नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सोमबार छिमेकी प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ।
खेल भारतको सिलोङमा हुन लागेको हो। फिफा विन्डोमा हुन लागेको यो खेललाई अन्तर्राष्ट्रिय मान्यता रहेको छ। नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू हुने खेल फिफा+ बाट प्रत्यक्ष प्रशारण हुनेछ।
खेलका लागि नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ। अघिल्लो खेल खेलका गोलकिपर अन्जिला तुम्बापो सुब्बा, डिफेन्डर हिराकुमार भुजेल र निशा थोकर आजको खेलको पहिलो रोजाइमा छैनन्। आज अन्जना रानामगर, मनमाया दमाई र दीपा शाही पहिलो रोजाइमा परेका छन्।
नेपाली टोली : अन्जना रानामगर (गोलकिपर), पूजा राना, विमला विक, समिक्षा घिमिरे, मनमाया दमाई, रेनुका नगरकोटे, प्रिति राई, दीपा शाही, सविता राना मगर, रेखा पौडेल, सावित्रा भण्डारी साम्बा (कप्तान)।
यसअघि पहिलो खेलमा नेपालले इरानसँग हार ब्यहोरेको थियो। भारतको सिलोङमा इरानसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३-० ले पराजित भएको थियो।
पहिलो खेलको दोस्रो हाफमा सम्हालिन नसकेका कारण पराजित हुन पुगेको नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको भनाइ छ। भारतविरूद्ध खेल सुधार गर्दै जितका लागि प्रतिस्पर्धा गर्ने साम्बाले बताइन्।
नेपाल र भारतको महिला फुटबल टोलीबीच एक वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो।
एक वर्षअघि काठमाडौंको दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिडेका थिए।
सो खेलको निर्धारित समयको खेल एक एक गोलको बराबरीमा सकिदा पेनाल्टी सुटआउटमा नेपाल ४-२ ले विजयी भएको थियो।
नेपाल र भारतको महिला फुटबल टोलीबीच अहिलेसम्म १८ खेल भएका छन्। जसमा नेपाल २ खेलमा मात्र विजयी भएको छ भने भारतले ११ खेल जितेको छ। ५ खेल बराबरीमा सकिएका छन्।