ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा आज नेपालले घरेलु टोलीसँग खेल्दैछ।
छनोटमा अपराजित रहेका नेपाल र ओमानबीचको यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल नेपाली समयअनुसार राति पौने नौ बजे ओमान क्रिकेट एकेडेमीमा हुनेछ।
सुपर-६ को शीर्ष टोली ओमान र दोस्रो स्थानको नेपाल दुवैको ६-६ अंक छ। आजको खेलमा जित हात पार्ने टोली सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा पुग्नेछ।
यद्यपी आज कतारले खेल जितेसँगै नेपाल र ओमानले एकअर्का बीच खेल्नुअघि नै टी-२० विश्वकपमा पुग्ने समिकरण बनेको छ।
कतारले आज जापानमाथि ३ विकेटको जित निकाल्यो। अब अहिले केहीबेरमा युएई र सामोआबीच खेल हुँदैछ। यो खेलमा युएई विजय भएमा नेपाल र ओमान अन्तिम दुई खेलअघि विश्वकपमा पुग्नेछन्।
युएईले खेल जितेको अवस्थामा एक टोलीले मात्र ६ अंक जोड्ने सम्भावना हुन्छ। जसका कारण नेपाल र ओमानले दुई खेलअघि नै विश्वकपमा स्थान बनाउनछन्। यसमा जापान र युएईको खेलले समिकरणमा भूमिका खेल्नेछ। किनभने युएई र जापानले मध्ये एक टोलीले अंक गुमाउने पक्का छ।
छनोटबाट शीर्ष तीन टोलीले विश्वकपमा स्थान बनाउनेछन्।

अन्तिम खेलअघि नै टी-२० विश्वकपमा स्थान बनाउने अभियानमा रहेका दुवै टोली उच्च लयमा छन्। सुपर-६ मा नेपालले यसअघि युएई र कतारलाई पराजित गरेको थियो। ओमानले पनि सुपर-६ मा युएई र कतारलाई नै हराएको थियो।
टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल र ओमानबीच अहिलेसम्म आठ खेल भएका छन्। जसमा नेपाल ५ खेलमा विजयी हुँदा ओमनले २ खेलमा जित निकालेको छ। एक खेल भने टाइ भएको छ। टाइ भएको उक्त खेल सुपर ओभरमा भने ओमानले जितेको थियो।
पछिल्लो पटक नेपाल र ओमानबीच सन् २०२४ को अक्टोबरमा प्रतिस्पर्धा भएको थियो। क्यानडामा भएको ट्राइ सिरिजको दुवै खेलमा नेपाल विजयी भएको थियो।
दुवै टोली पछिल्लो समय भने फर्ममा छन्। ओमान आफ्ना पछिल्ला पाँचै खेलमा विजयी हुँदा नेपालले पाँचमध्ये चार खेलमा जित हात पारेको छ। नेपाल लगातार चार खेलमा विजयी छ।
छनोटमा नेपालका लागि सन्दीप लामिछानेले ४ खेलमा १० विकेट लिइसकेका छन्। अरु बलर लगातार चल्न सकेका छैनन्। दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले ४ खेलमा ४ विकेट लिएका छन्।
ओमानका लागि जितेन रमानन्डीले ७ विकेट लिएका छन् भने नदीम खान, शकील अहमद र शाह फैसलले ५-५ विकेट लिएका छन्।
ब्याटिङमा नेपालका लागि कुशल भुर्तेलले ४ खेलमा १२१ रन बनाएका छन् भने रोहित पौडेलले ११२ रन जोडेका छन्। आसिफ शेखले पनि १०२ रन बनाइसकेका छन्। ओमानका लागि जतिन्दर सिंहले ११८ रन बनाएका छन्। अरु ब्याटरले चार खेलमा सय रन बनाएका छैनन्।