भारत र बंगलादेशबीचको दुई टेस्टको सिरिज बिहीबारबाट सुरू भएको छ। चेन्नईमा सुरू भएको पहिलो खेलमा भारतका रविचन्द्रन आस्विनले शतक प्रहार गरेका छन्।
६ विकेट गइसकेको स्थितिमा ब्याटिङमा आएका आस्विनले शतक प्रहार गरेसँगै भारत पहिलो दिनमा बलियो स्थितिमा छ।
उनले १०८ बल खेलेर १० चौका र २ छक्काको मद्दतमा शतक पूरा गरे। छैटौं टेस्ट शतक प्रहार गरेका आस्विनले पहिलो दिनको खेल सकिदा १०२ रन बनाएर खेलिरहेका छन्। यस्तै रवीन्द्र जडेजा ८६ रनमा नटआउट रहदा भारतले पहिलो दिन ६ विकेटको क्षतिमा ३३९ रन जोडेको छ।
त्यसअघि भारतले खराब ब्याटिङ गरेको थियो।
भारतविरूद्ध बंगलादेशका तीव्र गतिका बलर हसन मोहमद एक्लैले सुरुवाती चार विकेट लिए। उनले भारतीय कप्तान रोहित शर्मालाई ६ रन, शुभमन गिललाई शून्य र विराट कोलहीलाई पनि ६ रनमा आउट गरे। रोहितलाई हुसेन सान्तोबाट क्याच गराउँदा गिल र कोहली विकेटकिपर लिट्टन दासबाट क्याच भए। यी तीनै विकेट उनले सुरूवाती दश ओभरभित्रै लिएका थिए।
यस्तै उनले चौथो विकेटको रूपमा रिशव पन्तलाई ३९ रनमा आउट गरे। पन्तको क्याच पनि विकेटकिपर दासले लिएका थिए। यस्तै भारतका ओपनर यसश्वी जैशवाल ५६ रन र केएल राहुल १६ रन बनाएर आउट भएका थिए।
खेलमा भारतका प्रशिक्षक गौतम गाम्भिरले तीव्र गतिका युवा बलर आकास दीपलाई पनि स्थान दिएका छन्। प्रशिक्षकको रुपमा गाम्भिरको यो पहिलो टेस्ट हो।
आकास दिपले भारतीय टोलीबाट दोस्रो टेस्ट खेल्न लागेका हुन्। २७ वर्षीय आकास गत फेब्रुअरीमा राँचीमा भएको इंग्ल्यान्डविरुद्धको टेस्टमा डेब्यू गरेका थिए। सो खेलमा उनले ३ विकेट लिएका थिए। यद्यपी उनले भारतका लागि एकदिवसीय र टी-२० खेल भने खेलेका छैनन्।
उनले आइपिएल क्रिकेट भने बेंगलुरुबाट खेलेका थिए। बिहारमा जन्मिएका आकास बेंग्लोरमा हुर्किएका थिए। जहाँ उनले घरेलु क्रिकेट खेलेका थिए। २४ वर्षको उमेरमा आइपिएलमा डेब्यू गर्दा उनले २६ वर्षको उमेरमा टेस्टमा डेब्यू गरेका थिए।