम्पियन्स लिगमा आफ्नो १ सय गोल पूरा गरेका छन्। बुधबार राती बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको च्याम्पियन्स लिगअन्तर्गत समूह ‘डी’ तर्फको खेलमा उनले ६१ मिनेटमा गोल गर्दै आफ्नो एक सयऔँ गोलको कीर्तिमान रचे।
१० खेलाडीमा सिमित बार्सिलोनाले ओलम्पियाकोसलाई ३–१ ले पराजित गर्यो। स्टार डिफेन्डर गेरार्ड पिके विपक्षी डिबक्स भित्र हातले गोल हानेको आरोपमा ४२ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भए। दोस्रो हाफको पूरै खेल बार्सिलोनाले १० खेलाडीमा सिमित भएर खेल्नु पर्यो।
बार्सिलोनाले पहिलो गोल १८ मिनेटमा डिमिट्रिस निकोलाउको आत्मघाती गोलबाट उपहार पाएको थियो। दोस्रो हाफमा मेसीले आफ्नो अस्वभाविक खेलले पुनः सबैलाई चकित पारे। उनले फ्रिकिकमार्फत गोल गर्दै विपक्षी टोलीलाई हतोत्साही पारे। डिबक्स नजिकैबाट उनले प्रहार गरेको फ्रिकिक ओलम्पियाकोसका गोलकिपरको ग्लोब्समा लागेर गोल भएको थियो। अर्को गोल ६४ मिनेटमा मेसीकै पासमा लुकास डिग्नेले गरे।
यससँगै बार्सिलोनाले आफ्नो तीन वटै खेल जितेको छ। यही समूहको अर्को खेलमा यूभेन्टसले मारियो मान्डजुकिकको गोलको सहयोगले स्पोर्टिङ लिस्बनलाई २–१ गोलले पराजित गरेको छ। युभेन्ट्स ३ मध्ये २ खेल जितेर ६ अंकका साथ दोस्रो स्थानमा उक्लियो।