मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै थ्री स्टार क्लब रूपन्देहीमा जारी २० औं तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
देवीनगरस्थित एन्फा खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाईनलमा थ्रिस्टारले मनाङलाई २-१ गोल अन्तरमा हराउँदै उपाधिका लागि पुलिससँगको भेट पक्का गरेको हो।
मनाङका लागि बिदेशी खेलाडी फ्लोरेन्टले खेलको २३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि मनाङको अग्रता धेरै समय टिकेन। थ्रीस्टारका लागि खेलको २५ मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
निराजन खड्काले खेलको ३९ औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई पहिलो हाफमै अग्रता दिलाए।
दोस्रो केही आक्रमक खेल खेलेको मनाङले गोल गर्न नसकेपछि खेलमा फर्कन सकेन।
दोस्रो हाफमा गोल गर्ने प्रयास गरेपनि मनाङले केही सुवर्ण अवसरहरु गुमायो । खेलको ७७ औं मिनेटमा विमल राणाले ६ यार्ड बक्स नजिकबाट गोल गर्ने अवसर पाएपनि उनको प्रहारले थ्री स्टारका किपर एलेन न्यौपानेलाई बिट गर्न सकेन। त्यस्तै ८८ औं मिनेटमा विशाल राईले प्रहार गरेको फ्री किक पोस्ट माथिबाट बाहिरिएपछि थ्री स्टारको जित पक्का भएको हो ।
बिहीबारको खेलमा थ्रीस्टारका बुद्ध चेम्जोङ म्यानअफदी म्याच भए।
यो वर्ष थ्री स्टारसँगको तेस्रो भेटमा मनाङ तीन पटक नै पराजित भएको हो । माघ १३ गते मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेका यी दुई टोलीको त्यसपछि चितवनमा भेट भएको थियो ।
डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गरेको थ्री स्टार क्लबको यो छैटौं फाइनल हुनेछ । यसघि ५ फाइनल खेलेको थ्री स्टारले २ मा उपाधि जित्न सफल भएको थियो ।
यसअघि नेपाल पुलिस आयोजक रूपन्देही एघारलाई सडन डेथमा हराउँदै फाईनलमा पुगिसकेको छ।
फाईनल खेल शनिबार हुनेछ। विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ र उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।