बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप अन्तर्गत शुक्रबार कास्की ११ लाई हराउँदै फ्रेन्ड्स क्लब काठमाडौं क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
रूपन्देही फुटवल संघको आयोजनामा एन्फा टेक्नीकल सेन्टर बुटवलमा जारी प्रतियोगितामा कास्की ११ लाई १ शून्य गोल अन्तरले पराजित गर्दै फ्रेन्डस् क्लवले अन्तिम आठमा पुगेको हो।
फ्रेन्ड्सका लागि एक मात्र निर्णायक गोल खेलको २९ औं मिनेटमा विदेशी खेलाडी जोनल ग्लोरीले गरे। सेन्टर बलबाट वान भर्सेस वानमा जोनलले बल लैजादै जाली चुमाएका थिए ।
एक गोलपछि आक्रमक प्रस्तुत भएको कास्कीले केही महत्वपूर्ण अवसर पाए पनि गोल गर्नबाट चुक्यो । खेल अवधिभर कास्कीले ३ वटा फ्रि कीक पाए पनि अञ्जन देवकोटाले गोल गर्न नसक्दा कास्की ११ प्रतियोगिताबाटै बाहिरियो ।
प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, डिफेन्डिङ च्याम्पियन, सीएमजी संकटा, थ्रीस्टार, मनाङ मस्र्याङदी, फ्रेन्ड्स क्लब, आयोजक रुपन्देही ११, र सुदूरपश्चिम ११ रहेका छन् ।
प्रतियोगिता अन्तर्गत शनिबार पहिलो क्वाटरफाईनल खेलमा रुपन्देही ११ र नवलपरासी ११ का बीच प्रतिस्पर्धा हुनेछ।