भारतले बंगलादेशविरूद्धको दोस्रो टेस्टमा ७ विकेटको जित निकालेको छ। यससँगै भारतले २ खेलको टेस्ट २-० ले क्लिनस्विप गरेको छ।
भारतको कानपुरमा भएको दोस्रो टेस्ट वर्षाले प्रभावित बने पनि भारतले पाँचौं दिनको खेल नसकिदै बंगलादेशलाई हराएको हो।
पहिलो इनिङग्समा बंगलादेशले २३३ रन जोडेको थियो। वर्षाका कारण पहिलो दिन बंगलादेशले १०७ रन जोड्दा दिनको खेल सकिएको थियो। तर दोस्रो र तेस्रो दिन खेल हुन सकेन।
चौथो दिन बंगलादेशलाई २३३ रनमा अलआउट गरेपछि भारतीय ब्याटरले तीव्र गतिमा ब्याटिङ गरेका थिए। जसमा यसश्वी जैसवालले ५१ बलमा ७२ रन, विराट कोहलीले ३५ बलमा ४७ रन र केएल राहुलले ४३ बलमा ६८ रन बनाएका थिए। जसका कारण भारतले पहिलो इनिङ्ग्समा ९ विकेटको क्षतिमा २८५ रन बनाएर इनिङ्ग समाप्तीको घोषणा गरेको थियो।
जवाफी ब्याटिङ गरेको बंगलादेश पाँचौं दिन १४६ रनमै अलआउट भयो। जसका कारण भारतले ९५ रनको लक्ष्य पायो। दोस्रो इनिङग्समा बंगलादेशका लागि शादमन इस्लामले ५० रन बनाउँदा बलिङमा भारतका जसप्रित बुहराह, रविचन्द्रन आस्विन र रविन्द्र जडेजाले ३-३ विकेट लिए।
९५ रनको लक्ष्य भारतले पाँचौं दिनको खेल नसकिदै ३ विकेट गुमाएर पार गर्यो। भारतका लागि यसश्वी जैसवालले ५१ रन र विराट कोहलीले नटआउट २९ रन बनाए।