नेपाल पुलिस क्लब धरानमा जारी २०औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार धरान टेक्निकल सेन्टरमा भएको तेस्रो क्वार्टरफाइनलमा काकडभिट्टालाई २-० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।
पुलिसलाई जिताउन सुमन लामाले गोल गरे। अर्को गोल झापाली टिमले उपहार दिएको थियो।
खेलको २०औं मिनेटमा काकडभिट्टाका विकास थुलुङले आफ्नो पोस्टमा गोल गरेपछि पुलिसले १-०को अग्रता लियो। पहिलो हाफ १ गोलले अघि रहेको पुलिसका लागि म्यान अफ दी म्याच लामाले खेलको ६४औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे।
त्यसपछि खेलमा गोल भएन र पुलिस २-०ले विजयी हुँदै सेमिफाइनलमा काठमाडौकै क्लब संकटासँग बुधबारको भेट पक्का गर्यो।
लामाले नगद रू १० हजारसमेत पुरस्कार पाए।
भोलिको अन्तिम क्वार्टर फाइनलमा थ्रिस्टार क्लबले सुदूरपश्चिम स्पोर्टिङ क्लबको सामना गर्नेछ। पुलिस आहा गोल्डकप जितेको दुई दिन पछि बुढासुब्बाको अन्तिम चारमा पुगेको हो ।
धरान फुटबल क्लबको आयोजनामा भइरहेको खेल माघ २७ गतेसम्म चल्नेछ। प्रतियोगितामा एक विदेशी टोलीसहित ८ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले नगद ३ लाख रुपैयासहित ट्रफी पाउनेछ। सर्वोकृष्ट खेलाडीले यामाहा कम्पनीको बाइक प्राप्त गर्नेछन्।