नेपाल प्रिमियर लिगको टोली सुदूरपश्चिम रोयल्सले प्रकाश खड्कालाई सिइओ नियुक्त गरेको छ । सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाह र खड्काबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
खड्का लामो समयदेखि क्रिकेट व्यवस्थापनमा सक्रिय रहनु भएको छ । उहाँले घरेलु क्रिकेटको धनगढी प्रिमियर लिगमा १० वर्ष निर्देशकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँको नेतृत्व र अनुभवले सुदूरपश्चिम रोयल्सलाई नयाँ उचाईमा पुर्याउने विश्वास लिएको रोयल्सले जनाएको छ । सुदूरपश्चिम रोयल्स मंसिरमा आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को सहभागी टोली हो ।
सुदूरपश्चिमको पहिचान बोकेर एनपिएलमा सुदूरपश्चिम टोलीको साथ दिन पाउँदा खुसी लागेको सिइओ खड्काले बताउनुभयो । ‘सुदूरपश्चिम क्षेत्र क्रिकेटको उर्वर भूमि हो । हाम्रो क्षेत्रको प्रतिनिधित्व गरेको टोलीको हिस्सा बन्न पाउँदा गर्व महसुस भएको छ । अब मैदानभित्र टोलीलाई थप बलियो बनाउन हाम्रो प्रयास हुनेछ । मार्कीमा हाम्रै क्षेत्रका दीपेन्द्रसिंह ऐरी र प्रशिक्षक जगत टमाटा हुँदा थप बल पुगेको छ,’ उहाँले भन्नुभयो ।
मालिक शाहले सम्झौता पछि भन्नुभयो, ‘प्रकाश खड्का जीसँग धनगढी प्रिमियर लिग (डिपिएल) व्यवस्थापनको अनुभव छ । उहाँको आगमनले हाम्रो टोलीको व्यवस्थापन थप चुस्त हुने विश्वास छ।’
टोलीले बिहीवार ओलम्पियन दीपक विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षक जगत टमाटा हुनुहुन्छ ।