आइसिसी विश्वकप लिग-२ मा नेपालको खराब प्रदर्शन जारी छ। क्यानडामा भइरहेको त्रिकोणात्मक सिरिजको सुरूवाती तीन खेलमा नेपाल पराजित भइसकेको छ।
नेपालले पहिलो खेलमा घरेलु टोली क्यानडाविरूद्ध १०३ रनको हार ब्यहोरेको थियो। यस्तै ओमानसँग नेपालले १ विकेटको पराजय भोग्यो। सोमबार विहान सकिएको क्यानडाविरूद्धको दोस्रो खेलमा पनि नेपाल ५ विकेटले पराजित भयो।
क्यानडामा भइरहेको सिरिजमा लगातार तेस्रो हार ब्यहोरेसँगै नेपालले आइसिसी विश्वकप लिग-२ को यो संस्करणमा लगातार पाँच खेलमा पराजय भोगिसकेको छ।
यसअघि घरेलु मैदानमा नेपालले नेदरल्यान्ड्स र नामिबियाविरूद्धको अन्तिम दुई खेलमा पनि पराजय भोगेको थियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नामिबियासँग २ विकेट र नेदरल्यान्ड्ससँग ८ विकेटको हार ब्यहोरेको थियो।
लिग-२ मा आफूले खेलेका ७ मध्ये एक खेलमा मात्र जित निकालेको नेपालले घरेलु मैदानमा भएको सिरिजमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। यो नै नेपालले यो संस्करणमा हात पारेको एक मात्र जित हो।
जारी लिग-२ मा नेपालसँगै नामिबिया पनि पछिल्ला पाँच खेलमा पराजित भएको छ।
नामिबियाले पछिल्लोपटक स्कटल्यान्डसँग २ खेल गुमाउँदा ओमानसँग पनि एक खेलमा हार ब्यहोरेको थियो।
अहिले युएई र अमेरिकासँग सिरिज खेलिरहेको नामिबिया सुरुवाती तीन खेलमा पराजय भएको छ।
लिग-२ को अंक तालिकामा क्यानडा शीर्ष स्थानमा छ। उसले ११ खेलबाट १४ अंक जोडेको छ।
दोस्रो स्थानको नेदरल्यान्ड्सको ८ खेलबाट १२ अंक छ। उसले पछिल्ला पाँच खेलमा लगातार जित निकालेको छ।
७ खेलबाट १० अंक जोड्दै अमेरिका तेस्रो स्थानमा छ। चौथो स्थानको स्कटल्यान्डको ७ खेलबाट ९ अंक, पाँचौ स्थानको नामिबियाको ११ खेलबाट ८ अंक र छैटौं स्थानको ओमानको ६ खेलबाट ५ अंक छ।
सातौं स्थानको नेपालको ७ खेलबाट २ अंक र पुछारको युएईको ५ खेलबाट २ अंक छ।