सन्दीप लामिछानेको क्रिकेट यात्रा तीन वर्षअघि चितवनको हाम्रो एकेडेमीबाट सुरु भएको हो। उनी भारतको हरियाणातिर बसेर आएका हुन्। त्यहाँ केही क्लबबाट खेल्थे। नेपाल आएपछि क्रिकेटबारे सोधखोज गरे। एकेडेमीबारे थाहा पाएछन्। मसँग भेट्न आए। त्यो भेटलगत्तै एकेडेमीमा आबद्ध भएर प्रशिक्षण लिन थालेका हुन्।
उनले लेग-स्पिन बलिङ गर्थे। बल फाल्दा उनको बलिङको टर्न, एक्सन एकदमै राम्रो थियो। केही त्रुटि पनि थिए। ती त्रुटि एकेडेमीमा अभ्यास क्रममा सुध्रिँदै गए। उनी आफैं पनि कसरी खेल्दा राम्रो हुन्छ, कुन कुरामा ध्यान दिनुपर्छ भनेर सोधिरहन्थे। उनको यही जिज्ञासु र सिक्ने स्वभावले यहाँसम्म पुगेका हुन्।
सन्दीप क्रिकेटमा एकदमै क्रेजी थिए। क्रिकेटप्रति उनको लगाव यति थियो, सिक्नै भनेर एकेडेमीसम्म दैनिक करिब २५ किलोमिटर टाढाबाट आउँथे। बसमा आउँथे र बसमै फर्किन्थे। उनले यो अवस्थासम्म आइपुग्न धेरै मिहिनेत र समय खर्च गर्नुपर्यो। उनको परिवारले पनि सहयोग गरे।
डेढ वर्षअघि पुबुद दासानाइके चितवन आउँदा मैले उनलाई एकेडेमीमा बोलाएको थिएँ। त्यतिबेलै दासानाइकेले सन्दीपको खेल हेरे। सन्दीपलाई देखेर उनले भनेका थिए— यो केटामा प्रतिभा छ, उसलाई अझ निखार। राष्ट्रिय टोलीमा पर्ने सम्भावना छ।
फर्किएपछि पनि हामीबीच सन्दीपका बारे कुरा भइरहन्थ्यो।
दासानाइके सन्दीपको खेल मैदानमै आएर हेर्थे। क्षेत्रीय खेल पनि हेर्थे। मैले उनलाई ‘ग्रुम’ गर्नुपर्छ भन्दा दासानाइकेले हुन्छ भनेका थिए। त्यसपछि नै सन्दीपको राष्ट्रिय–अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु भएको हो।
मैदानमा देखिएको उनको प्रतिभा हामीले उकास्ने काम गर्यौं।
यो सफलता अन्तिम होइन, सुरुआत हो। सन्दीपले पनि यही सोचेर अगाडि बढ्नुपर्छ। भविष्यमा अन्य लिगबाट पनि अवसर आउलान्। यसका निम्ति उनले आफूलाई ‘फिट’ राख्नुपर्छ। खेल सुधार्न पनि धेरै मिहिनेत गर्नुपर्छ, र उनी यसका निम्ति तयार छन् भन्ने मेरो विश्वास छ।
सन्दीप अनुशासित मान्छे हुन्। आफ्नो लक्ष्य पाउन निकै मिहिनेत गर्थे। राष्ट्रिय टोलीमा पर्नुछ भनेर अभ्यासमा लागिरहन्थे। आफ्ना प्रशिक्षकले भनेका कुरा ध्यान दिएर सुन्थे, व्यवहारमा उतार्थे।
राम्रो खेल्न नसक्दा ‘मैले बलिङ राम्रो गर्न सकिनँ। यो कुरामा ध्यान दिइनँ, त्यो कुरा विचार पुर्याइनँ’ भन्थे। उनलाई प्लेटफर्म जरुरी थियो, त्यो हामीले दियौं। उनको परिवारले धेरै सहयोग गरे।
सन्दीपको मिहिनेतले नेपाललाई अवसर दिलाएको भन्नुपर्छ। ‘नन–टेष्ट कन्ट्री’ले, त्यसमा पनि नेपालले यस्तो अवसर पाउनुे ठूलो कुरा हो। त्यो पनि नेपालमा क्रिकेट एसोसियसन ‘क्यान’ पनि नभएको अवस्थामा। केही समययतादेखि नेपालका राष्ट्रिय खेल पनि हुन सकेको छैन। खेलाडि टुहुरो भएका छन्। यस्तो बेला यो अवसर नेपालका लागि ऐतिहासिक क्षण भएको छ।
सन्दीपको प्रतिभा र मिहिनेतले उनलाई अस्ट्रेलियासम्म पुर्यायो। त्यहाँ खेल खेल्ने र सिक्ने मौका पाए। आत्मविश्वासी बनेर आए। अब आइपिएल खेलेपछि झन् आत्मविश्वासी बन्नेछन्। थुप्रै अवसर आउन सक्छन्। यी सबैलाई उनले सन्तुलन राख्न सक्नुपर्छ।
(कुराकानीमा आधारित)यो पनि हेर्नुहोस्https://www.youtube.com/watch?v=a98nqmBZUtg