नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले क्रिकेटमा नलागेको भए आफू पनि पढ्न अस्ट्रेलिया आउने योजना बनाएको बताएका छन्।
हाल व्यावसायिक क्रिकेट खेल्न अस्ट्रेलियामा पुगेका कुशलले एनआरएनए (एनएसडब्लु) राज्य समितिद्वारा आयोजित सम्मान कार्यक्रममा उक्त कुरा बताएका हुन्।
शनिबार सिड्नीमा एनआरएनए एनएसडब्लु राज्य समिति र असल्याण्डले संयुक्त आयोजना गरेको कार्यक्रममा क्रिकेटर भुर्तेललाई नगदसहित सम्मान समेत गरिएको छ।
कार्यक्रममा भुर्तेललाई खेलाडी पलायनको विषयमा प्रश्न सोधिएको थियो।
‘अब भने क्रिकेटमा खेलेर जीवनयापन गर्न सक्ने दिन आइसकेको छ,' उनले भने, 'हिजोको दिनमा मेरो पनि अस्ट्रेलिया आउने सोच थियो। तर जीवनमा क्रिकेटले फरक मोडमा ल्याइदिएको छ।’
भुर्तेललाई सिड्नीमा स्वागत गर्दै एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले देशलाई विश्वमाझ चिनाउने खेलाडीलाई सम्मान र स्वागत गर्न पाउनु गर्वको कुरा रहेको बताए।
'आफ्नो खेल कौशलको माध्यमबाट नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान दिएका भुर्तेललाई सम्मान गर्न पाउनु गर्वको कुरा हो,' उनले भने, 'कुनै पनि खेलाडीलाई हामीले गर्ने यस्ता सहयोगले देशको लागि खेल्न अझै ऊर्जा मिल्ने आशा गरेको छु।'
यसअघि अभिनास बोहोरालाई पनि सम्मान गरिसकेको एनआरएनए एनएलडब्लुले खेलाडीलाई पनि सहयोग होस् भनेर सम्मान गर्ने गरेको बताए।
रूपन्देहीमा निजी लगानीबाट एक्ट्राट्रेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेका कुँवरले आगामी फागुनभित्र आफ्नो मैदानमा खेल खेल्न मिल्ने जानकारी समेत गराएका छन्।
आफू नेपाल र नेपाली क्रिकेटसँग अत्यन्त नजिक रहेको भन्दै विश्वकपमा नेपाली खेलाडीको हौसलाका लागि अमेरिका समेत जाने कुँवरले बताए।
'खेलाडीले गरेको मेहनत र कामलाई सधैं साथ र सपोर्ट गर्नेछु,' उनले भने, 'आर्थिक अभावमा अब कुनै पनि नेपाली खेलाडी विदेशिनु नपरोस् भनेर म लागिपरहेको छु।'
यस्तै, कार्यक्रममा एनआरएनए ओसेनिया क्षेत्रका संयोजक दिनेश पोखरेलले नेपाली क्रिकेटको सफलतामा समस्त नेपालीहरू खुसी भएको भन्दै खेलाडीको वृत्ति विकासका लागि आफूहरूले सकेको सहयोग गर्ने बताए।
नेपाली क्रिकेटलाई विश्वकपसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाउने कुशल भुर्तेललाई स्वागत गर्दै उनले नेपाली क्रिकेट टिमको पछिल्लो सफलतामा समस्त प्रवासी नेपाली हर्षित रहेको बताए।
यस्तै, रूपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाका अध्यक्ष दिवाकर काफ्लेले आफ्ना जिल्लाबासी क्रिकेटर भुर्तेललाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा आफूहरू सधैं तयार रहेको समेत बताए।
कार्यक्रममा चलचित्र निर्माता अर्जुन कुमार, ग्रानभिल नेपाली समाजका सचिव प्रकाश भट्टराई, तास्मानिया नेपाली समाजका तोया भट्टराई लगायतले नेपाली क्रिकेटको विषयमा जिज्ञासा राखेका थिए।
रूपन्देहीकै स्थानीय भुर्तेलले आफ्नै ठाउँमा अन्तर्राष्ट्रिय स्तरको मैदान बन्न लागेकोमा खुसी व्यक्त गर्दै पहिलो सेन्चुरी आफैंले हान्ने समेत दाबी गरे।
'मलाई विश्वास छ कि एक्ट्राटेकमा हाम्रो गेम भयो भने पहिलो सेन्चुरीमै हान्ने छु,' उनले भने, 'चाँडोभन्दा चाँडो मैदान पूरा भएर खेल्न पाऊँ।'
पछिल्लो समय नेपाली क्रिकेटको सफलताबाट प्रेरित भएर अभिभावकहरू पनि आफ्ना बालबच्चालाई क्रिकेट खेल्न प्रेरित गरिरहेको भन्दै नेपाली क्रिकेटको भविष्य उज्वल रहेको उनले बताए। जसले गर्दा पछाडि फर्केर हेर्नुपर्ने अवस्था नरहेको उनले बताए।
नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेल अहिले अस्ट्रेलियामा छन्।
अस्ट्रेलियाको भिक्टोरिया राज्यको फ्रान्कस्टोन पेनिन्सुला क्रिकेट क्लबमा आबद्ध भएर क्रिकेट खेल्न भुर्तेल अस्ट्रेलिया आएका हुन्।
करिब २ महिना अस्ट्रेलिया बसाइँमा उनले अनुभव बटुल्नुका साथै क्लबबाट खेल्दा आफ्नो खेल कौशल अझ बलियो हुने आशा राखेका छन्।
उनले जनवरी अन्त्यसम्म क्लबबाट खेल्ने छन्। त्यसपछि उनी राष्ट्रिय टिमबाट खेल्नका लागि नेपाल फर्कने छन्।
फ्रान्कस्टोन अस्ट्रेलियाको भिक्टोरिया राज्यको शीर्ष क्लबमध्ये एक हो। क्लबले भिक्टोरियाको शीर्ष प्रतियोगिता खेलिरहेको छ। यही क्लबबाट अस्ट्रेलियाका टेस्ट क्रिकेटर स्कट बोलान्डको 'होम क्लब' हो।
क्लबमा रहँदा कुशलले एकदिवसीय र टी-२० खेलमा सहभागिता जनाउने छन्। क्लबले भिक्टोरिया प्रिमियर क्रिकेटअन्तर्गतका विभिन्न राज्यस्तरीय प्रतियोगिता खेलिरहेको छ।