विश्व फुटबल संघ (फिफा) वरियतामा नेपाल एक स्थान तल खस्किँदै १७६औं स्थानमा पुगेको छ।
दक्षिण एशियाली देशहरूमध्ये सबैभन्दा अगाडि रहेको भारत दुई स्थान माथि उक्लिँदै १०५औं स्थानमा पुगेको छ। नेपाल भारतभन्दा ७१ स्थान पछाडि परेको छ।
अर्को दक्षिण एशियाली राष्ट्र अफगानिस्तान ४ स्थान माथि उक्लिँदै १५४ औं स्थानमा पुगेको छ। गत महिना १५४औं स्थानमा रहेको माल्दिभ्स भने दुई स्थान तल झर्दै १५६औं स्थानमा पुगेको छ।
भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान भने नेपालभन्दा पछाडि छन्। भुटान १९०, बंगलादेश १९६, श्रीलंका १९८ र पाकिस्तान २०१औं स्थानमा छन्।
विश्व वरियताको पहिलो नम्बरमा भने जर्मनीले आफ्नो स्थान कायमै राखेको छ। गत महिना शीर्ष ६ स्थानमा रहेका टोलीहरू सबैले आफ्नो स्थान सुरक्षित गरेका छन्। जर्मनीपछि दोस्रोमा ब्राजिल, तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना, पाँचौमा बेल्जियम र छैटौं नम्बरमा पोल्याण्ड छन्।
एक स्थान माथि उक्लिँदै फ्रान्स सातौं नम्बरमा पुगको छ। तीन स्थान फड्को मारेको स्पेन आठौं नम्बरमा पुगेको छ। नवौं नम्बरमा चिली र दशौंमा पेरू छन्।