दार्चुलाका भरतसिंह महरा फ्रान्सको पेरिसमा हुने पारालम्पिक खेल्ने सपना पूरा गर्न श्रीमती र छोराछोरी लिएर काठमाडौं आएका छन्।
चार दिन यात्रा गरी उनीहरू काठमाडौं आएका हुन्। अहिले उनीहरू कीर्तिपुरमा अस्थायी घर भाडामा लिएर बसिरहेका छन्।
कीर्तिपुरमै उनले एउटा गाई फार्म बनाएका छन्। जहाँ उनले परिश्रम गर्छन्। ऋण तिर्न नसकेर उनकी आमाले आफ्नो गहना पनि बेचेकी थिइन्। तर त्यसले पनि तिर्न नसकेपछि अहिले उनी गाई फार्म सञ्चालन गर्दैछन्।
उनको एउटा सपना छ- पारालम्पिकमा पदक जितेको दिन घर बनाउने।
‘मैले पारालम्पिकमा पदक जितेको दिन एउटा घर बनाउँछु वा कम्तिमा मेरो परिवारको लागि उपयुक्त घर भाडामा लिनेछु,’ उनले भने।
उनी हरेक दिन बिहान ४ बजे उठ्छन्।
जीविकोपार्जन र छोराछोरीलाई पढाउन उनी दूध बेचेर आम्दानी गर्छन्।
भरतसिंहको एउटा हातको हत्केला छैन। हत्केला नहुँदैमा आफूलाई कमजोर ठान्दैनन् उनी तर कहिलेकाहीँ स्कुल पढ्दाको घटना सम्झेर दुःखी हुन्छन्।
त्यतिबेला आफ्नो शारीरिक अवस्थालाई लिएर शिक्षकले नै कक्षाकोठामा हासिमजाक गर्दा आफूलाई अपमानित महशुस भएको उनी बताउँछन्।
‘एक दिन म आफ्ना लागि केही राम्रो गर्नेछु भन्ने त्यतिबेला नै सोचेका थिएँ,' उनले भने।
त्यसपछि उनले पढाइ छाडे र तेक्वान्दोतिर लागे।
हाल २७ वर्ष भएका उनी भरतसिंह पछिल्लो १५ महिनादेखि पारालम्पिक खेल्न राष्ट्रिय टोलीसँग प्रशिक्षण गरिरहेका छन्।
उनले ताइवान, चीन र भियतनाममा पेरिस पाराओलम्पिकका लागि एसियाली छनोटमा प्रतिस्पर्धा गरिसकेका छन्। उनको तेक्वान्दो खेल्ने इच्छा शक्तिले प्रशिक्षक कविराज गोवर्धनको ध्यान तानेको थियो। उनको इच्छाशक्ति देखेर प्रशिक्षक कविराजले उनलाई नि:शुल्क प्रशिक्षण दिन प्रस्ताव गरे।
डेढ वर्षमा, भरतसिंहले अन्तर्राष्ट्रिय खेलहरू जितिसकेका छ्न् र पेरिस पारालम्पिकका लागि वाइल्ड कार्ड कोटा सुरक्षित गर्यो। यद्यपि पदकका लागि उनी तयारी गरिरहेका छन्।
भरतसिंहले नेपाल तेक्वान्दो संघलाई बास र खाना उपलब्ध गराएकोमा र राष्ट्रिय खेलकुद परिषद्को सहयोगप्रति आभार प्रकट गरे।
‘उनीहरूले मेरो हेरचाह गरेका छन् र धेरै राम्रो गरेका छन्,’ उनी भन्छन्।
अर्का पारा-तेक्वान्दो खेलाडी पलेशा गोवर्धन चीनमा भएको एसियाली छनोट प्रतियोगितामा स्वर्ण पदक जितेर सन् २०२४ मा हुने पेरिस पाराओलम्पिकका लागि छनोट भएकी छिन्। यो कोसेढुंगा हासिल गर्ने उनी पहिलो नेपाली पारा–एथलिट हुन्।
बायाँ हत्केला नभएकी पलेशाले २० वर्षको उमेरमा विश्वभरका खेलाडीहरूलाई पराजित गर्दै धेरै पदकहरू जितिसकेकी छिन्। उनले १३ वर्षको उमेरमा खेलकुद यात्रा सुरू गरेकी थिइन्।
उनी अथक ऊर्जा र घरमा पारालम्पिक पदक ल्याउने सपनाका साथ प्रशिक्षण गरिरहेकी छन्।
पलेशा चीनमा आर्किटेक्चर पढ्दैछिन्। हाल उनी आफ्नो प्रशिक्षणका लागि ६ महिना बिदा लिएर काठमाडौं आएकी छन्।
विद्यालय जीवनमा उनी बिहान ५ बजेदेखि ७:३० बजेसम्म सातदोबाटो खेलकुद कम्प्लेक्समा तालिम लिएको सम्झिन्छिन्। सानैदेखि उनी तेक्वान्दोमा प्रतिबद्ध थिइन्।
उनका आमाबुवाले उनलाई सधैँ साथ दिएका छन्। उनलाई पढ्न, चित्र बनाउन र लेख्न मनपर्छ।
पलेशा सम्झन्छिन्, ‘मलाई मार्सल आर्टमा सधैँ रुची थियो, विद्यालयमा अवसर आएपछि ग्रहण गरें। त्यतिबेला मलाई अरू विद्यार्थीभन्दा फरक महसुस पनि भएन।’
उनी थप्छिन्, ‘फुटबल र बास्केटबल बुझ्न सजिलो छ, त्यसैले तिनीहरूसँग धेरै दर्शकहरू छन्। तेक्वान्दोमा धेरै दर्शकहरू नभए पनि मैले सक्दो गरेँ भने मेरो प्रशंसा हुनेछ जस्तो मलाई लाग्छ। मेरा धेरै साथीहरूलाई आर्थिक अस्थिरताको डर छ। यदी सरकार खेलाडीहरूलाई आर्थिक रूपमा मद्दत गर्न इच्छुक भएको भए, हामीले राम्रो नतिजा र विश्वव्यापी मान्यता पाउने थियौं।’
नेपालमा पूर्ण-समय एथलिट बन्नको लागि वातावरण अझै पनि धेरै कारणले, सम्भवतः राजनीतिक वा कोषको अभावले उपयुक्त छैन। जसकारण आफूले आर्किटेक्ट इन्जिनियरिङ पढिरहेको उनी बताउँछिन्।
प्रशिक्षक कविराज नेगी लामाले सन् २०१५ देखि नेपाली पारा तेक्वान्दो टोलीलाई १० अन्तर्राष्ट्रिय पदक जिताउनको लागि प्रशिक्षण दिइरहेका छन्।
टोकियो सन् २०२० पाराओलम्पिकमा पदक नजिते पनि टोलीको दृढ संकल्प अटल छ। नेपाली जनताको आशीर्वादले पेरिसमा देखेका सपनालाई यथार्थमा परिणत गर्ने लक्ष्य राखेका छन्।
नेपाल तेक्वान्दो संघले २०१३ मा पारा तेक्वान्दो खेल्न थालेको थियो। त्यसयता नेपालले २१ अन्तर्राष्ट्रिय पदक जितेको छ। तर ओलम्पिकमा कुनै पनि पदक जित्न सकेको छैन।
प्रशिक्षक कविराजले पलेशाको उपलब्धि र भरतसिंहको प्रतिबद्धतामा ठूलो गर्व महसुस गर्छन्। सीमित स्रोतसाधनका बाबजुद पलेशाले दक्ष अन्तर्राष्ट्रिय खेलाडीलाई पराजित गरेको छ।
उनको दृढ संकल्पले एक बलियो र अटूट आत्मा देखाएको र संसारभरि सबैलाई प्रेरणा दिएको प्रशिक्षक कविराज बताउँछन्।
तस्बिर: नेपाल फोटो लाइब्रेरी