एशियन कप छनोट प्रतियोगितामा आज नेपालले ताजिकिस्तानसँग उसकै घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ।
नेपाली समयअनुसार साँझ पौने ७ बजे हुने खेल ताजिकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा हुने छ।
ताजिकिस्तान आज नेपालमाथि दोस्रो जीत निकाल्दै छनोट सम्भावना बलियो बनाउने दाउमा हुने छ। नेपालले भने ताजिकिस्तानविरूद्ध हारको बदला लिँदै छनोटको सम्भावना जिवित राख्ने लक्ष्य लिएको छ।
खेलअघि सोमबार भएको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक ग्योतोकु कोजीले नेपाल जीतका लागि मैदानमा उत्रिने बताए। 'एएफसी कपमा छनोट हुने सम्भावना जिवित राख्ने हामीलाई जीत आवश्यक छ,' उनले भने, 'हामी ३ अंकका लागि खेल्ने छौँ।' उनले नेपालले एक महिनाअघि ताजिकिस्तानसँग व्यहोरेको हारको बदला लिने पनि दाबी गरे।
भदौ २० गते काठमाडौंमा भएको खेलमा नेपालले घरेलु मैदानमै २-१ को हार व्यहोरेको थियो। आजको खेलमा नेपालको कप्तानी विराज महर्जनले सम्हाल्ने छन्। समूह एफमा नेपाल एक अंकसहित अंक तालिकाको पुछारमा छ। नेपालले अहिलेसम्म खेलेका तीन खेलमध्ये एकमा बराबरी र दुईमा हार व्यहोरेको छ।
ताजिकिस्तान भने भदौ २० को खेलमा नेपाललाई हराउँदै ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। अन्य दुई खेलमा उसले पनि हार व्यहोरेको छ। यो समूहमा ७ अंक भएको फिलिपिन्स पहिलो स्थानमा र ५ अंक भएको यमन दोस्रो स्थानमा छन्। सबै टोलीले अहिलेसम्म ३-३ खेल खेलेका छन्। समूहका शीर्ष दुई टोलीले एशियन कप छनोट खेल्न पाउँछन्।