गत साता कोको गउफले युएस ओपन टेनिसको महिला एकलको उपाधि जितेको केही समयपछि सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भयो।
११ वर्षको उमेरमा कोकोले न्युयोर्कको आर्थर एश रंगशालामा नाचिरहेको भिडिओ भाइरल भएको थियो। ८ वर्षअघि रंगशालामा नाचेकी उनै अमेरिकी किशोरीले त्यही रंगशालामा पहिलो ग्रान्डस्लामको ट्रफी उचालेकी थिइन्।
कोकोले १९ वर्षको उमेरमै पहिलो ग्रान्डस्लाम उपाधि जितेपछि अमेरिकाभर खुसीयाली छाएको थियो। सेरेना विलियम्स र भेनस विलियम्सपछि अमेरिकामा नयाँ टेनिस स्टार जन्मिएको भन्दै अमेरिकाका पूर्वराष्ट्रपतिदेखि सेलिब्रिटीले सामाजिक सञ्जालमा खुसी साटे।
सन् २०१९ को विम्बल्डन टेनिस खेल्दा कोको १५ वर्षकी थिइन्। १५ वर्षको उमेरमा लन्डनमा उत्कृष्ट खेल देखाएर उनले सनसनी मच्चाएकी थिइन्।
उनले त्यतिबेला नाम चलेका खेलाडीलाई आच्छुआच्छु पारेकी थिइन्। अन्तिम १६ सम्मको मात्र यात्रा तय गरे पनि कोकोलाई त्यतिबेला नै भविष्यको ग्रान्डस्लाम च्याम्पियनको रूपमा लिइएको थियो।
विम्बल्डनमा चार वर्षअघि आफ्नो क्षमता देखाएकी कोकोले गत साता युएस ओपनको उपाधि जितेर सबैको ध्यान खिचिन्।
उनी सन् १९९९ मा सेरेना विलियम्सपछि युएस ओपन जित्ने पहिलो अमेरिकी किशोरी बनेकी छन्। उनले उपाधि जितेपछि न्युयोर्कको अर्थर एस रंगशालाबाहिर हजारौंको भीडले उत्सव मनाएको थियो भने त्यो उत्सवको सञ्चार देशभर फैलिएको थियो।
गत जुलाईमा विम्बल्डनमा पहिलो चरणबाटै बाहिरिएपछि कोकोले आफ्नो लयलाई फर्काउन सफल भएकी थिइन्। उनले युएस ओपनको फाइनलमा आर्यना सबालेन्कामाथि पुनरागमन जित पारेकी थिइन्। पहिलो सेट ६-२ ले गुमाए पनि त्यसपछि खेलमा फर्किएकी उनले ६-३ र ६-२ ले खेल जितिन्।
उनले आफ्नो ग्राउन्डस्ट्रोकमा आत्मविश्वास फर्काएकी थिइन्। सुरुमा आफूले राम्रो खेल्न नसके पनि खेलमा फर्कन सकिन्छ भन्ने उदाहरण पेश गरेकी थिइन्।
कोकोले अविश्वसनीय रुपमा आफ्नो शारीरिक क्षमता प्रस्तुत गर्दा विपक्षी खेलाडीले गल्ती दोहोर्याएकी थिइन्।
विम्बल्डन पराजयपछि उनले आफ्ना पछिल्ला १९ खेल मध्ये १८ जितेकी थिइन्। साबालेन्कालाई युएस ओपनको फाइनलमा हराएपछि उनको लगातार जित हात पारेको खेल संख्या १२ पुगेको थियो।
‘मलाई विश्वास नगर्ने मानिसहरूलाई म 'धन्यवाद' भन्न चाहन्छु,’ कोकोले उपाधि जितपछि आलोचकलाई जवाफ दिएकी थिइन्, ‘एक महिनाअघि मैले वासिङटनमा उपाधि जित्दा म त्यहिँ नै रोकिने भनिएको थियो। तर मैले दुई साताअघि सिनसिनाटीमा पनि उपाधि जिते। मानिसहरुलाई त्यो नै मेरो ठूलो उपाधि भनेका थिए।’
यतिमै उनी रोकिइनन्, अघि भनिन्, ’तीन सातापछि अहिले यो ट्रफीको साथ यहाँ छु। मैले अनुग्रहका साथ अगाडि बढ्न सक्दो प्रयास गरें। तपाईंहरूले मेरो आगोमा पानी हाल्दै हुनुहुन्छ भने त्यो भ्रम हो, वास्तवमा तपाईंले यसमा ग्यास थप्दै हुनुहुन्छ।’
आलोचना र रंगभेदको विरूद्धमा कहिले बोलेरै र कहिले खेलमार्फत् आफ्नो आगो ओकल्ने गरेकी कोकोलाई अहिले ‘एक महान् च्याम्पियन’ को संज्ञा दिइएको छ। सफलतापछि उनको प्रशंसामा अमेरिकाको मिडियामा दर्जनौं अर्टिकल छापिएका छन्।
उनको प्रशंसा गर्नेमध्येमा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा पनि छन्। ओबामाले सामाजिक सञ्जालमा बधाई दिँदै भनेका छन्- हामीलाई थाहा छ, तपाईंको उत्कृष्ट खेल आउन अझै बाँकी छ।
सन् २०१७ को युएस ओपन च्याम्पियन स्लोनी स्टीफन्सले कोकोलाई ‘अद्भूत’ भनेकी थिइन्। बक्सिङ लिजेन्ड माइक टायसनले भनेका छन्, ‘कोको! तिमीले गरेर देखायौ! अमेरिका र विश्व उत्सव मनाउँदै छ!’
उनले पहिलो ग्रान्डस्लाम जितेपछि दिएको प्रतिक्रिया साँच्चै प्रभावशाली थियो। लिखित नोटबिना उनले आफ्ना आमाबाबु, हजुरबुबा, हजुरआमा, प्रशिक्षक र भीडलाई धन्यवाद पनि दिँदै आफ्नो विश्वासको महत्त्वबारे बोलेकी थिइन्।
खेलकुदमा लैङ्गिक समानताका लागि लड्ने बिली जीन किंगलाई उनले श्रेय दिएका थिइन्।
उनी आफ्नो टेनिस क्षमताका कारण खेलकुदमा मात्र होइन, उनको आकर्षक व्यक्तित्वको कारणले पनि चर्चामा छिन्।
उनले सरल शब्दमा गुणस्तरीय भनाइ राख्ने गरेकी छिन्। युएस ओपनको उपाधि जितेपछि त उनले बोलेको आवाज झनै शक्तिशाली बनेको थियो।
उनले यसअघि अमेरिकामा हुने जातीय अन्याय र बन्दुक अपराधको बारेमा पनि कडा रूपमा आफ्ना भनाइ राखेकी थिइन्।
जसका कारण उनी आफ्नो उमेरभन्दा बढी परिपक्व भएको पनि टिप्पणी हुने गरेको छ।
अमेरिकाका पूर्व व्यवसायिक टेनिस खेलाडी तथा कोकोको प्रशिक्षण टिमका सदस्य जर्मेरे जेन्सिन्स पनि उनको सामाजिक विकृतिविरूद्ध बोल्ने तरिकाको प्रशंसा गर्छन्।
‘उनी आफ्नो उमेरभन्दा धेरै परिपक्व छिन्,’ उनले भने, ‘एक १९ वर्षीया किशोरी भएर पनि उनी कति राम्रोसँग बोल्छिन्, यो अविश्वसनीय छ।’
उनले आफ्नो किशोर अवस्था सम्झिँदै अघि भने, ‘मलाई त १९ वर्षको उमेरमा कसरी बोल्ने पनि थाहा थिएन। यस्तो परिस्थिति कसरी ह्यान्डल गर्ने बारेमा पनि जानकार थिइन्।’
गत जुलाईमा बिम्बल्डन टेनिसको पहिलो चरणबाटै बाहिँरिदा कोकोले दिएको प्रतिक्रिया पनि प्रशंसनीय थियो। पहिलो चरणमै हार ब्यहोर्दा उनी निराश देखिएकी थिइन्। हारपछि मिडियासँग कुरा गर्दा उनले उत्प्रेरक कुरा गरेकी थिइन्।
‘मलाई लाग्छ कि मैले कडा परिश्रम गरेको छु, तर स्पष्ट रूपमा यो पर्याप्त छैन। मैले ड्रोइंग बोर्डमा फर्किनुपर्छ र मैले कहाँ सुधार गर्न आवश्यक छ भनेर हेर्नुपर्छ,’ कोकोले भनेकी थिइन्।
त्यसको दुई महिनामा उनले आफ्नो प्रदर्शनमा सुधारमात्र ल्याइनन् पहिलो ग्रान्डस्लाम जितेर सारा अमेरिकीको मन जितिन्।
लन्डनबाट फर्किएपछि उनले आफ्नो मनोबल बढाउका लागि युएएस ओपनअघि जितेका दुई उपाधिलाई महत्वपूर्ण मानिएको छ। उनले वाशिङ्टन र सिनसिनाटीमा आफ्नो करिअरका दुई वटा ठूला उपाधि जितिन्। कतिपयले यी दुई उपाधि नै उनको ठूला हुने भन्दै आलोचना गरे।
यसरी आलोचना भएपछि उनले युएएस ओपनमा आफ्नो खेलले मात्र होइन खेलपछि प्रतिक्रिया दिएर मुखभरिको जवाफ फर्काइन्।
‘मानिसहरूको टिप्पणी हेर्छु। उनीहरूलाई मैले टिप्पणी हेर्दिनँजस्तो लाग्दो हो। तर म हेर्छु र पढ्छु। मलाई यो पनि थाहा छ, यहाँ को रद्दी-टोकरी जस्तै बोल्दैछ,’ उनको भनाइ थियो, ‘म चाहन्छु कि म यो युएस ओपनको ट्रफी मेरो विगतको ‘म’लाई दिन सकूँ। त्यसपछि त्यतिबेलाका ती सबै मेरा आँशु यस क्षणको लागि भइदिऊन्।’
१३ मार्च २००४ मा फ्लोरिडामा जन्मिएकी कोकोले आफ्नो जीवनको सुरूका केही वर्ष एटलान्टामा बिताएकी थिइन्। कोकोले ६ वर्षको उमेरमा टेनिस खेल्न थालेकी थिइन्।
उनी ७ वर्षकी हुँदा उनको परिवार फ्लोरिडामा फर्किएका थिए। उनले राम्रो प्रशिक्षण सुविधा पाउन सकून भनेर उनको परिवार फ्लोरिडा आएको थियो। त्यसपछि बिस्तारै टेनिसमा अघि बढ्न थालेकी कोकोले २०१८ मा फ्रेञ्च र युएस ओपनको जुनियरतर्फको उपाधि जितेकी थिइन्।
सन् २०१९ मा वुमन्स टेनिस एसोसिएसनको डब्लूटिए टुरमा मायमीमा डेब्यू गरेकी थिइन्। त्यसै वर्ष उनले बिम्बल्डनको छनोटका लागि वाइल्डकार्ड पाएकी थिइन्। सन् २०१९ को बिम्बल्डनपछि उनको करिअरको बिस्तारै गति समात्न थालेको थियो।
कोकोको पछिल्ला खेलमा सुधारिएको नतिजाको पछाडि मुख्य कारणमध्ये एक हो, उनको कोचिङ टोलीले उनलाई दिएको मार्गदर्शन।
पूर्वस्पेनिस खेलाडी पेरे रिबाले उनको कोचिङ स्टाफको नेतृत्व गर्छन्। रिबाले यसअघि चिनियाँ खेलाडी झेंग किन्वेनसँग काम गरेका थिए।
अनुभवी ब्राड गिल्बर्ट पनि प्रशिक्षण टिममा छन्। गिल्बर्टले आन्द्रे अगासीलाई छ वटा प्रमुख उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। यस्तै उनले एन्डी मरेलाई प्रशिक्षण गराएका थिए। गिल्बर्ट गत महिना सल्लाहकारको रूपमा आएका थिए।
सेरेना विलियम्सको हिटिङ पार्टनर जेनकिन्सलाई पनि यस वर्षको सुरूमा कोकोको टिममा ल्याइएको थियो।
‘एउटै टोलीमा यी सबै अनुभवहरू पाउँदा वास्तवमै उनको आत्मविश्वास बढ्यो,’ जेनकिन्सले भने, ‘यसले उनलाई सोच्न सक्षम बनायो। उनीहरू के कुरा गरिरहेका छन् र म उनीहरूलाई के भनिरहेका छु भन्नेमा हामी विश्वास गर्छौं। सबैको योजना सुन्नु अनि कार्यान्वयन गर्नु सफलताको राज हो।’
कोकोका कमजोरीको पहिचान गरिएको छ। जसका कारण विपक्षीसँग खेल्दा रणनीति बनाउन सहज भएको छ।
उनको कोचिङ टिमले अझै राम्रो खेल आउन बाँकी रहेको बताउने गरेको छ।
अमेरिकाका टेनिस स्टार विलियम्स दिदीबहिनी उनका आदर्श हुन्। उनीहरूका कारण कोकोले आफ्नो सपना पछ्याएकी थिइन्।
अहिले कोकोलाई सेरेना विलियम्ससँग तुलना गरिएको छ। उनले पन्ध्र दिनमा आफ्नो आइडलको पाइला पछ्याइन् र १९९९ विलियम्सपछि यूएस ओपनको फाइनल जित्ने पहिलो अमेरिकी किशोरी बनिन्।
सेरेना र उनकी दिदी भेनससँगै ट्रफीमा उनको नाम राखिएको थियो।
विलियम्स दिदी बहिनीको नाम ट्रफीमा राख्नुको अर्थ के हो भनेर सोध्दा कोकोले जवाफ दिइन्, ‘हो, यो पागलपन हो। इमानदारीपूर्वक भन्नुपर्दा आज मसँग यो ट्रफी हुनुको कारण उनीहरू हुन्। उनीहरूले मलाई यो सपनामा विश्वास गर्न उत्प्रेरणा दिएका छन्। तपाईंलाई थाहा छ, त्यहाँ धेरै कालो वर्णका टेनिस खेलाडीहरू मात्र खेलमा हावी थिएनन्, अरू टेनिस खेलाडी पनि थिए। जब म सानो थिएँ, त्यतिबेला मैले सम्झिने मानिसहरू विलियम्स दिदी बहिनीमात्र थिए। उनीहरूले पार गर्नुपर्ने सबै कुरा पार गरेका थिए। त्यसैले मलाई पनि अघि बढ्न सजिलो भयो।’
(द न्युयोर्क टाइम्स, बिबिसी स्पोर्ट्स, द गार्डियनलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित सामग्रीहरूमा आधारित।)