विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको हङकङविरुद्धको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ।
हङकङले घरेलु मैदानमा दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपाल ३४ ओभर ५ बलमा १११ रनमा अलआउट भयो। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रनको योगदान गरे। आरिफ शेखले २३, ज्ञानेन्द्र मल्ल २१ र बिनोद भण्डारी १८ रनमा आउट भए। सोमपाल कामीले ११ रन जोडे ।
बसन्त रेग्मी, करण केशी र सन्दीप लामिछाने शुन्य रनमा आउट हुँदा सुसन भारीले १ रन मात्रै जोड्न सके। सागर पुन र दिपेन्द्र सिंह ऐरी ३-३ रन बनाएर आउट भए। हङकङका इसान खानले ५ र अजिज खानले ३ विकेट लिए भने कार्ल क्रिस्टी र तानविर अफजलले १-१ विकेट लिए।
टस हारेर ब्याटिङ थालेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रन बनाएको थियो। सुरूवाती ब्याट्सम्यान जेमी अट्किन्सनले ७६ रनको योगदान गरे भने ३८ रन बनाएका तानविर अफजलले उनलाई साथ दिए। नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने बसन्त रेग्मी र करण केसीले २-२ तथा सुसन भारीले १ विकेट लिए। प्रतियोगितामा हङकङसँगको दोस्रो खेल आइतबार खेल्ने छ।