आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले अमेरिकामा खेलेको त्रिकोणात्मक सिरिजमा ३ अंक मात्र जोड्न सक्यो।
घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच भएको सिरिजमा नेपालले एक खेलमा मात्र जित निकाल्यो। घरेलु टोली अमेरिकासँग दुवै खेल गुमाएको नेपालले स्कटल्यान्डसँग भएको पहिलो खेलमा जित निकालेको थियो।
टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा नेपाल र स्कटल्यान्डबीचको अन्तिम खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले अंक बाडेँ।
यसअघि अघिल्लो महिना क्यानडामा खेलेको सिरिजमा त नेपाल जितबिहीन भएको थियो। क्यानडा, ओमान र नेपालबीचको सिरिजमा नेपालले सुरुवाती तीन खेल गुमाएको थियो। नेपाल र ओमानबीचको अन्तिम खेल वर्षाले रद्द हुँदा नेपालले सिरिजमा अंकबिहीन हुनबाट भने जोगिएको थियो।
घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग खेलेको पहिलो सिरिजमा पनि नेपालले तीन खेल गुमाउँदा एक खेलमा मात्र जित निकाल्न सकेको थियो।
लिग-२ मा नेपालले सुरूवाती तीन सिरिज खेल्दा अहिलेसम्म दुई खेलमा मात्र जित निकालेको छ। दुई खेल रद्द हुँदा नेपाल आठ खेलमा पराजित भइसकेको छ।
अंक तालिकामा नेपाल ६ अंक जोडेर सातौ स्थानमा छ। नेपालभन्दा एक स्थान तल रहेको युएईको ९ खेलबाट ४ अंक छ। अंक तालिकमा शीर्ष स्थानको अमेरिका र दोस्रो स्थानको क्यानडाले १२-१२ खेल खेल्दा समान १६-१६ अंक जोडेका छन्। स्कटल्यान्ड ११ खेलबा १४ अंक जोडेर तेस्रो, नेदरल्यान्ड्स १० खेलबाट १२ अंक जोडेर चौथो, नामिबिया १२ खेलबाट १० अंक जोडेर पाँचौ र ओमन १० खेलबाट १० अंक जोडेर छैटौं स्थानमा छन्।
नेपालले यो वर्ष अब कुनै सिरिज खेल्ने तालिका छैन। अब मे २०२५ मा नेपालले स्कटल्यान्डमा चौथो सिरिज खेल्नेछ। सो सिरिजमा न्पालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
विश्वकप लिग-२ अन्तर्गत २०२४ देखि २०२६ सम्म अस्थायी एकदिवसीय मान्यता प्राप्त आठ एसोसिएट टिमबीच २४ वटा त्रिकोणात्मक एकदिवसीय सिरिज हुँदैछन्।
यी सिरिजको प्रतियोगितालाई आइसिसीले आइसिसी विश्वकप लिग-२ को नाम दिएको छ। लिग-२ आइसिसी एकदिवसीय विश्वकप २०२४ को छनोटको आधार समेत हो।
तीन वर्षमा आठ टिमले नौं-नौ वटा सिरिज खेल्नेछन्। प्रत्येक सिरिजमा एक टिमले ४ खेल खेल्नेछ। लिग-२ मा प्रत्येक टिमले ३६ एकदिवसीय खेल खेल्नेछन्।
आइसिसीको तालिका अनुसार एक टिमले एक वर्षमा तीन सिरिज खेल्नेछ। प्रत्येक टिमका लागि एक वर्षमा एक सिरिज होम हुनेछ भने दुई सिरिज अवे हुनेछन्।
तीन वर्षमा नौ सिरिज मध्ये तीन सिरिज घरेलु मैदानम खेल्दा छ सिरिजका लागि दोस्रो देशको भ्रमण गर्नु पर्नेछ।
यो वर्ष नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग खेलेपछि अमेरिका र क्यानडा भ्रमण गर्न गर्यो।
अब नेपालले २०२५ र २०२६ मा पनि तीन तीन सिरिज खेल्ने तालिका छ।
आठ टिमले कुल १४४ एकदिवसीय खेल खेलेपछि शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन्।
बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्लेअफबाट शीर्ष चारमा पर्ने टोलीले पनि एकदिवसीय मान्यत पाउनेछन्।